२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सविन केशीकाे कविता: गणतन्त्र र नियत

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • हामिले राणा शासन भोग्यौ,

    प्रजातन्त्र भोग्यौ,

    बहुदल भोग्यौ अनि अहिले

    गणतन्त्र भोगिरहेका छौं

    राजाले जनता चुसे भन्यौं ,

    राज्य नचल्ने भो भन्यौं ,

    त्यसलाई परिवर्तनको लागि लड्यौ

    अनि हामि गणतन्त्रमा पाईला टेक्यौ,

    गणतन्त्रले देशको भग्य बदल्ने सपना पनि देख्यौं

    खै आज ती सपनाहरु पूरा भए जस्तो लाग्दैन….

    आखिर गणतन्त्रमा फरक के भो….

    भनिथ्यो गणतन्त्र स्वर्णिम अवतारहो

    जहाँ जनताको शासन रहन्छ

    जनउत्तरदायी राज्य संयन्त्र बन्छ

    लोक कल्याण कारी राज्य स्थापित हुन्छ

    राजनितिम स्थायित्व कायम हुन्छ

    समृद्धिले बाटो डोर्‍याउछ

    अराजकता र ब्यभिचार बिलिन हुन्छ

    रोजगारिको मुल फुट्छ

    आत्मनिर्भरताको सपना साकार हुन्छ

    अनि समृद्ध नेपाल र सुखी नेपालीको

    आभास गर्न पाईन्छ

    तर यी त हुँदै भएनन्…..

    हेर्यौ गणतन्त्र आएको कति भो देशमा

    न देशको मुहार बदलियो ,

    न जनताको समस्या फेरियो

    न शकुनि जीवन आभास गर्न सकियो

    कुर्सिको थियो खेल यहाँ,

    स्वार्थको थियो झेल यहाँ,

    भोकै छन जनता कति

    उस्तै नाङ्गो छन यहाँ ,

    अराजकताको मियो रोपिएपछि

    चित्कारको आँसु पिउदै छन यहाँ

    खै गणतन्त्रमा के फरक भो  र…

    नेताहरु चिल्ला कारमा हुईकिएकै छन् ,

    आलिसानताको आभास गरिरहेकै छन्

    जनचुसाईको भुँडी हल्लाएकै छन,

    जनतामा भ्रमको हल्ला फिजाएकै छन,

    सत्ताको धुमिल खेल चलाएकै छन्

    साम्सद बेकिएकै छन

    सिद्धान्तहरु थेचिएकै छन

    भ्रस्टाचार मौलाएकै छन

    अराजकता बौलाएकै छन

    दन्डहिनता फैलिएकै छन

    खै गणतन्त्रबाट जनतामा के परिवर्तन भो र….

    सार्वभौमिकता ध्वस्त बनाए

    स्वतंत्रतालाई अपमानित बनाए

    स्वाधीनता र अखण्डताको मजाक उडाए

    कानुन र न्यायलयको धज्जी उडाए

    मानवियता धितोमा राखे

    सामाजिक सद्भाव बिचलित बनाए

    प्रशासन सिमित समुहको मुठ्ठीमा कसे

    खै यो भन्दा ठूलो उपलब्धी के भो र……..

    साच्चै गणतन्त्रको मर्म एकादेशको

    कथामा पात्र हराए जस्तो भो

    गणतन्त्रमा बिकास भएको समाज

    हात हुदा साथ नभए अनि

    साथ हुदा हात नभए जस्तो भो,

    अनि यसका अधुरो पाईलाहरु

    अघि बढ्दा नजिक अनि

    रोकिदा टाढा भएजस्तो भो

    साच्चै यो मनले भनिरहेछ

    हाम्रो गणतन्त्र त सुर्य मुखी फुलले घामलाई पछ्याएर

    रातमा मस्त संग निदाए जस्तै भो ।

    कति निर्मलाहरु बिलिन भए

    कति जयसिङ हरु अर्काकै सिकार भए

    कति छोरिहरु बेचिए

    कति छोराहरु भासिए

    यहाँ न कानुनको प्रत्याभुत भो

    न राज्यानुभुती भो

    न बिकास भो

    न शान्तिको अमनचयन भो

    खै गणतन्त्रमा फरक के भो र……….

    संघीयता अभिसाप भो

    नेताहरुलाई कमाउने गतिलो हतियार भो

    स्थानिय सत्ता कार्यकर्ता पोस्ने थलो भो

    दललहरु अनगिन्ति भए

    दलालहरुको त कुरै छोडौ

    प्रशासन यिनकै स्वर्णिम झोल भो….

    युवाहरु खाडीमा

    गाउघरका बुढापाका बाढिमा

    यो भन्दा अरु फरक गणतन्त्रमा के भो र….

    बिकासको गति क्षीण छ

    योजना सबै जिर्ण छ

    अनि फेरि भनिरहे छन हामी समृद्धिमा लिप्त छौँ

    हाम्रो कदम सच्चा छ,

    बिकास पक्का छ …

    हो यहाँ सबै छ

    नभएको त

    त्यही मानवियता न हो

    त्यही संबेदना न हो

    त्यही कर्तब्यबोध न हो

    अनि त्यही एउटा रास्ट्रियता बोध न हो

    अनि गणतन्त्रमा फरक के भो र…..

    न अमनचयम, न खुसी, न शान्ती न समृद्धि

    यस्तै थियो, यस्तै छ र यस्तै चलिरहन्छ ।

    खै प्रणालिको आभास नै कस्तो कस्तो भो !!

    प्रतिक्रिया दिनुहोस