२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मछिनोको तेल प्रकरणमा प्रहरी र वन कर्मचारीको शंकास्पद भूमिका

  • २०७८ भाद्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • भदौ १७ गते सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङ प्रहरी चौकीले १ सय २० लिटर मछिनोको तेल सहित मनिष मगरलाई पक्राउ गर्यो । सिद्धिचरण नगरपालिका ५ जन्तरखानी ओखलढुंगाका मनिष मगरसँग मछिनोको तेल बिक्रिका लागि वन कार्यालयबाट प्राप्त छुट पूर्जी लगायतको कागजात थिएन ।

    मनिषले ओखलढंगाकै खिजिदेम्बा गाउँपालिकामा रहेको हिमाली जडीबुटी प्रशोधन उद्योगसँग सम्झौता गरि तेल बिक्रिका लागि काठमाडौं लगेको बताए । उनले कागज छुटेको बताएपछि कागज ल्याउन भनियो । उनले कागज मगाएर उपलब्ध गराउने बताएपछि प्रहरीले वनसँग सम्बन्धित मुद्दा भएको भन्दै सिन्धुली वन कार्यालयलाई जिम्मा लगायो ।

    सिन्धुली वन कार्यालयले ओखलढुंगा वन डिभिजन कार्यालयलाई मुद्दा हस्तान्तरण गर्यो । वन डिभिजन कार्यालयले मनिष मगर र बरामद मछिनोको तेल जिम्मा लिए । १ सय २० लिटर तेल भनिएपनि त्यतिखेर सम्म करिब १५ लिटर तेल कम थियो । प्रहरीले केही तेल ल्याउने क्रममा चुहिएको भन्दै जिम्मा लगायो ।

    पक्राउ परेका मनिषका बुवा इन्द्रबहादुर मगरका अनुसार प्रहरीले वा वन कर्मचारी कसले झिके तर १५ लिटकर तेल हराएको बताए । वन कार्यालयका कर्मचारी प्रहरीले बुझाएको तेलको परिमाण त्यत्ति  भएको बताउँछन् ।

    पक्राउ परेपछि छुट पूर्जी

    इन्द्रबहादुर मगरको सिद्धिचरण नगरपालिका ६ मा आफ्नै  प्रबुद्ध मछिनो प्रशोधन केन्द्र नामको उद्योग छ । उनले छोराको नाममा हिमाली जडीबुटी प्रशोधन उद्योगसँग तीन सय लिटर मछिनोको तेल खरिद गरि बिक्रि गर्ने सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार हिमाली जडीबुटीका संचालक सर्किनी शेर्पाले स्थानीय कर गाउँपालिकालाई तिरेर छुट पूर्जी लिएको दाबी छ ।

    तर मनिषले काठमाडौं लिएर गएको तेलसँग छुट पूर्जी थिएन । उनलाई पक्राउ गरि जिल्ला ल्याईसकेपछि खिजिदेम्बाबाट छुटपूर्जी लिएको कागजात पेश भयो । मनिष र बरामद मछिनोको तेल छोडियो । स्थानीयले यसमा वन कर्मचारीको मिलेमतोमा रातारात छुट पूर्जी बनाएको आरोप छ ।

    ‘यसमा त सरासर अवैध कारोबार र मिलेमतो देखिन्छ ।’ लामेलुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पूर्णबहादुर मगरले भने, ‘अझ यो खिजिदेम्बाबाट तेल ल्याएको भनिएपनि हाम्रो सामुदायिक वनबाट अवैध रुपमा मछिनोको रुख काटेको देखिएको छ । हामीले वन कार्यालयलाई यो जानकारी दियौं तर कुनै कारबाही भएन ।’

    इन्द्रबहादुर मगरले २०७२ असार १९ गते साविकको जन्तरखानी ५ मछिनो उद्योग संचालन गर्ने गरि उद्योग दर्ता गरेका थिए । तर उनले उद्योग चाहीँ साविक जन्तरखानी १ मा संचालन गर्दै आएका छन् । जुन कानुन विपरित हो । दर्ता नं. १०७२ मा घरेलु उद्योगमा दर्ता भएको यस उद्योगले तोकेका ठाउँ भन्दा अर्को ठाउँमा उद्योग संचालन गरेपनि कारबाही नभएको स्थानीयको भनाई छ ।

    खिजिदेम्बा स्थित इलाका वन कार्यालयका प्रमूख गणेशबहादुर कटवालले सर्किनी शेर्पाले तीन सय लिटर मछिनोको तेलका लागि आवश्यक सबै प्रक्रिया पुरा गरि छुट पूर्जी लिएको बताए । तर कसरी कागज छुटाए र इन्द्रबहादुरको गाउँमा रिसईबी भएको कारण यस्तो विवादित बनाउने प्रयत्न गरिएको बताए ।

    घटनामा पक्राउ परेका मनिषका बुवा इन्द्रबहादुर आफूहरुले घटना अघि नै छुट पूर्जी लिएको दाबी गर्छन् । ‘मैले पुलिसलाई मेसेन्जरमा त्यतिखेरै पठाउन खोजेको थिएँ । तर सक्कली कपि नै चाहिन्छ भनेपछि पानी परेकोले तुरुन्तै खाङसाङ पु¥याउन सकेनौँ ।’ इन्द्रबहादुरले भने, ‘गाउँले र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले लगाएको आरोप गलत हो । सर्किनी शेर्पासँग भएको सम्झौता बमोजिम वैध रुपमा तेल बिक्रिाका लागि काठमाडौं लगिएको हो ।’

    वन डिभिजन कार्यालयले घटना पश्चात प्रबुद्ध मछिनो प्रशोधन केन्द्रको स्थलगत अनुगमन र अनुसन्धान गरेको कार्यालय प्रमूख नथुनी गोहिवार यादवले बताए । ‘हामीले सबै अनुसन्धान गर्दा त्यस्तो अवैध नदेखिएकोले छोडेका हौँ ।’ उनले भने, ‘गाउँलेहरुले लगाएको आरोप उनीहरु बिचको रिसईबीसँग सम्बन्धित देखिन्छ ।’

    इन्द्रबहादुर मगरले २०७२ असार १९ गते साविकको जन्तरखानी ५ मछिनो उद्योग संचालन गर्ने गरि उद्योग दर्ता गरेका थिए । तर उनले उद्योग चाहीँ साविक जन्तरखानी १ मा संचालन गर्दै आएका छन् । जुन कानुन विपरित हो । दर्ता नं. १०७२ मा घरेलु उद्योगमा दर्ता भएको यस उद्योगले तोकेका ठाउँ भन्दा अर्को ठाउँमा उद्योग संचालन गरेपनि कारबाही नभएको स्थानीयको भनाई छ ।

    के हो मछिनो ?

    मछिनो लेकाली भेगमा पाइने एकप्रकारको पोथ्रे बिरुवा हो । वस्तुभाउलाई स्याउलाको रुपमा समेत यसको प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि २ हजार १ सयदेखि २ हजार ५ सय मिटरको उचाईमा बढी मात्रामा पाइने गरिन्छ । जेठदेखि असोज सम्म यसको स्याउला प्रशोधन गरेर तेल निकाल्न सकिन्छ ।

    जिल्लाभरि एक दर्जन बढी मछिनोको तेल प्रशोधन उद्योग संचालनमा छन् । सबैभन्दा बढी मछिनो तेल उत्पादन खिजिदेम्बा गाउँपालिकामा छन् । अन्य जडिबुटीको तुलनामा यो तुरुन्त नमासिने प्रकृतिको भएकोले यसबाट दीर्घकालीन रुपले आम्दानी लिन सकिने वनविज्ञहरु बताउँछन् ।

    वन समूहका पदाधिकारी तथा उद्योग संचालकहरुका अनुसार उद्योग दर्ता प्रकृया साह्रै झन्झटिलो  छ । दुरी प्रमाणित लगायतका कानुनी प्रक्रिया अव्यवहारिक हुँदा उद्योग सञ्चालन गर्न कठिनाई भएको उनीहरु बताउँछन् । निर्यातका बेला पनि वन कर्मचारीले विभिन्न वहानामा दुःख दिने गरेको बताउँछन् । सिधै विदेश निर्यात गरिने मछिनोको तेल स्थानीय उद्योगबाट प्रतिलिटर ६ हजार भन्दा बढी मूल्यमा बिक्रि हुने गरेको छ ।

    साभार- इकान्तिपुर

     

    प्रतिक्रिया दिनुहोस