२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

जनगणना सम्बन्धि यायोक्खाको जागरण प्रशिक्षण

  • २०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– आसन्न १२ औं राष्ट्रिय जनगणनालाई केन्द्रित गर्दै किरात राई यायोक्खाले जागरण तथा प्रशिक्षण सम्पन्न गरेको छ । बिहिबार सोलुखुम्बुमा र शुक्रबार ओखलढुंगा सदरमुकाममा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
    किरात राई यायोक्खाका केन्द्रिय पदाधिकारी र विज्ञहरुले जनगणनामा किन राईहरुको उपस्थिति बलियो हुनुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए । राज्यसँग अधिकार प्राप्ति गर्नका लागि संख्यात्मक रुपमा उपस्थिति देखाउन जनगणनामा किरात राईहरुले आफ्नो जाति, थर र मातृभाषा लगायतमा स्पष्ट रुपले लेखाउन यायोक्खाको आग्रह छ ।
    पछिल्लो समयमा राई होइनौं भनेर विभिन्न विभाजित गराउनेहरु सक्रिय भएकोले २०६८ जनगणनामा पनि राईहरुको संख्या घट्दै गएको अभियानकै रुपमा जागरण प्रशिक्षण गर्नुपरेको किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले बताए । सम्पूर्ण किरात राई समुदाय एकजुट हुन नसके भोलीका दिनमा थप फुट आउन सक्ने यायोक्खाका नेताहरुले बताए ।


    शुक्रबार ओखलढुंगा सदरमुकामस्थित ओखलढुंगा उद्योग वाणिज्यको हलमा आयोजित प्रशिक्षण कार्यक्रममा भाषा, संस्कृतिका विज्ञहरु डा.तारामणि राई र भोगीराज चाम्लिङले किरात राईको इतिहास, तथ्य र जनगणनाको महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईले गाउँपालिकाक्षेत्रमा बाहूल्यताको रुपमा रहेको राई समुदायमा थप प्रशिक्षण दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    किरात राई यायोक्खाका केन्द्रिय नेताहरु जयकुमार राई, जीवन हाताचो राई, वाम्बुले राई समाजका केन्द्रिय अध्यक्ष गजुरधन राई लगायतले जनगणना २०७८ को विषयमा आफ्ना कुरा राखे । किराया ओखलढुंगाको आयोजना र वाम्बुले राई समाज, किरात वायुङ राई सुम्निखिम, किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समितिको सह संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
    यायोक्खाको अभियानलाई असफल पार्नका लागि अघि बढेका समुदायकै केही नेतृत्वहरु प्रति किरात राई यायोक्खा जिल्ला कार्य समितिका अध्यक्ष थगेन्द्रराज राईले असन्तुष्टि व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस