२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

विधान संसाेधन र क्रियाशील विवादले महाधिवेशन प्रभावित: सभापति सुनुवार

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदिपकुमार सुनुवारले विधान संसाेधन र क्रियाशील सदस्यताकाे विवाद निकालेर महािधवेशन प्रभावित पार्ने खेल भइरहेकाे बताएका छन् । उनले पाैडेल समुहप्रति लक्षित गर्दै महाधिवेशन राेक्न गुटकाे भेला भइरहेकाे तर्क गरे

    राजधानिस्थित विभिन्न सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिदै उनले यस्ताे धारणा राखेका हुन् । उनी देउवा निकट मानिन्छन् । उनले  महाधिवेशन, नेतृत्व चयन, युवा नेतृत्वकाे बारेमा व्यक्त गरेकाे प्रतिक्रिया यहाँ प्रस्तुत गरिएकाे छ ।

    नेपाली कांग्रेसको महाधिवेशनको अन्योलमा हामी छौं । महाविधेशनको जुन समयमा हुनुपथ्र्यो, अब त्यो हुन सक्ने अवस्था रहेन । महाधिवेशन हुन नसक्नुमा विशेषगरी विगतमा गरिएको विधान संशोधन नै दोषी छ । त्यो बेलामा संशोधनका लागि भएको सहमतिमा समयसापेक्ष, पुनःसंरचनासहित भन्दा पनि नेताहरुलाई ब्यालेन्स गर्ने हिसाबमा भयो । मुख्य कुराचाहिँ क्रियाशील सदस्यताको विषय विवादित बन्यो ।

    अधिवेशन टुंगोमा नपुग्नुको मुख्य कारण नै यही बन्यो । क्रियाशील सदस्यता ०७६ साल माघमा विधानसम्मत दुई÷दुई वर्षमा नविकरण तथा वितरण गर्नुपर्ने थियो । तर, चौथो वर्षमा आइसकेपछि त्यो काम गर्न थालियो । क्रियाशील सदस्यतालगत्तै आएको महामारी कोभिड–१९ का कारण त्यो वितरण हुन सकेन ।

    निष्पक्षताका साथ सदस्यता तल्लो तहसम्म वितरण हुन सकेन । जिल्ला र क्षेत्रलाई पूर्ण अधिकार दिएको भए केन्द्रसम्म आज आइपुग्दैनथ्यो । त्यसकारण क्रियाशील सदस्यता जिल्ला तथा क्षेत्रबाटै वितरण हुनुपर्छ र त्यहीँबाट टुंगिनु पनि पर्छ । त्यहाँ टुंगिएन भने केन्द्रीय प्रतिनिधि गएर टुग्यांउनपथ्र्यो ।

    दोस्रो कुरा, नेताहरुले विधान बनाउने सहमति गर्नुपथ्र्यो । अरु सबै कुराहरु सहमतिकै आधारमा गर्ने अनि योचाहिँ किन नहुने ? आज, भोलि वा पर्सि भन्दा पनि सबै कुरा सहमतिमा हुन्छ भने अधिवेशन गर्ने कुरा किन सहमतिमा नगर्ने ? कुन समयमा हुने हो त्यसलाई सुनिश्चितता गर्नुपर्यो । महाधिवेशनको मुखमा जब पुग्छ त्यो बेलामा अधिवेशन सार्ने ? हुन्छ हुन्छ भन्ने अन्तिममा अधिवेशन सार्नुपर्ने ? सहमितमा नचल्ने भन्ने कुरा हुँदैन ।

    युवा नेतृत्वको बहस

    युवा नेतृत्व परिपक्व भएको नभएको भन्ने कुरा सुनिन्छ । पार्टीमा उमेरले जेठो हुँदैमा जिम्मेवारी पाउने कुरा हुँदैन । उमेरले बूढो हुँदैमा राजनीतिमा परिपक्व हुने र उमेरमा युवा हुँदैमा राजनीतिमा काँचो हुने भन्ने नै हुँदैन ।

    नेपाली कांग्रेस भनेको लामो र पुरानो पार्टी हो । यसमा पाँच पुस्ताका मान्छे काम गर्छन् । बाजे, नाति र छोरासम्म सबै काम गरेको इतिहास छ । १५ देखि ८० वर्षका मान्छेहरु एउटै कमिटीमा काम गरिरहेका छौं । मलाई के लाग्छ भने, नेतृत्वमा युवा र बूढाको सम्मिश्रणबाट अघि बढ्नुपर्छ ।

    अमेरिकाको उदाहरण हेर्ने हो भने, बाराक ओबामा ४२ वर्षमा राष्ट्रपति भए । ओबामाको त्यतिबेलाका उपराष्ट्रपति ८९ वर्षका थिए । त्यसकारण नेतृत्वले समृद्धि दिन सक्ने, विचार दिन सक्ने भएपछि युवा र बूढाको कुरा समेटिन्छ । त्यसैले राजनीतिमा युवा फुत्त अगाडि आउने र बूढा विस्थापित हुने भन्ने हुँदैन ।

    राजनीतिक एक्टिभिटिको आधारमा उसको मूल्यांकन हुनुपर्छ । क्रियाशील सदस्य सिरानीमा हालेर सुतेर पुरानो पनि होइँदैन, युवा भनेर सर्लक्क ज्यान मात्र देखाएर पनि हुँदैन । उसले कति काम गर्न सक्छ, कति भिजन ल्याउँछ र विचार बोक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    नेपालमा गणतन्त्र स्थापना हुने बेलामा गिरिजाप्रसाद कोइरालको उमेर कति थियो ? त्यो हेरौं न । गिरिजाप्रसादलाई कसैले बूढो भने त ? उहाँले देशलाई गणतन्त्रमय बनाउनुभयो । सारा गणतन्त्रप्रेमीहरुलाई एक ठाउँमा ल्याउन उहाँ लाग्नुभयो र सफल हुनुभयो । तरुण र बूढामा फरक हुँदैन, काम गरेर जनताको भावना समेटेर समयसापेक्ष नेतृत्वमा जो कोही आउँदा हुन्छ भन्ने मलाई लाग्छ ।

    महाधिवेशन कसरी गर्ने ?

    नेतृत्वलाई मात्र समक्ष वा अक्षम भन्नुभन्दा पनि हामी सबै जिम्मेवार बन्नुपर्ने बेला छ । कोही सभापति मात्रै, प्रधानमन्त्री मात्रै, अध्यक्ष मात्रै जिम्मेवार बन्ने होइन ।

    प्रधानमन्त्री असफल हुनु भनेको सिंगो क्याबिनेटको असफलता हो । नेतृत्वलाई सक्षम–अक्षम जे बनाउने हो त्यसका लागि सबैको बराबरी हात हुन्छ । बिरालोको घाँटीमा कसले घन्टी झुण्डाउने भन्ने प्रवृत्ति देखिएको छ ।

    दोष एउटालाई लगाएर अरु पन्छिन मिल्दैन । केन्द्रीय सभापतिको धेरै छ भने जिल्ला सभापतिको नहुने भन्ने हुँदैन नि दोष । समयमा क्रियाशीलतको अपडेट हामीले गर्यौं कि गरेनौं ? भन्ने कुरा पनि होला नि ! दोषजति नेतृत्वलाई असफल भयो भनेर लगाउने गर्न हुँदैन । सबै तहको नेतृत्वले दोष बोक्नुपर्छ ।

    अहिले बाढी–पहिरो, कोभिड हुँदाहुँदै पनि पार्टीलाई नीतिगत रुपमा लिएर जाने काम हुनुपर्छ । अझै पनि सम्भावनाहरु धेरै छन् । अहिले दोब्बर जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । त्यो जिम्मेवारीका लागि नेतृत्व सचेत हुनुपर्छ ।

    प्रतिपक्ष दह्रो भएन भनेर विगतमा खैलाबैला पनि भयो । आज प्रतिपक्षीको भूमिका बलियो देखिएका कारण २३ सिट आएको कांग्रेसले सत्ता पायो । यो कारणले गर्दा नेतृत्व अक्षम भन्न पनि मिलेन । सबैले संवैदनशील भएर अगाडि बढ्नुपर्ने समय हो यो ।  -फरकधारडटकमबाट 

    प्रतिक्रिया दिनुहोस