२०८२ अषाढ २२, आईतबार | Sun, 06, Jul, 2025

संरक्षणको पर्खाईमा ऐतिहासिक गढीहरु

  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– सन् १२०५ मा सेनहरु बंगालबाट पतन भए । नेपाल भित्रिएका उनीहरुले १४ औं शताब्दिमा मकवानपुर कब्जा गरे । त्यसपछि पूर्वतर्फ किरात राज्यहरुमा आक्रमण शुरु गरे । त्यतिबेला सेनहरुले तलुवागढीमा आक्रमण गरेका थिए । तोलोवा नाम गरेका किरात राजाले यही गढिमा बसेर सेनहरुसँग युद्ध लडेका थिए । यो तलुवागढी अहिले सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाको सिमानमा पर्छ । गढी आसपासमा युद्ध लड्दा सुरक्षाका लागि निर्माण गरिएको ६ फिट देखि २१ फिट सम्म लामो बंकरको भग्नावशेष अझै छन् । मूख्य गढीमा देवीको मन्दिर छ । देवीको स्थापना सोही बेलाकै इतिहाससँग जोडिन्छ ।

    संरक्षण विहिन अवस्थामा रहेको ओखलढुंगाको तलुवा गढीको मुल गढीक्षेत्रभित्रै रुख उम्रिएर अलपत्र अवस्थामा रहेको गढीको संरचना । तस्बीर- नागरिक मिडिया

    करिब ६ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको तलुवागढीको भग्नावशेषहरु अहिले क्षतविक्षत छन् । पर्खालहरु भत्किएका छन् । गढीक्षेत्रभित्रै रुखहरु पलाएर जंगल बनेको छ । जुन ऐतिहासिक महत्वको छ । त्यस अनुसारको संरक्षण हुन सकेको छैन । हालैमात्र यसको विकास तथा संरक्षणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सिद्धिचरण नगरपालिकाले तयार गरेको छ । ‘डिपिआर निर्माण भएको छ ।’ सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले भने, ‘अब डिपिआर अनुसारको काम शुरु हुन्छ ।’
    जिल्लाकै चिशंखुगढी गाउँपालिकामा कोटगढी रहेको छ । बाइसे चौबिसे राज्य रहेको बेला किरात राज्यको रुपमा चिशंखुगढी रहेको थियो । तत्कालीन चिशंखुगढीका राजाले हतियार राख्नका लागि कोत गढी बनाएका थिए । त्यसैको नाम अपभ्रंश हुँदै कोटगढी भयो । नेपाल एकीकरणको बेला रणबहादुर शाहको फौजले चिशंखुगढीका राजालाई परास्त गरेको इतिहासमा पढ्न पाइने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।

    करिब ६ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको तलुवागढीको भग्नावशेषहरु अहिले क्षतविक्षत छन् । पर्खालहरु भत्किएका छन् । गढीक्षेत्रभित्रै रुखहरु पलाएर जंगल बनेको छ । जुन ऐतिहासिक महत्वको छ । त्यस अनुसारको संरक्षण हुन सकेको छैन

    चिशंखुको कोटगढीमा दुईवटा भग्नावशेष छन् । त्यसमध्ये नयाँ भनिएको गढीमा कालिका देवीको मन्दिर छ । मन्दिरको स्थापना १८२५ लेखिएको छ । उक्त गढीको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह, पर्यटन मन्त्रालय, वन कार्यालय, पुरातत्व विभाग सबैले चासो देखाएका छन् । तर पुरानो भनिएको गढी अलपत्र छ । ढुंगाको पर्खालहरु भत्किएका छन् । टेलिकमले राखेको टावर द्वन्द्धकालमा क्षति पुर्याइएपछि गढीको रुप झनै लथालिंग बनेको हो । ‘हामीले स्थानीय तह स्तरबाट सकेको काम गरिरहेका छौँ । अन्य निकायले गरिरहनु भएको छ ।’ चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले भने, ‘तर पर्याप्त रुपमा यसको ऐतिहासिक महत्व अनुसारको र्पवद्र्धन गर्न सकिएको छैन । यसका लागि सबैक्षेत्रको सहयोग जरुरी छ ।’

    ओखलढुंगाको चिशंखुगढी गाउँपालिका अवस्थित ऐतिहासिक पुरानाे कोटगढीकाे अवस्था ।

    कोटगढी र तलुवागढी मात्र होइनन् । जिल्लाको मोलुङ गाउँपालिकाको कुन्तादेवी सोही प्रकारका बुंगे थुम्का रहेको छ । थुम्काको क्षेत्रफल र बनावट अलि सानो भएपनि बाइसे चौबिसे राज्यको पालाका अन्य गढीहरुकै जस्तो देखिन्छ । स्थानीयका अनुसार यहाँ किरातकालकै बुंगे राजाले शासन गरेका थिए । त्यसैगरि लिखु गाउँपालिकाको सिंहदेवीमा भोल्टेकोट गढी रहेको छ । यस गढीको इतिहास किरातकाल हुँदै बाइसे चौबिसे राज्यको पालासम्म जोडिने यसक्षेत्रबाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्काले बताए । भोल्टेकोट गढी अन्यको तुलनामा झनै ओझेलमा परेको कारण गतवर्ष प्रदेश सरकारले केही बजेट विनियोजन गरि सामान्य संरक्षण र पूर्वाधार निर्माणको काम थालेको सांसद खड्काले बताए ।
    यी सबै ऐतिहासिक गढीहरुमा देवीको मन्दिर स्थापना भएका छन् । स्थानीयले ठूलो आस्था राख्ने यी गढीहरुका मन्दिरमा भक्तनको भीड लाग्ने गर्छ । किरात राज्यको इतिहास र हिन्दु धर्मसँग जोडिएका देवीको मन्दिरले पनि गढीहरुको धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रवद्र्धन गर्न सकिने स्थानीयको भनाई छ । ‘कतिलाई गढीको ऐतिहासिक महत्व थाहा छैन । तर देवीको आस्थाकै कारण पूजाआजाकै लागि विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन् ।’ कोटगढी स्थित कालिका मन्दिरका पुजारी जिवकुमार खत्रीले भने, ‘अझै यसलाई ऐतिहासिक महत्व सहित प्रवद्र्धन गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटनकै विकास गर्न सकिने थियो ।’

    प्रतिक्रिया दिनुहोस