२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
पाँच किलोमिटरमा डेढ करोड खर्च हुँदा पनि गुडेन गाडी

बजेट खाने बाटो

  • २०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ११ मा पर्ने गोरुमारेभन्ज्याङदेखि सिनपा ३ लामीसोती जाने ५ किलोमिटर सडकको ट्रयाक २०६४ सालमा खोल्ने काम भयो । तत्कालीन जिल्ला विकास समितिको बजेटबाट उपभोक्ता समितिले ट्रयाक खोलेका थिए । त्यसयता वर्षेनी सडक सफाइ लगायतका काम हुँदै आएको छ । ट्रयाक खुलेको १४ वर्षमा पनि वर्षायाममा यो सडकमा सवारी गुड्न सक्दैन । अहिले पनि यो सडक बन्द छ ।
    छ महिना अघि पूर्वाधार विकास कार्यालय मार्फत ५० लाख लागतमा सडक फराकिलो बनाउने काम भयो । त्यही ५० लाख खर्च गरेर फराकिलो बनाईएको सडकको अवस्था अहिले नाजुक छ । पहिरोले दर्जनौं स्थानीयको गोठ र खेत पुरेको छ । पशुचौपायमा क्षति पुर्यायाे । सडक खोला जस्तै बनेको छ । पूर्वाधार कार्यालयले धेरै पटक सडक सफा गर्ने काम गर्याे । तर एकपटक झरी पर्ने बित्तिकै सडकको अवस्था उस्तै हुने गरेको छ ।

    बजेट खाने बाटोको रुपमा परिचित यस सडकको ट्रयाक खोल्ने बेलादेखि प्राविधिक कमजोरी भएको देखिन्छ । शुरुमा स्थानीय आफैले ग्रेड नमिलाई रातारात खनेको सडकमा पानी कटाउने ठाउँ राखिएन । जसका कारण चार किलोमिटर माथी गोरुमारेभन्ज्याङदेखि बगेको पानी सिधै लामीसोती पुग्ने गर्छ । वर्षेनी सफाई र फराकिलो बनाउने लगायतका शीर्षकमा विनियोजित बजेटबाट ड्रेन बनाउने, पानी कटाउने, पर्खाल लगाउने काम गरिएनन् ।

    यो सडक सफाईका लागि सिद्धिचरण नगरपालिकाले वर्षेनी डोजर लगाउने गरेको छ । सांसद विकास कोष, जिविस, गाविस, नगरपालिका, प्रदेश सरकारले गरेको खर्च जोड्ने हो भने करिब पाँच किलोमिटर सडक (सिस्नेखाेला सम्म) मा १ करोड ५० लाख भन्दा बढी खर्च भईसकेको छ । अहिले सम्म सडकको अवस्थामा सुधार हुन सकेन । ‘करोडौं खर्च भएपनि यो सडक उस्तै भो ।’ स्थानीय धर्मराज दाहालले भने, ‘बजेट मात्र सकिन्छ बाटोको अवस्था सुध्रिएन ।’
    सडकले पुर्याएको क्षतिको उजुरी जिल्ला प्रशासनमा दर्ता भएका छन् । तर क्षतिपूर्ती पूर्वाधार कार्यालयले दिन सक्ने अवस्था छैन । सडक फराकिलो बनाउने नाममा गतवर्ष जग्गाधनीलाई जानकारी नदिई खनियो । जसका कारण थोरै जग्गा भएकाहरुको खेती गर्ने जग्गा मासियो । बजेटको अंक जानकारी नदिई शुरुमा उपभोक्ता समिति गठन गर्दै परिमाण नापेर फरफाराक गर्ने गरेको कारण स्थानीयले अनियमितताको आरोप लगाएका छन् ।

    ओखलढुंगाको गोरुमारेभन्ज्याङदेखि लामीसोती सडक बगेर क्षति पुगेको खेतीयोग्य जमिन ।

    बजेट खाने बाटोको रुपमा परिचित यस सडकको ट्रयाक खोल्ने बेलादेखि प्राविधिक कमजोरी भएको देखिन्छ । शुरुमा स्थानीय आफैले ग्रेड नमिलाई रातारात खनेको सडकमा पानी कटाउने ठाउँ राखिएन । जसका कारण चार किलोमिटर माथी गोरुमारेभन्ज्याङदेखि बगेको पानी सिधै लामीसोती पुग्ने गर्छ । वर्षेनी सफाई र फराकिलो बनाउने लगायतका शीर्षकमा विनियोजित बजेटबाट ड्रेन बनाउने, पानी कटाउने, पर्खाल लगाउने काम गरिएनन् ।
    ‘यो बाटोमा भएको खर्च हेर्ने हो भने डोजर मालिक र केही व्यक्तिलाई फाइदा देखिन्छ ।’ स्थानीय नरनाथ दाहालले भने, ‘बाँकी अहिले सम्म सुविधा भन्दा बढी क्षति पुगेको छ ।’ सडकको कारण भत्किएको पानीको मुहान पुर्ननिर्माण हुन नसक्दा गाउँलेहरु वैकल्पिक मुहान खोजेर अस्थायी रुपमा पानी पिउँदै आएका छन् ।
    पूर्वाधार विकास कार्यालयका प्राविधिकहरु डिजाइन अनुसारको बाटो खनिएको बताउँछन् । ‘शुरुमा बाटो फराकिलो बनाउने र पछि अरु पूर्वाधार बनाउँदै कालोपत्रे गर्ने लक्ष्य अनुसार यसवर्ष बाटो फराकिलो बनाइएको हो ।’ पूर्वाधार कार्यालयका इन्जिनियर धर्मेन्द्र यादवले भने, ‘बजेट जसरी विनियोजन भएर आएको हुन्छ । हामीले त त्यही अनुसार काम गर्छौँ ।’ उनले यो सडक छिट्टै थप स्तरोन्नतिको प्राथमिकतामा रहेको बताए ।

    पछिल्ला वर्षहरुमा स्थानीय र प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्मित सडकहरुको अवस्था यस्तै छ । करोडौं बजेट खर्च भएरपनि वर्षायाममा सवारी चल्न नसक्ने दर्जनौं सडकहरु यत्रतत्र छन् । रुम्जाटार– चार्खु– बेलबोट– आँपस्वारा सडकको अवस्था उस्तै छ । करोडौं खर्च भएको सडकमा वर्षायाममा सवारी गुड्न सक्दैनन् । सोही सडकमा सात दिन डोजर लगाएर ३९ लाख भुक्तानी भएको विवादले जनप्रतिनिधि र व्यवसायी बिचम हात हालाहालसम्म भएको थियो ।

    साभार-इकान्तिपुरबाट

    प्रतिक्रिया दिनुहोस