२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
इतिहास

खरकाे छानाेबाट शुरू भएकाे त्याे मिसन अस्पताल…

  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • सन् २०१३ जनवरी ४ तारिख (२०६९ पुष २०) । स्कटल्याण्डको क्रिफ अस्पताल । एक स्कटिस डाक्टर चीर निँद्रामा लीन भए । उनको निधनमा धेरै नेपालीहरु समेत भावविह्वल भए । त्यो खबरले केही ओखलढुंगेको मन पनि अमिलो भयो । उनी थिए डाक्टर जेम्स एफ डिक । ओखलढुंगा सामुदायिक अस्पताल मिसनका संस्थापक । ८६ वर्षको उमेरमा बितेका थिए । बितेको १० दिनपछि १४ जनवरीमा पर्थ क्रिमोटोरियम पेरिस चर्चेज स्कटल्याण्डमा उनको अन्त्येष्टि भयो ।

    ५९ वर्षअघि हालको सिद्धिचरण नगरपालिका ११ सोब्रुमा अस्पताल खोलेका थिए । बिरामीको उपचार गर्न शुरु गर्दा बिरामीहरु उनको हातबाट औषधी खान मान्थेनन् । सानो जातको भनेर बास पाउँदैनथे । ठ्याक्कै त्यसको पाँचवर्षपछि २०७४ माघ १० गते सोब्रुमै ९२ वर्षको उमेरमा गौहर्क राईको निधन भयो । उनी डा. जेम्स एफ डिकका मित्र थिए । जसले मिसन अस्पताल स्थापना गर्नमा डिकलाई सहयोग गरे ।

    स्कटल्यान्डदेखि ओखलढुंगासम्म

    डाक्टर डिक सन् १९५० ताका राष्ट्रसेवामा थिए । मेडिकल डक्टरको रुपमा उनी मलेसिया पुगे । मलेसियाको क्वालापिलामा टु सेभेन गोर्खा राईफल्स बटालियन थियो । गोर्खा सैनिक पल्टन सँग उनी एकबर्ष बसे । त्यसअवधिमा साधारण मेडिकल डाक्टरको काम गरे । त्यसपछि डाक्टरको थप तालिमको लागि स्कटल्याण्ड फर्किए ।

    डिकले स्कटल्याण्डको एडिनब्रोमा डाक्टर तालिम लिँदै थिए । सन १९५४ मा चर्च अफ स्कटल्याण्ड मिसन मार्फत भारतको कालिम्पोङ पुगे । मलेशियामा गोर्खालीहरु सँग नेपाली भाषा सिकेका थिए । त्यो भाषाले कालिम्पोङमा उनलाई मद्दत गर्यो । नेपालमा जहाँनिया राणा शासनको भर्खरै अन्त्य भएको थियो । प्रजातन्त्रको बहाली सँगै नेपालमा अन्तराष्ट्रिय चासो बढ्दो थियो ।

    सन् १९५७ मा विदेशी मिशन मार्फत नेपालमा ‘मेडिकल वाच इन नेपाल’ कार्यक्रम शुरु भयो । त्यही कार्यक्रम मार्फत डा.डिकले गोर्खालीको देशमा पाइला टेके । अन्तराष्ट्रीय ख्रिष्चीयन मिशन मार्फत कार्यक्रम भित्रिएको थियो ।

    अनुमति पाएर तानसेनदेखि केहि स्वास्थ्यकर्मीसँग ओखलढुंगा त आईपुगे । तर औषधालय खोल्ने त के आफु र आफ्नो टोली बस्ने घर समेत पाएनन् । ख्रिस्चियन सानो जात भन्दै बस्ने डेरा कसैले दिएनन् । पछि एउटा घर पाए तर छानो विनाको । स्थानीयले त्यो घरको छानो फालेका थिए । पुरानो छानो फालेर नयाँ छानो लगाएपछि त्यो घर चोखो रहन्छ भन्ने अन्धविश्वास कायम थियो ।

    मिशनको मुख्य इरादा नेपालको दुर्गम क्षेत्रमा एउटा साधारण औषधालय खोलेर बिरामीहरुलाई उपचार पुर्याउनु थियो । उनले ‘मेडिकल वाच ईन नेपाल’ कार्यक्रममा काम गर्न ओखलढुङ्गा रोजे । यो रोज्नुको एउटै कारण थियो । मलेशियामा गोर्खाली पल्टनसँग रहँदा ओखलढुंगाको बारेमा सुनेका थिए । उनका अर्दली लुगा फाटा मिलाईदिने ओखलढुङ्गा मानेभज्याङका रामबहादुर राई थिए ।

    डा. डिक मेडिकल वाच इन नेपाल मार्फत सन् १९५७ (वि.सं. २०१५) सालमा ओखलढुङ्गा आईपुगे । त्यतिखेर उनको कार्यक्रमले पूर्णता पाएन । ख्रिष्चीयन मिशनको कार्यक्रम भएकोले अगाडी बढाउन दिइएन । जहाँ इच्छा, त्यहाँ उपाए भने झैँ उनले हिन्दुहरुको निगरानीमा रहेको ‘कोलेरा एकेडेमिक’ अन्तर्गत काठमाण्डौको ‘शान्तभवन अस्पताल’मा काम गर्ने अवसर पाए ।

    ‘कोलेरा एकेडेमिक’ विदेशीहरुले खोलेका थिए । शान्तभवन अस्पतालमा काम गर्दा उनको भेट स्कटल्याण्डको एडिनब्रोमा आफुसँगै डाक्टर तालिम गर्ने नेपाली डाक्टरहरुसँग भयो । ती डाक्टरहरु तत्कालीन राजा महेन्द्रका निजी डाक्टरहरु थिए ।

    शान्तभवनमा काम गरेपनि उनको मन त्यहाँ रमाइरहेको थिएन । ओखलढुङ्गामा स्वास्थ्य औषधालय स्थापना गर्ने कुराले मनमा गिजोलिरह्यो । सन् १९५७ देखिको उनको प्रयास चारवर्षपछि सफल भयो । सन् १९६१ मा सरकारले ‘मेडिकल वाच इन नेपाल’ कार्यक्रमलाई अनुमति दियो । त्यसपश्चात डाक्टर डिकले एकवर्ष अघि खुलेको पाल्पाको तानसेन मिसन अस्पतालबाट एक विदेशी र दुई नेपाली नर्सहरु लिएर ओखलढुङ्गा आए ।

    तस्बीर:- युएमएनकाे वेबसाइटबाट साभार ।

    अनुमति पाएर तानसेनदेखि केहि स्वास्थ्यकर्मीसँग ओखलढुंगा त आईपुगे । तर औषधालय खोल्ने त के आफु र आफ्नो टोली बस्ने घर समेत पाएनन् । ख्रिस्चियन सानो जात भन्दै बस्ने डेरा कसैले दिएनन् । पछि एउटा घर पाए तर छानो विनाको । स्थानीयले त्यो घरको छानो फालेका थिए । पुरानो छानो फालेर नयाँ छानो लगाएपछि त्यो घर चोखो रहन्छ भन्ने अन्धविश्वास कायम थियो ।

    चारवर्षअघि ओखलढुंगा आउँदा पनि उनले ओखलढुङ्गामा बास नपाएपछि सदरमुकामको पाटीमा बसेर फर्केका थिए । मुख्य काम औषधालयको लागि घर चाहिएको थियो । उनले बजारभित्र घर पाउने सम्भावना देखेनन् । घुम्दै जाने क्रममा सोब्रु पुगे । त्यहाँ पानीको सानो स्रोत देखे । त्यसकै वरिपरि बस्ने उपायका लागि उनले गाउँमा भुपू गोर्खा खोजे । त्यति नै बेला दोश्रो विश्वयुद्ध सकिएसँगै रिटायर्ड भएर आएका गौहर्क राईसँग परिचय भयो ।

    गौहर्कले आफ्नो र माइला भाई रामहर्क राईको घर दिए । डा. डिकले गौहर्कको घरमा बस्ने र रामहर्कको घरमा डिस्पेन्सरी सेवा दिएर औषधालयको शुरुवात गरेका थिए । त्यही औषधालय पूर्वी पहाडकै पहिलो डाक्टरबाट स्वास्थ्यजाँच गरिने मिसन अस्पताल बन्यो ।

