२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
कोभिड–१९ को जोखिममा नागरिक

सरकारी कमजाेरीले खाेपमा पहुँचवालाकै दबदबा

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– कोरोना संक्रमणको जोखिम बढिरहँदा सहरी क्षेत्रमै अनुशासन उल्लंघनदेखि संक्रमण लुकाउनेसम्मका समस्या रहेको देखिएको छ । ओखलढुंगामा  आइतबार अपराह्नसम्म १ सय ८४ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये १ सय ७८ घरैमा छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उपचारका लागि जाने, लक्षण देखिँदा लुकाउने क्रम बजार क्षेत्रमै बढी पाइएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार बजार क्षेत्रमा मास्क प्रयोग गर्ने, भीडभाड कम गर्ने विषयमा स्थानीय जानकार भएर पनि पालना गरेका छैनन् ।

    मानव अधिकार आयोग प्रदेश शाखा कार्यालय खोटाङका उप–सचिव श्यामबाबु काफ्ले भन्छन्, ‘मापदण्ड पालना गर्ने काम शून्यप्राय देखियो । सरकारी निकायको पनि कमजोरी देखिन्छ ।’ उनले सरकारी निकायमा कोरोनाको जोखिम कम गर्न पूर्वतयारी अपनाउने विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको बताए ।

    स्थानीय तहका कमजोर तयारी 

    कोभिड–१९ को संक्रमण रोक्न स्थानीय सरकारको तयारी भने कमजोर रहेको देखिएको छ । जनशक्ति परिचालन, सेवा सुविधा वितरण तथा प्रशस्त औषधी व्यवस्थापनको काममा चासो दिएको पाइँदैन । कोभिडको जोखिममा खटिने कर्मचारीलाई थप सुविधा नदिँदा पनि सेवा प्रवाह सुस्त भएको पाइएको छ ।
    नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मी भन्छन्, ‘जोखिम मोलेर काम ग¥यो सुविधा केही छैन, किन जोखिम मोल्ने ?’

    पूर्वतयारीबारे सिद्धिचरणका नगरप्रमुख भने यो कुरा स्वीकार गर्दैनन् । अघिल्लो वर्ष सेवा सुविधा दिँदा विवाद आएपछि अहिले नदिएको भन्दै उनले पालिकाले पूर्वतयारीका सबै काम गरेको दाबी गरे ।

    कोभिड–१९ रोकथाम नियन्त्रणका लागि कोष बनाएको, कोरोनासम्बन्धी सामग्री खरिद, नगरबासी संक्रमित भए अस्पताल लैजान गाडी भाडामा लिएर सेवा दिएकोलगायत काम भएको उनले जानकारी दिए ।

    यद्यपि सरकारले दिने सबैखाले निःशुल्क औषधी स्वास्थ्य संस्थामा अभाव भएको भन्दै स्वास्थ्यकर्मीले फर्काउने गरेका छन् । जिल्लाका अन्य पालिकामा पनि समस्या उस्तै छ । अस्थायी कोभिड अस्पताल छन् तर नागरिकको विश्वास छैन । पालिकाका कोभिड अस्पतालमा हाल बिरामी भर्ना नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्राज पन्तले बताए ।

    खोपमा पहुँचवालाकै दबदबा

    जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा पनि पहुँचवालाको दबदबा देखिएको छ । पहुँच हुने समूहले विभिन्न समूहका नाममा निश्चित संख्या किटेरै सो समुदायमा खोप लगाइएको छ । तर, सरकारले तोकेका लक्षित वर्गका केहीले पाए भने केही खोप लगाउनबाट छुटेका छन् ।

    जिल्लामा लगाइएको जोन्सन एन्ड जोन्सन खोपमा लक्षित वर्गभन्दा अन्य उमेर समूहका व्यक्तिले खोप लगाएका छन् । उनीहरूले पहुँचका आधारमा खोप लगाएको आफैंले बताए । उक्त खोप लगाएका एक युवाले भने, ‘पहुँच हुने जुनसुकै उमेरका व्यक्तिले पनि खोप लगाएका छन्, मैले पनि लगाएँ ।’

    तर, यसले लक्षित वर्ग भने छुटेका छन् । भेरोसेल खोपमा समेत यस्तै समस्या देखिएको गुनासो आएको छ । नागरिकको माग सम्बोधन गर्न स्थानीय तहलाई खोप खरिद गर्ने अधिकार दिनुपर्ने जनप्रतिनिधिको माग छ । सिद्धिचरणका नगरप्रमुख भन्छन्, ‘हामीलाई खोपको समस्या हो । कि चाहिने जति सरकारले देओस् कि हामीलाई किन्न अधिकार दिनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस