२०७८ आश्विन १०, आईतबार | Sun, 26, Sep, 2021

जनै पूर्णिमाको महिमा : नेवार समुदायले यस दिन किन पुँज्छन् भ्यागुतो ?

  • २०७८ भाद्र ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • श्रावण शुक्ल पूर्णिमाका दिनमा हिन्दूहरुले जनै पूर्णिमा पर्व धुमधामसँग मनाउँछन्। तर मलमास र पुरुषोत्तम मास परेको वर्ष भने यो पर्व भाद्र शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ।

    यस पर्वलाई ऋषितर्पणी, रक्षाबन्धन, व्याँचा नकेगु पुन्हीँ पनि भनिन्छ। यो दिन वौद्धमार्गीहरुका लागि पनि महत्वको दिन हो। यसै दिनमा गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर वौद्धग्रन्थ ललितविस्तरमा उल्लेख छ। यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ।

    जनै पूर्णिमाका दिन व्रतबन्ध संस्कार गरेका हिन्दू तागाधारीहरुले दाह्रीकपाल, नङ काटेर बिहान स्नान गरी शुद्ध भएर शुद्ध वस्त्र पहिरेर शास्त्रोक्त विधिपूर्वक ब्राह्मणहरुद्वारा मन्त्र एवं स्तोत्र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै धारण गर्दछन्।

    रक्षाबन्धनचाहिँ सबैले बाँध्न हुन्छ। जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोगव्याध निको हुने र रक्षा पनि हुने विश्वास तागाधारीहरुमा छ। रक्षाबन्धन वर्षको एकपटक यसै दिन बाँध्ने चलन छ भने जनैचाहिँ वर्षभरिमा धेरैपटक फेर्नुपर्ने हुन्छ। मातृपितृ श्राद्धमा, शवयात्राबाट फिर्ता भएपछि, जुठो सुतकबाट शुद्ध भएपछि जनै फेर्नुपर्दछ।

    यस दिन पाटनको कुम्भेश्वरमा, गोसाइकुण्डमा र पशुपतिनाथमा ठूलो मेला लाग्दछ। भारतीय परम्पराको नकल गरी नेपालको तराई भेकमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन (राखी) बाँध्ने र आशीर्वाद लिनेदिने चलन छ।

    यज्ञोपवीतका नै तन्तुमा विभिन्न नामका नौ देवताको आह्वान गरिन्छ। प्रथम तन्तुदेखि आह्वान गरिने ती देवताको नाम ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेव हो। जनैको ग्रन्थिमा ब्रह्मा, विष्णु र रुद्रको आह्वान हुन्छ। गायत्री र रुद्र मन्त्रले अभिमन्त्रित ब्रह्मसूत्रको निम्न मन्त्रले प्रार्थना गरिन्छ –

    “प्रजापतेर्यत्सहज पवित्र कार्पाससूत्रोद्भवब्रह्मसूत्रम्।”

    अर्थात सुरुमा प्रजापतिसँगै जन्मेका, कपासको धागोबाट तयार हुने, अत्यन्त पवित्र हे ब्रह्मसूत्र, यसको प्रकाशन साथै जय सिद्धिद्वारा तिमी ब्रह्मत्व प्राप्तिमा सहयागी वन।

    कुनै देवदेवीको प्रीतिका लागि उनीहरुको मन्त्र, जाप र बिशेष तयार गरी पूजा गर्ने, धारण गर्ने, बालरक्षाको लागि विभिन्न रंगको धागो बाँध्ने चलन व्यवहारमा चलिआएको छ। यस दिन रक्षकै निमित्त अभिमन्त्रित डोरो बाँधिन्छ। एक पौराणिक कथाअनुसार देवतालाई दबाउन दानवी शक्ति प्रबल बनी सङ्ग्राममा अघि सर्‍यो।

    लामो समयसम्म युद्ध गर्दा पनि देवताको विजय हुन सकेन। अन्त्यमा देवगुरु बृहस्पतिले श्रावण शुक्ल पूर्णिमाको बिहान सुरक्षाको लागि रक्षाविधान तयार मारे। त्यसरी तयार पारिएको रक्षासूत्र इन्द्राणीलाई इन्द्रको नाडीमा बाँध्न लगाए र बृहस्पतिले यो मन्त्र पाठ गरे –

    “येन बद्धो बली राजा दानवेन्द्रो महावलः।
    तेन मन्त्रेण बध्नामि रक्षमा चल मा चल।।”

    “जैले अत्यन्त बलशाली दानवराज बली बाधिए, उसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ” भन्ने यस मन्त्रको अर्थ हो। त्यसपछि देवताहरुको बिजय भयो। त्यसैबेलादेखि सर्वसाधारणमा पनि रक्षा बन्धन बाँध्ने चलन चल्यो।

    एकातिर यो रक्षा बन्धन चाड ब्रह्माजीका मुखबाट निस्केका ऋषिहरुद्वारा पञ्चतत्वलाई दिक्बन्धन गरिएको दिन भनी शास्त्रले बताएको छ भने वामनावतार विष्णुद्वारा दैत्यराज वलिलाई वचनवद्ध गराई तीनै लोक दानका रुपमा खुस्काएको घटनाका स्मृतिसँग पनि जोडिन्छ। त्यसैले यस दिन ब्राह्मणले मन्त्र पाठ गर्दै यजमानको नाडीमा रक्षा बन्धन बाँधिदिन्छन्।

    अर्थात् रक्षा बन्धन बाँधिदिदै ब्राह्मणले यजमानलाई बलि राजाको दानशीलताको स्मरण गराउँछ।

    जनै पूर्णिमा चाडको अर्को महत्व गोसाइकुण्डको मेला हो। यस दिन नेपाल अधिराज्यका प्रायः सबैजसो ठाउँबाट तीर्थालुहरु काठमाडौँको उत्तरमा स्थित हिमालखण्डको १६००० फिट उचाइमा रहेको गोसाइकुण्डको मेला भर्न पुग्दछन्। अघि समुद्र म्रन्थनबाट निस्केको कालकूट विष घाँटीमा धारण गरेपछि शिवजी उग्र डाह खप्न नसकी हिमालयको यस खण्डमा आई आफ्नो त्रिशूल गाडी त्यहीँ खोचमा पल्टिए।

    त्रिशूल गाडेको पहाडको वक्षवाट तीनवटा जलका धारा छुटेर शिवजी सुतेको खोच भरिदियो। त्यसैको शीतलताले शिवजीको शरीरबाट विषको प्रभाव हटयो। त्यही जलधाराले यस कुण्डको रचना भएकोले यसबाट निकास भई बग्ने नदी त्रीशूली नामले विख्यात भयो। र शिवजीले आराम गरेको हुनाले सो ठाउँको नाम गोसाइँकुण्ड रहन गयो। गोसाइँकुण्डको प्रादुर्भाव भएको दिन जनै पूर्णिमा नै मानिन्छ।

    यसै दिनमा ऋषिहरुका नाममा तर्पण दिइने हुँदा यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ। नेवारहरुले यस दिनलाई ब्याँचा नकेगु पुन्ही भनेको विषयमा एउटा रोचक किवदन्ती प्रचलित छ। नेवारी भाषामा भ्यागुतालाई ब्याँचा भनिन्छ। यस दिन नेवार समुदायका किसानहरुले भ्यागुतालाई पक्रेर घरमा ल्याई भोजन गराउँछन्।

    खेतबारी खनजोत गर्दा किराफटयाङ्ग्रा, भ्यागुता हलोकोदालोले काटिएर मर्ने हुँदा त्यसको प्रायश्चितस्वरुप भ्यागुतालाई खोजेर ल्याई तिनको पूजा गरी भोजन गराउने गरिएको हो। भ्यागुतालाई कृषकको साथी पनि मानिन्छ। यसले चिच्याएर कराईकराई वर्षा गराउँछ। खेतको बालीनाली खाइदिने किराफटयाङ्ग्राहरु खाइदिन्छ।

    अर्को एक किंवदन्तीअनुसार आदिकालमा कण्टाकर्ण भन्ने एउटा भयङ्कर राक्षसलाई कसैले मार्न सकेनन्। एउटा सानो भ्यागुताले भासमा पारी उसलाई मारेको थियो। त्यसैले भ्यागुताको बहादुरी र बुद्धिको कदर गर्दै उसको गुणको सम्झनामा भ्यागुताको पूजा गर्ने र भोजन गराउने चलन चलेको हो। इन्द्र वर्षाका देवता हुन् र भ्यागुतालाई इन्द्रको प्रतिनिधि पनि भनिन्छ।

    श्रावण शुक्ल पूर्णिमाका दिनमा नौ थरीका गेडागुडीके परिकार “क्वाँटी” बनाएर खाने चलन पनि छ। क्वाँटी खानाले शरीरको गर्मी उत्रिने। तागत लाग्ने विश्वास गरिन्छ। मास, मुङ, चना, केराउ, भटमास, बोडी, सिमी, गहत राजमा एकै ठाउँमा मिसाएर भिजाई टुसा उमारेर तयार गरेको क्वाँटी पकाई खाँदf स्वादिष्ट र स्वास्थ्यवर्धक पनि हुन्छ।

    -डा. उत्तम उपाध्याय न्यौपाने/अन्नपूर्ण पाेष्ट डटकमबाट

    प्रतिक्रिया दिनुहोस