२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
इतिहास

राणा शासनकालको त्यो ‘हातकलमी’

  • २०७८ आश्विन २, शनिबार मा प्रकाशित २ साल अघि
  • कुरा २००७ सालको हो । हाल मानेभन्ज्याङ गाउँपालिका –३ (तत्कालीन उँबु १) सोदो ओखलढुंगाका डबलसिं राई जम्मा १२ वर्षका मात्रै थिए । एकाएक उनलाई ‘हातकलमी’ भएको घोषणा गरियो । उनी छक्क परे । ‘के लेखेको थिएँ मलाई नै थाहा थिएन ।’ डबलसिं सम्झन्छन्, ‘एउटा तमसुक लेखेको विषयमा यस्तो खबर पाएको थिएँ ।’ उनको विषयमा माथी राणा शासकहरु सम्मै निकै छलफल भएछ । ‘अन्तमा उमेर कानुन बमोजिम १६ नपुगेको भनेर छुट पाएछु ।’ विगत सम्झिँदै राई मुस्काए ।

    के हो हातकलमी ?
    जहाँनीया राणाशासन अवधिमा निरंकूशताका अनेकन् विधि थिए । त्यही निरंकूशताको एउटा विधि थियो ‘हातकलमी’ । जसले राज्यसत्ता (राणापक्षका व्यक्ति) को विरोध हुने वा कुनै किसिमको घाटा पुर्याउने लिखत लेख्थे उनैलाई हातकलमी गरिन्थ्यो । हातकलमी गरिएका व्यक्तिले लेखेको लिखत/अक्षर कुनै सरकारी काम काजमा मान्यता पाउँदैनथ्यो । उनलाई बाँकी जीवनमा लेखपढ गर्न सरकारबाट पुरै प्रतिबन्धित हुन्थ्यो ।

     

    त्यतिखेर जग्गा नामसारी, राजीनामा, बन्धकी लगायतका तमसुक नै आधिकारिक कागजात मानिने भएकोले यसलाई महत्वका साथ हेरिन्थ्यो । जग्गाको मोल १ सय भन्दा माथी नाघेकालाई मात्रै जिल्लामा तमसुकका लागि पठाइन्थ्यो । अन्य सबै गाउँकै लेखनदासको हातबाट काम चल्थ्यो । ‘राणाहरुको एउटा कठोर कानुनकै रुपमा हातकलमी मानिने गरेको म मेरो बुवाको मुखबाट सुन्थेँ ।’ डबलसिंले भने ।
    डबलसिं आफै तत्कालीन ‘द्वारे’ शेरबहादुर राईका छोरा थिए । त्यतिबेला उँबु चौरासक्षेत्रबाट जग्गाको तिरो रकम उठाएर राणाहरुलाई बुझाउन भरिया लिएर जाने काम ‘द्वारे’को हुन्थ्यो । कम्पनी पैसाहरु बोरामा भारी हालेर उनीहरु सुनकोशी किनारै किनार भएर एक साताको पैदल पश्चात राजधानी पुगेर बुझाउँथे ।

    निरंकूशताको एउटा विधि थियो ‘हातकलमी’ । जसले राज्यसत्ता (राणापक्षका व्यक्ति) को विरोध हुने वा कुनै किसिमको घाटा पुर्याउने लिखत लेख्थे उनैलाई हातकलमी गरिन्थ्यो । हातकलमी गरिएका व्यक्तिले लेखेको लिखत/अक्षर कुनै सरकारी काम काजमा मान्यता पाउँदैनथ्यो । उनलाई बाँकी जीवनमा लेखपढ गर्न सरकारबाट पुरै प्रतिबन्धित हुन्थ्यो ।

    त्यतिखेर विद्यालयहरु जिल्लामा खुलेका थिएनन् । बाउबाजे र जान्ने बुझ्नेले घरैमा लेख पढ गर्न सिकाउँथे । अक्षरहरु प्रायः डिको (माथीबाट धर्को) नदिई लेख्ने चलन थियो । तत्कालीन लिपीलाई ‘काईते लिपी’ भनिन्थ्यो । सोही लिपीबाट सबै किसिमका दस्तावेज तयार गरिन्थ्यो ।

    काईते लिपीको दस्तावेज
    डबलसिं का भतिज प्रकाशहरि क्याम्पा राईको घरमा अहिले पनि करिब दर्जनौको संख्यामा ५० वर्ष भन्दा पुराना लिखत (तमसुक)हरु छन् । सबै कागजातहरु प्रकाशका हजुरबुवा अर्थात डबलसिंका बुवा शेरबहादुरले नै राखि छोडेका थिए । शेरबहादुर आफै २०१० सालमा बितेका हुन् ।
    त्यसमध्येको पुरानो एउटा राजीनामा पत्र हो वि.सं. १९७७ मा लिखित (हेर्नुहोस तस्बीर) १०० वर्ष पुरानो । उक्त पत्र डबलसिंले नै खरर पढेर सुनाए । उबु गाउँ बस्ने रहना जिम्दार्नीले घरखर्च बापत् लिएको १९ रुपैँया ऋण तिर्न नसक्दा शेरबहादुर राईलाई जग्गा दिएका रहेछन् । कपासको बीउ पाँच धार्नी जाने स्वाँराबारी (पाखोबारी) दिएको तमसुकको व्यहोरामा उल्लेख छ । रत्नध्वज राईको आगनमा लेखिएको तमसुक मनदत्त राईले लेखेका रहेछन् ।

    यहि तमसुकले एक युगको अनुमान गराउँछ । त्यतिबेला कपासको खेती प्रशस्त हुने गरेको अनुमान गर्न सकिन्छ । खाँडीको कपडा बुन्नको लागि पनि कपास खेती आवश्यक थियो । हाल पाँच धार्नी कपासको बिउ कति पाखोबारीमा जान्छ ? भनेर अनुमान गर्न सक्ने व्यक्ति समेत यसक्षेत्रमा भेटिँदैनन् ।
    तमसुक मालिङ्गोको चुच्चोमा खयरको चुर पकाएर निर्माण गरिएको मसिमा चोबेर लेखेको देखिन्छ । उँबु चौरास राखिएको ठेगाना अनुसार त्यतिखेर तलुवा भदौरे लगायतका क्षेत्रमा ७ सय घर रहेको र उँबु वाक्सा क्षेत्रमा ५ सय ८४ घर रहेकोले ‘चौरास’ भनेर चिनिन्थ्यो ।
    राणाकालीन अवस्थामा लिखत लेख्ने डबलसिं उँबुक्षेत्रमा एकमात्र जिवित व्यक्ति हुन् । अझ ‘हातकलमी’ घोषित भएर पुनः कारबाही फिर्ता भएका उनी आफैमा एउटा इतिहासपात्र हुन् ।

    (यो सामाग्री छ वर्षअघि कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । लेखकबाटै अनुमति लिई केही सम्पादन गरि यहाँ प्रकाशित गरिएको छ ।)

    प्रतिक्रिया दिनुहोस