२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।

    अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा यी दुई खेलाडीले १२ रन मात्र जोडे । अन्तिम ओभरको सुरुवाती चार बलमा चार रन मात्र जोडेको दिल्लीका लागि अन्तिम दुई बलमा खेल जित्न १० रन चाहिएको थियो । ऋषभले लगातार दुई चौका प्रहार गरे पनि पर्याप्त भएन ।

    ४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौका मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।

    बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केल जेमिसनले समान १ विकेट लिए । त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

    एबी डे भिलियर्सले कागिसो रबाडाले बलिङ गरेको अन्तिम ओभरमा ३ छक्कासहित २२ रन जोडेपछि बैंगलोरले राम्रो स्कोर बनाएको अनलाइन खबरले समाचार लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस