२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
दुधकाेशी: अघि बढ्याे आयाेजना, क-कस्ले पाउँछन् मुआब्जा ?

खोटाङतर्फ जग्गा अधिग्रहण, ओखलढुंगाको अभिलेख खोजिँदै

  • २०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जलाशययुक्त दूधकोसी जलविद्युत् आयोजनाका लागि खोटाङतर्फको आवश्यक जग्गा अधिग्रहण प्रकृया शुरु भएको छ । खोटाङ तर्फको ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

    ओखलढुंगाको चिशङ्खुगढी-६ भदौरे र खोटाङको रावाबेसी-३ लामीडाँडा सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट बाँध बाँधेर ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने छ ।

    जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिसकिएको दूधकोसी जलविद्युत् आयोजनले जनाएको छ । आयोजनाका लागि खोटाङको करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्नेछ । यसमध्ये एक हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिको नाममा छ ।
    व्यक्तिगत जग्गा आयोजनाको नाममा ल्याउने प्रक्रिया अघि बढी सकेको छ ।

    ओखलढुंगाको ७ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ । ओखलढुंगा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइरहेको छ । आयोजनाले समुद्री सतहदेखि ६ सय ४० मिटरसम्म यहाँका जग्गा डुबानमा पार्ने भएकाले ६ सय ५० मिटरसम्मको जग्गा अधिग्रहणको प्रक्रियामा लगिएको तखाछेले जानकारी दिए ।

    खोटाङ क्षेत्रको जग्गा जति सक्दो छिटो अधिग्रहणको काम सक्ने योजना बनाइएको जग्गा अधिग्रहण मुल्यांकन समितिका संयोजक खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

    असोज-कात्तिकसम्ममा मुअब्जाको काम सक्ने योजना बनाइएको छ । आयोजनाको दूधकोसी आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठका अनुसार मुआब्जादेखि अन्य विभिन्न कामका लागि यो वर्ष करिब ८ करोड खर्च हुनेछ । यो आयोजनामा करिब १ खर्ब ६० अर्ब खर्च लाग्ने अनुमान छ ।

    आयोजनाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ९ सय ८८ घरपरिवार प्रभावित हुने छन् । उक्त क्षेत्रका ८ सय ७६ हेक्टर जमिन डुबानमा पर्नेछ । आयोजनाको लामिडाँडाको रभुवाबाट १३.५ किलोमिटर लामो सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिकाको धितुङमा पानी खसाएर विद्युत् उत्पादन गरिनेछ ।

    जलाशय क्षेत्र १७ किलोमिटर दूधकोसी नदीमा, ठोट्ने खोलामा ५.५ किलोमिटर, रावाखोलामा ८ किलोमिटरसम्म फैलनेछ । १ हजार २ सय ५ मिटर लामो दुईवटा पक्की डाइभर्सन सुरुङबाट ६ सय मेगावाट विद्युत् उत्पादन हुनेछ भने ड्यामदेखि तल्लोपट्टिको भागबाट ३५ मेगावाट गरी कुल ६ सय ३५ मेगावाट विद्युत् उत्पादन हुने भएको हो ।

    आयोजनाका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी तीन जिल्लाका १ हजार १ सय ५० घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । खोटाङको रावाबेंसी गाउँपालिका वडा नं १, २, ३, ४, ५, ६ र ऐंसेलुखर्क गाउँपालिकाको वडा नं ४, ५ र ६ प्रभावित हुनेछन् ।

    त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ५, ७, ८ र ९ का केही बस्तीहरूसमेत प्रभावित हुनेछन् । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको वडा नं १, २, ३, ६ र ८ पनि प्रभावित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस