२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
पूर्वाधारमा झेल:

पुल ढालनमा माटोसहतिको गिट्टी र बालुवा ! (भिडियाे सहित)

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं. ४ र चिशंखुगढी वडा नं. ८ जोड्ने मोटरेवल पक्की पुलमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । बैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको छ ।

    ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म काम नै नथालेर पटक पटक ताकेता गरेपछि बल्ल शुरु भएको जग निर्माणमै गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएको हो । बालुवामा बराबरी माटो र गिटी समेत नपखाली मोटैसहित घोलेर ढलान भइरहेको स्थानीय युवा कृष्ण भूजेलले बताए । निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरवाही गरेको स्थानीयको भनाइ छ ।


    २०७६ बैशाख ५ गते खम्पाचे शेर्पा निर्माण सेवाले ठेक्का सम्झौता गरेको उक्त पुलको निर्माण सम्पन्न गर्ने म्याद सकिएको छ । २०७८ बैशाख ४ गते सम्पन्न गर्नु पर्ने उक्त पुलको काम करिब ३० प्रतिशत मात्रै पुरा भएको छ । यही खोलामा उक्त कम्पनीले जिम्मा लिएका अन्य दुई मोटरेवल पुल समेत अलपत्र छन् ।

    ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि जिल्ला प्रशासन कार्यालयले २०७७ माघमा रुग्ण आयोजनाका रुपमा सुचिकृत गरेर काम सक्न लिखित चेतावनी नै दिएको थियो । स्थानीय र प्रशासनको दवावले बल्ल काम थालेको ठेकेदारले पुलको जग निर्माण मै गुणस्तरहिन सामग्री प्रयोग गरेको स्थानीयको गुनासो छ ।

    निर्माणस्थलमा निर्माण कम्पनीका प्रतिनिधी खटाइएको भनिए पनि भेटिएनन् । धमाधम काम भइरहेको र गुणस्तरहिन काम गरेको विषयमा काममा खटिएका व्यक्तिले अह्राए अनुसारको काम गरेको प्रतिक्रिया दिए ।

    निर्माण सामग्री गिटी बालुवामा माटो मिसाइएको, गिटीका साइज निकै ठूलो र सानो देखिएको विषयमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख अरुणकुमार लाल कर्णले निर्माणमा गुणस्तर कायम गर्न प्राविधिक नै खटाएको बताए । उनले भने, ‘प्राविधिक नै खटाइएको छ, केही गुनासो आएकाले त्यसबारे सोधिसकेको छु ।’ उनले बालुवामा माटो मिसिएको कुरा उठेको छ चालेर गिट्टी पखालेर मात्रै प्रयोग गर्न निर्देशन दिइएको दावी गरे ।

    हेर्नुहाेस् भिडियाे

    प्रतिक्रिया दिनुहोस