२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
ओखलढुंगामा कांग्रेस अधिवेशन:

तीन तहमा सर्वसम्मत नेतृत्व: काे-काे भए सभापति, कहाँ के हुँदैछ ?

  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसको पालिका तहको अधिवेशनमा तीन तहमा सर्वसम्मत सभापति चयन भएका छन् । खिजीदेम्वा, लिखु र चम्पादेवीमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    जिल्ला सभापति प्रदिप सुनुवारको पालिका खिजीदेम्वामा राम सुनुवार सहमतिमा सभापति भएका छन् । त्यस्तै लिखुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी चयन भएका छन् । उनीहरु सबै संस्थापन अर्थात् प्रदिप सुनुवार पक्षका हुन् । उनी देउवा निकट हुन् ।

    त्यस्तै तीन तहमा उम्मेदवारी दर्ता सकिएर मतदान शुरु भएको छ । सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढीमा मतदान शुरु भएको छ । यी तिनै पालिकामा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । माेलुङमा गाेपी कार्की महेन्द्र कार्कीकाे प्यानल प्रतिस्पर्धामा छन् ।

    चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुनावी मैदानमा छन् भने सिद्धिचरणमा प्रेम गुरुङ र निबन्द श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । थापा र गुरुङ देउवा अर्थात् संस्थापन पक्षका हुन् भने राई र श्रेष्ठ पौडेल कोइराला पक्षका हुन् ।

    त्यस्तै सुनकोसी गाउँपालिकामा मनोनय दर्ता सकिएको छ । सभापतिमा ३ जना र उपसभापतिमा ७ जनाले उम्मेदवारी दर्ता गरेको नेतृ अर्चना लुइटेलले जानकारी दिइन् । उनका अनुसार सचिवमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । सभापितमा विष्णु खड्का, हरिचन्द्र श्रेष्ठ र ढुण्डीराज पहाडीले उम्मेदवारी दर्ता गरेका छन् ।

    रामहरिका गाउँमा लफडा

    संविधान सभा सदस्य तथा काँग्रेस नेता रामहरि खतिवडाको मानेभञ्ज्याङ गाउँपालिकामा भने विवादका कारण निर्वाचन प्रकृया साँझ पाँच बजेसम्म शुरु भएको छैन । त्यहाँ प्रदेश सभाका बागी उम्मेदवारको क्रियाशिल सदस्यता र प्रतिनिधीमाथि भएको कारवाहीको विषयले लफडा भएको हो ।
    मानेभञ्ज्याङमा पार्टीबाट निष्काशन गरिएका ज्ञानेन्द्र रुम्दाली र रामजी बास्तोलाको सदस्यतथा र प्रतिनिधीको विषयमा विवाद हुँदा निर्वाचन प्रकृया शुरु नभएको हो । विवाद बारे संविधान सभा सदस्य तथा नेता रामहरि खतिवडाले छलफल जारी रहेको बताए । उनले भने, ‘प्रकृया अघि बढिसकेको छ ।’

    प्रतिक्रिया दिनुहोस