२०७८ आश्विन १०, आईतबार | Sun, 26, Sep, 2021
इतिहास

पञ्चायतकालका अन्तिम मूखिया

  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षिय कमलसिंले बनाएको उस्तै आकृतिका घरहरु गाउँभरि छन् । तर मानेभन्ज्याङ गाउँपालिका ५, उदैपुरका कमलसिंलाई प्रायले गाउँमा अझै मुखियाको रुपमा चिन्छन् ।

    उनी साविक मानेभन्ज्याङ गाविस क्षेत्रका अन्तिम मुखिया हुन् । तत्कालीन शासकहरुको शासन व्यवस्थामा मुखिया गाउँका प्रशासककै रुपमा कहलिन्थे । जग्गा जमिनको तिरो (राजश्व) संकलन गर्नेदेखि झैझगडा र न्याय सम्पादन सम्मका जिम्मा मूखियाले गर्थे ।

    कमलसिंले पञ्चायतको उत्तराद्र्धमा दुईवर्ष मूखियाको काम गरे । २०४४ सालमा जग्गा जमिन नापी भयो । सोही नापीको आधारमा उनले २०४६ साल सम्म तिरो संकलन गरे । त्यसपछि बहुदल आयो । पञ्चायती शासन सँधैको लागि समाप्त भयो । मूखिया, जिम्वाल, गौरङ, थरी, कार्बारीले काम गर्ने चलन अन्त्य भयो ।

    त्यसो त कमलसिं रहरले वा क्षमताले मूखिया भएका चाहीँ होइनन् । सयौं वर्ष पहिले उनका जिजुहरु यस भेगका राजा (शासक) थिए । १८ औं शताब्दीमा उनका जिजु घमण्ड राईले शासनकालमा पृथ्वीनारायण शाहसँग विभिन्न शर्त सहित मूखिया पदमा रहने सम्झौता गरेर आफ्नो राज्य एकीकरणमा गाभे ।

    त्यसपछि मुखियाका जेठा छोरा मूखिया रहने परम्परा कायम हुँदै आयो । उनका हजुरबुवा पञ्चध्वज राई मूखियाको रुपमा चर्चित थिए । त्यसपछि बुवा नरमान राई मुखिया भए । नरमानका जेठा छोरा शरणजीत मूखिया हुनुपर्ने थियो । तर शरणजीत बुवा हुँदै छुट्टीएर बसे । अनि माइला कमलसिंलाई २७ वर्षको उमेरमै मूखियाको जिम्मेवारी आइलाग्यो ।

    राणा शासनकाल पछि मूखियाको अधिकारक्षेत्र साँघुरिदै गएको थियो । पृथ्वीनारायण शाहसँग घमण्ड राईले दक्षिणमा उदयपुरको जहडी रिस्कु, उत्तर पूर्वमा सोलुखुम्बुको काँकु मुक्ली, देउसा, पंचन, पूर्वमा रोम्दु खोला र पश्चिममा मोलुङ खोला सम्म रैतीबाट सिक्सार (अनिवार्य कोसेली) उठाउन पाउने सम्झौता गरेका थिए ।

    तत्कालीन अवस्थामा मूखियाले प्रयोग गर्ने पित्तलको छाप । पञ्चध्वज राई र कमलसिंको पालको छाप ।

    सिक्सारमा मधेशको धानचामल देखि, हिमालको चौंरी घ्यू, तामाखानीको काँचो तामा सम्म उठाउन पाउने सम्झौता थियो । कतिपय तत्कालीन लिखतहरु अझै मूखियाको घरमा छन् । तत्कालीन लिपीलाई अध्ययन गर्न सके अझै प्रमाणित गर्न सकिने कमलसिंले बताए । उनको पाला सम्म आईपुग्दा त्यो चलनको अवशेष मात्र थियो ।

    गाउँ आसपासका व्यक्तिले दशैंमा कोसेली लिएर टिका थाप्न आउँथे । उनीहरुको जग्गा तत्कालीन नेपाली सेनाले लिएका थिए । त्यसैले सेनाले दशैंमा मार हानेर पूजा गर्दा अनिवार्य राँगाको फिला ल्याईदिने चलन कमलसिंका बुवा नरमानको पाला सम्म थियो ।

    पृथ्वीनारायण शाहसँग घमण्ड राईले दक्षिणमा उदयपुरको जहडी रिस्कु, उत्तर पूर्वमा सोलुखुम्बुको काँकु मुक्ली, देउसा, पंचन, पूर्वमा रोम्दु खोला र पश्चिममा मोलुङ खोला सम्म रैतीबाट सिक्सार (अनिवार्य कोसेली) उठाउन पाउने सम्झौता गरेका थिए ।

    कमलसिंले जग्गाको तिरो संकलन गरि प्रत्येक वर्षको जेठदेखि असारको पहिलो साता सम्म जिल्ला मालपोत कार्यालयमा एकमूष्ट रुपमा बुझाउँथे । शुरुमा यसरी संकलित तिरो बुझाउँदा मालपोतले बाटो खर्च भनेर १० रुपैंया सम्म दिने गथ्र्यो ।

    २०४५ सालमा भने स्थानीय विकास शुल्क भनि एक कित्ता जग्गा बराबर दुई रुपैंया उठाउने अनुमति मूखियालाई थियो । त्यो रकम मूखियाले आफ्नो तलब सरह मानेर खर्च गर्न पाउँथे । उनले सबैभन्दा बढी दुई हजार रुपैंया सम्म स्थानीय विकास शुल्क संकलन गरेका थिए । त्यतिखेर काट्ने रसिदमा पित्तलको छाप लगाइन्थ्यो । औंठी जस्तै छापमा मूखियाको नाम लेखिएको हुन्थ्यो ।

    बहुदलसँगै व्यवस्था फेरियो । उनी पनि व्यवस्थासँगै फेरिए । लेखपढ खासै नभएकोले डकर्मी काम थाले । त्यसैले जिविका गर्दै आएका छन् । बाउबाजे त्यतिखेरका हर्ताकर्ता भएपनि उनले त्यो रवाफ कहिल्यै देखाएनन् । ‘गाउँमा जाँदा मूखिया आए है भनेर मानमनितो गर्ने चलन थियो ।’ उनी विगत सम्झिँदै भन्छन्, ‘त्यो समय अनुसारको व्यवस्था थियो ।’

    उनलाई गणतन्त्र के हो भन्ने बारेमा त्यत्ति ज्ञान छैन । गाउँका काम गर्नुपरे वडाअध्यक्ष र गाउँपालिका अध्यक्ष कहाँ पुग्नुपर्छ भन्ने सम्म थाहा छ । नेपालको इतिहासमा सयौं वर्ष प्रथाको रुपमा रहेको मूखिया जिम्वाल परम्पराको प्रतिनिधिपात्र मात्र हुन् कमलसिं । तीन दशक अघि सम्म मूखिया काम गरेका उनी उनी जस्ता सयौं मूखियाहरु गाउँघरमा छन् ।

    उनीहरुसँग ऐतिहासिक दस्तावेज, लिखत, तमसुकहरु छन् । जसको बारेमा उचित अध्ययन हुन सकेको छैन । त्यसले नेपालको सामाजिक, आर्थिक, भौतिक अवस्था देखाउन सक्छ । उनीहरुलाई विगतको शोषक र सामन्तको रुपमा मात्र नहेरेर अध्ययनको पाटो बनाउनुपर्ने स्थानीय शिक्षक दिपक राईले बताए ।

    प्रतिक्रिया दिनुहोस