२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
ओखलढुंगामा कांग्रेस अधिवेशन

पालिकामै प्यानल, कांग्रेसका दुई खेमाबीच काे-काे भिड्दैछन् ?

  • २०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली काँग्रेसको पालिका तहका अधिवेशनसम्मै प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका ८ स्थानीय तहको निर्वाचन शनिबार हुँदैछ । आठै स्थानीय तहमा संस्थापन पक्ष र पौडेल-कोइराला पक्षबीच प्यानलै प्रतिस्पर्धा हुने भएको छ ।

    सबै तहमा दुवै पक्षबाट पालिकाको मुख्य पदाधिकारीमा प्यानलै उम्मेदवारी घोषणा भएको छ । सभापति तथा अन्य पदका उम्मेदवारहरुले फलानो प्यानलबाट नभने पनि दुई खेमाबाट एक एक जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

    एक नगरपालिकासहित ८ स्थानीय तहका सभापतिहरु दुई खेमाका छुट्टाछुट्टै तय भएका छन् । पालिका तहको सबै तयारी पुरा गरेर मतदान अधिकृत पालिका केन्द्रमा खटाइएको काँग्रेस सभापति प्रदिप सुनुवारले बताउनुभयो ।

    को को भिड्दै छन् पालिका सभापतिमा

    जिल्लाको केन्द्र विन्दुका रुपमा रहेको सिद्धिचरण नगरपालिकामा प्रेम गुरुङ र निवन्द श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङ संस्थापन पक्षका उम्मेदवार हुन् भने श्रेष्ठ पौडेल कोइराला खेमाबाट चुनावी मैदानमा छन् ।

    व्यवसायिक पृष्ठभूमिका श्रेष्ठ उद्योग बाणिज्य संघ ओखलढुंगाका सचिव तथा सदरमुकामका स्थायी बासिन्दा हुन् भने गुरुङ रुम्जाटारका बासिन्दा हुन् । गुरुङ सभापति प्रदिप कुमार सुनुवार निकट हुन् ।

    त्यस्तै चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुनावी मैदानमा छन् । थापा संस्थापन हुन् भने राई संस्थापन इतका उम्मेदवार हुन् ।

    मानेभञ्ज्याङ्ग गाउँपालिकामा देव पुलामी मगर र राजकुमार राई मैदानमा छन् । राई संस्थापन इतरका उम्मेदवार हुन् । यो काँग्रेस नेता रामहरि खतिवडाको गाउँपालिका पनि हो । उनको समर्थन देव पुलामी मगरलाई रहेको बताइन्छ ।

    त्यसैगरि चम्पादेवीमा विष्णु पुलामी र भूवन राउत मुख्य दावेदार हुन् । अन्य दुईले पनि दावी गरेकाले सहमति प्रयास भइरहेको काँग्रेस सभापति प्रदिप सुनुवारले बताए ।

    खिजीदेम्वामा रामुकुमार सुनुवार र मानबहादुर महतराबीच प्रतिस्पर्धा छ । सुनुवार संस्थापन पक्षका उम्मेदवार हुन् भने महतरा लाई संस्थापन इतर समुहले अघि सारेको छ ।

    लिखुमा कुमार सुवेदी र रमेश घिमिरेबीच प्रतिस्पर्धा छ । सुनकोसीमा विष्णुबहादुर खड्का र हरिचन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा छ । सुनकोसीमा ढुण्डीराज पहाडीले पनि दावी गरेका छन् । सहमति गर्न पहल भइरहेको नेताहरुले बताएका छन् ।

    मोलुङमा गोपी कार्की र महेन्द्र कार्की बीच प्रतिस्पर्धा छ । गोपी कार्की संस्थापन पक्षका हुन् भने महेन्द्र संस्थापन इतरका हुन् ।

    प्रतिक्रिया दिनुहोस