    जीवन दिने अस्पताल

    अहिले यस अस्पतालले स्थापनाको ५९ वर्ष पुरा गरिसकेको छ । आफ्नै घर अस्पताललाई दिएका गौहर्क राईले जिवितै छँदा लेखकसँग कुरा गर्दा स्थानीयले औषधी खान नमान्दा आफैले अगाडि खाएर देखाउने गरेको सुनाएका थिए । ‘धेरै दुःख गरेर अस्पताल स्थापना गरियो ।’ गौहर्क भन्थे, ‘अहिले सम्झिँदा निकै खुशी लागेर आउँछ ।’

    पूर्वी पहाडकै पुरानो अस्पताल हो यो । सामुदायिक अस्पताल भनिएपनि अझै यो ‘युनाईटेड मिसन टु नेपाल’ को व्यवस्थापनमा संचालित छ ।

    अहिले अस्पताल मातहत १ सय ५२ जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये ९ जना डाक्टर छन् । १ जना जेनरल सर्जन, २ जना एमडिजिपि र ६ जना एमबिबिएस डाक्टर छन् । हर्मिनिया, हाइड्रोसिल, एपेन्डिक्स देखि हाडहड्डी भाँचिएको लगायतको शल्यक्रिया मिसन अस्पतालमै हुने गर्छ । डेन्टल सम्बन्धि उपचारसँगै आफ्नै अक्सिजन प्लान्ट रहेको छ । खासगरि प्रसुती सेवामा चर्चित छ । गतवर्ष मात्रै एकवर्षमा जम्मा ३३ हजार बिरामीहरु उपचारका लागि आएको तथ्यांक छ ।

    रामेछाप, सिन्धुली, खोटाङ, सोलुखुम्बु र उदयपुर लगायतका छिमेकी जिल्लाबाट वर्षेनी हजारौं बिरामीहरु उपचारका लागि मिसन अस्पताल आउँछन् । हाल ५० शय्यामा संचालित अस्पतालको संरचना निकै ठूलो बनिसकेको छ ।

    फ्रेण्ड अफ नेपाल डिक

    आफ्नो सारा जीवन सेवामै बिताएका डा.डिकले लाखौँ नेपालीलाई जीवन दिन सफल भए । अन्धविश्वासमा जकडिएको समाजलाई माथी उकासे । अकालमा मर्नबाट जोगाए । उनको अन्त्येष्टिको बेला ‘पर्थ क्रिमोटोरियम पेरिस चर्चेज’ स्कटल्याण्डका चर्चमिनीष्टरले काठमाण्डौ र ओखलढुङ्गामा पुर्याएको योगदानको कदर गर्दै मरणोपरान्त ‘फ्रेण्ड अफ नेपाल’ भनेर विभुषित गरे ।

    ५९ वर्षअघि ओखलढुंगा–८, सोब्रुको गौहर्क राईको घरमा बिरामीहरु राखेर उपचार गरिरहेको दृश्य । तस्बिर सौजन्य:– दुर्गा रुम्दाली राई

    वास्तवमै उनी समग्र ओखलढुंगे, नेपाली र विशेषगरि गौहर्क राईको फ्रेन्ड थिए । डा.डिकले भौतिक रुपमा संसार छोडेको आठ वर्ष बिसिकेको छ ।

    गौहर्क राईको निधन भएको चार वर्ष बितिसकेको छ । तर यी दुई महान व्यक्तिहरुले छ दशक अघि शुरु गरेको योजनाले मिसन अस्पताल चलिरहेको छ । अस्पतालले पुस्तौँ सम्म सेवा दिईरहनेछ । यी दुवैलाई हार्दिक श्रद्धासुमन ।

    (यो लेख डा. डिक जिवित भएको बेला स्कटल्याण्डको कोमरीमा दुर्गा रुम्दालीले गरेको कुराकानी र लेखकले गौहर्क राई जिवित हुँदा गरेको कुराकानीमा आधारित छ । )

    प्रतिक्रिया दिनुहोस