२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
इतिहास

ऐतिहाँसिक विगु-टक्सारको तथ्य खाेजिदै

  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ७ मा पर्ने टक अर्थात पैसा काट्ने ठाउँको रुपमा चर्चित विगु टक्सार हालसम्म ओझेलमा परेको थियो । विगु टक्सारमा टक काटिएको हालसम्म कुनै प्रमाण थिएन । हाल स्थानीय अग्रसर भई प्रमाणको खोजीकार्य शुरु गरेका छन् ।

    दुई सय वर्ष पुरानो इतिहास बोकेको विगु टक्सारको संरक्षणमा स्थानीय जुटेका हुन् । यहाँको टक्सार भोजपुरको टक्सारसँग समकालीन मानिन्छ । तत्कालीन टक्सार रहेको स्थानमा उत्खनन् गर्दा टक काटेको ढुंगा, तामाको धातुबाट निस्किएको किट भेटिएको छ । त्यसैगरि स्थानीयसँग तामाको टक, डोली पैसासमेत भेटिएको छ ।

    ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ स्थित विगु टक्सारका स्थानीयले घरमा राखेको पुरानो तामाको टक । तस्बीरः- कुम्भराज राई

    टक काटेको भनिएको स्थान नजिकैको खोला किनारमा ठूलो परिमाणमा तामाको किट फालिएको ठाउँ छ । ‘जिजुको पालामा राणाहरुको सेना यहाँ बस्थ्यो भन्ने सुनको हो ।’ स्थानीय कालबहादुर विश्वकर्माले भने, ‘ती सेनाहरुले स्थानीयलाई निकै दुःख दिन्थे रे भन्ने सानोमा सुन्थ्यौं । तर के कारणले सेना बसेका थिए भनेर खोजिएन । अहिले आएर थाहा भयो ती त पैसा काट्ने ठाउँको सुरक्षार्थ खटाईएको थिएछ ।’

    ओखलढुंगाको जन्तरखानी र सोलुखुम्बुको विभिन्न ठाउँमा तत्कालीन अवस्थामा तामाखानी सन्चालनमा थिए । त्यतिखेर संचालन भएको तामाखानीहरु अझै छन् । त्यही खानीहरुबाट निकालिएको तामालाई टक काट्न टक्सार स्थापना गरिएको अनुमान गरिन्छ । टक्सारलाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने योजना शुरु गरिएको छ ।

    ‘इतिहासलाई संरक्षण गर्न स्मारक बनाउने योजना छ ।’ वडाअध्यक्ष राईले भने, ‘त्यो सँगै त्यसका लागि आवश्यक प्रमाणहरुको खोजी गरेर संरक्षण गर्ने छलफल भईरहेको छ ।’

    ‘जहाँ गएपनि ठेगाना सुनाउँदा विगु टक्सार भन्ने बित्तिकै तिमिहरुकोमा पैसा काट्ने गथ्र्यो ? भन्ने प्रश्न सबैले गर्छन् ।’ स्थानीय साङ्गे शेर्पाले भने, ‘तर हामीसँग कुनै प्रमाण नभएपछि यसवर्षदेखि यसको प्रमाण खोजौँ र संरक्षणको काम गरौं भनेर टक्सार भएको ठाउँमा उत्खनन् गरि केही पूर्वाधार बनाउने तयारी शुरु गरेका छौँ ।’

    सिनपा ७ विगुटारका वडाअध्यक्ष बमबहादुर राईले टक्सार भएको स्थानको जग्गा व्यक्तिको नाममा रहेको बताए । सो जग्गालाई टक्सार संरक्षण समिति नामक संस्था गठन गरि संस्थाको नाममा जग्गा ल्याउने र स्मारक बनाउने योजना रहेको बताए ।

    ‘इतिहासलाई संरक्षण गर्न स्मारक बनाउने योजना छ ।’ वडाअध्यक्ष राईले भने, ‘त्यो सँगै त्यसका लागि आवश्यक प्रमाणहरुको खोजी गरेर संरक्षण गर्ने छलफल भईरहेको छ ।’

    भोजपुर टक्सारको इतिहास अनुसार वि.सं. १८७२ मा गिर्वाणयुद्धबिक्रम शाहको पालामा टक्सार स्थापना भएको थियो । विगु टक्सार सोही समयकालकै मानिन्छ । विगु टक्सारमा अझै नेवार र विश्वकर्मा समुदाय रहेकाले टक काट्नका लागि उनीहरुलाई ल्याइएको अनुमान गर्न सकिन्छ ।

    भोजपुर टक्सारको इतिहास अध्ययन गरेका काशीनाथ तमोटले विगु टक्सारको अन्तर्सम्बन्ध भोजपुर टक्सारसँग हुनसक्ने बताए । ‘मलाई विगु टक्सारकै बारेमा धेरै जानकारी त छैन ।’ इतिहासकार तमोटले भने, ‘तर त्यतिखेर काठमाडौंदेखि रामेछाप, ओखलढुंगा, भोजपुरसँगको अन्तर्सम्बन्ध धेरै थियो । त्यसैले यो पक्कै समकालीन टक्सार हुनसक्छ ।’

    प्रतिक्रिया दिनुहोस