२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
टिप्पणी

एमालेमा साउन २५ को भूमरी, २३ भाइको नाम हुडलेर के पकाउँदैछ ओली गुट ?

  • २०७८ भाद्र १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- दुई दिन यता फेसबुकमा एमालेका २३ जना व्यक्तिको नाम प्रदेश कमिटी सदस्य भनेर निकै चर्चा छ । उनीहरुलाई बधाइ दिनेको ओइरो छ । नेकपा एमालेको केन्द्रिय कमिटीको सर्कूलर नै फेसबुकमा भेटिन्छ ।

    यसैलाई आधार मानेर फेसबुक प्रयोकर्ता र उनीहरुका नजिकका कार्यकर्ताहरुले बधाइ दिइरहेका छन् । तर यो निर्णय र नामावली विधिवत हिसाबले एमालेको स्थायी कमिटी बैठकले २०७५ जेठ २ बाट अघि बढ्ने भनेर निर्णय गरेपछि त्यस यताका सबै खारेज भए ।

    तर, ओखलढुंगामा भने २०७७ साउन २५ गतेको निणर्यले खुब चर्चा पाइरहेको छ । ओलि गुटका केही व्यक्तिले खारेज भइसकेको निर्णय प्रचारित गरेर एमालेको विवाद निरुपणमा समेत विषयन्तर गराउन खोजिएको एकता पक्षधर कार्यकर्ताको बुझाइ छ । यही सन्दर्भ यो आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

    दुई दिनदेखि एमालेको सदस्यता लिएका, नेताका धुपौरे र कतिपय जिल्ला कमिटीको पद समेत पाएका चम्चे हुक्केहरुले २०७७ फागुन २८ यता एकै व्यक्तिका फोटा हालेर कहिले नेकपाको केन्द्रिय सदस्य, कहिले एमालेको केन्द्रिय सदस्य र कहिले प्रदेश कमिटी सदस्य भनेर फेसबुकमा गुन बखानसहित आरती उतारिरहेका छन्, मानौ ति पात्रले यो नेपाल भन्ने देशै सिर्जेका हुन् ।

    यसको निहितार्थ के हो त्यो चाँही कि ती चम्चेहरुलाई थाहा छ कि, तिनका मालिकलाई । तर यसरी दिन खोजिएको सन्देश चाँही सबैले बुझिने भाषामा के छ भने यो अवैधानिक निर्णयको कुप्रचार गरेर २०७५ जेठ २ भनेर कुदेका तेस्रो धारको मुद्दा विषयान्तर गरेर तुहाउने ।

    यसरी फेसबुकमा प्रचारितमध्ये पाँच जना केही समय पहिले नेकपा (ओलि) का हजारीया (११९९) केन्द्रिय सदस्यका रुपमा प्रचारित थिए भने अहिले एमालेका प्रदेश सदस्यका रुपमा फेसबुकमा भरमार बधाइ खाइरहेका छन् । उनीहरुमात्रै होइन अहिले त २३ जनाको नाममा फेसबुकमा जयजयकार भइरहेको छ ।

    हुक्के, ढोके, चम्चेदेखि यो बधाइ ‘नेकपा एमाले कार्यालय सचिव’ भनेर समेत  हालिएको छ । र, यो प्रचार आफुलाई ओलि गुटकाे भनेर चिनाउदा रमाउने कार्यकर्ता र केही नेता हुने तहका व्यक्तिहरु (जो ओलि गुटका केही नेताको गुलामी गर्छन्) ले मात्रै गरेका छन् । यहाँ उनीहरुलाई बधाइ दिइएकोमा इश्र्या अथवा द्वेष पोख्न खोजिएको होइन कि उनीहरुको नाम प्रचारित गरेर नेताको नजिक हुने कुत्सित मनसाय ग्रसित पात्रहरुको खण्डन मात्रै गर्न खोजिएको हो ।

    विधि, पद्धति, सिद्धान्त र संस्कारहीन राजनीतिका सह उत्पादनहरु एमालेको मझधार बन्दै छन् । फेसबुकमा भरिएका फेहरिस्त त्यसैका प्रमाण हुन् । यी नै सह उत्पादनकाे सारथी बन्दा एमालेका तरमाराहरुलाई त केहि बेर आराम मिल्ला अन्तत: इमान्दार कार्यकर्ताकाे विस्थापन र एमालेको यात्रा ओरालै हुने प्रष्ट संकेत देखिएकाे छ ।

    यो प्रचारित सूचि एमालेको कन्द्रिय कमिटीको निणर्य गरेर जारी गरिएको सर्कुलर समेतमा छ । सो सर्कुलरमा एमालेका २०७५ जेठ २ का जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, सचिव शंकर कट्वाल, प्रदेश सांसद अम्बीर गुरुङदेखि गणेश उज्जन हत्यामा मुछिएका पूर्व संविधान सभाका सदस्य रहेका माओवादी नेता बालकृष्ण ढुंगेल तथा माओवादीको जिल्ला कमिटीमा रहेका नेता समेत गरि २३ जना छन् । उनीहरुलाई प्रदेश १ कमिटीमा मनोनय गरिएको र प्रदेश कमिटीलाई कार्यन्वयन गर्न भनिएको छ ।

    फेसबुक काण्डपछि यो निणर्य कहिलेको हो, यसको आषय के हो भनेर यो पंतिकारले सोधि खोजि गरेको छ । एमालेको जेठ २ का जिल्ला सचिव, अहिले प्रदेश कमिटीमा मनोनित गरिएको भनेर प्रचारित शंकर कट्टवाले खण्डन गरे । यसको उदेश्य केहो भन्ने प्रश्नमा उनले भने, ‘यो गलत भयो, जिम्मेवार भनिएकैबाट आयो, यो चाप्लुसी गर्न गरिएको हुनुपर्छ ।’ उनले यो केन्द्रिय कमिटीको साउन २५ मा गरिएको निणर्य भएको दावी गरे ।

    नेकपा एमालेको स्थायी कमिटी बैठकले जेठ २ मा फर्कने निणर्य गर्नु अघि भएको निणर्य अहिले प्रचार भइरहेको उनको दावी छ । उनकै दावीलाई आधार मान्ने हो र पार्टी पद्धतिलाई विश्वास गर्ने हो भने पनि यो निणर्यको सर्कुलर अधिकारिक पार्टी कार्यलयमा जिम्मेवार व्यक्तिमार्फत आएको हुनुपर्छ । र, यसको प्रचार नियोजित हुनपर्छ भन्नेमा विश्वास गर्न सकिन्छ । किनकी पार्टीको सर्कूलर पार्टीको आधिकार इमेल वा व्यक्तिलाई नै आउने हो ।

    यसरी प्रचार गरिनुको निहितार्थ के हुन सक्छ भनेर एमाले ओलि गुटका एक नेताले भने यसलाई गम्भीर रुपमा व्यख्या गरे । उनले भने, ‘ओखलढुंगाको हकमा जेष्ठ २ कार्यन्वयन गर्न कठिन छ, नेताहरुको विचमा पनि समस्या छ यही कारण विषयान्तर गरिएको पनि हुनसक्छ ।’ यसले एमालेको विवाद समाधान भन्दा पनि जीवनभर एमालेको संगठनमा योगदान गरेका इमान्दार कार्यकर्तालाई हत्तोसाहित गर्न खोजिएको उनको तर्क छ ।

    उनले अघि भने, ‘मामुली कार्यर्तालाई प्रदेश स्तरको नेता बनाइएको छ, अर्को पार्टीबाट आएका, जो एमाले विरुद्ध अभियान नै चलाएका थिए उनीहरुलाई अब इमान्दार कार्यकर्ताले कसरी स्वीकार्ने भन्ने प्रश्न खडा गराइयो यो गम्भीर छ ।’ यसरी प्रचारित गरिएकाे नामावली, प्रचार शैली र व्यक्तिहरु जसबाट गरियाे,  यसलाई हेर्दा विधि, पद्धति, सिद्धान्त र संस्कारहीन राजनीतिका सह उत्पादनहरु एमालेको मझधार बन्दै छन् । फेसबुकमा भरिएका फेहरिस्त त्यसैका प्रमाण हुन् । यी नै सह उत्पादनकाे सारथी बन्दा एमालेका तरमाराहरुलाई त केहि बेर आराम मिल्ला अन्तत: इमान्दार कार्यकर्ताकाे विस्थापन र एमालेको यात्रा ओरालै हुने प्रष्ट संकेत देखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस