२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओलीकाे कारवाहीपछि नेपाल नेतृत्वमा नयाँ पार्टी, यस्ताे छ नाम र चुनाव चिह्न

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं-  नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।

    नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको थियो ।

    अन्ततः पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको सो पार्टीका नेताहरुले बताएका छन् । तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।”

    विभिन्न कानुनी अड्चनका कारण सूर्य चिन्ह कसरी हुन सक्छ ? भन्ने प्रश्नमा चौधरीको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । तर हामीले सूर्य छाड्दैनौँ ।”

    नेपाल पक्षले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुको छ ।

    नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले बताएकाे  नागिरक खबरले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस