२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

ओखलढुंगामा फेरी अर्को आत्मदाहबाट महिलाको मृत्यु

  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– जिल्लाको सिद्धिचरण नगरपालिका ७ मा आत्मदाहको घटना घटेको करिब एक महिनामै फेरी लिखु गाउँपालिका ३ मा आत्मदाहको अर्को घटना घटेको छ । ३८ वर्षिया उर्मिला सुनुवार जोगीले आत्मदाहको प्रयास गर्दा मृत्यु भएको हो ।
    उनले आफ्नै घरमा आईतबार दिउँसो शरिरमा मट्टितेल खन्याएर आगो सल्काएकी थिइन् । उनका श्रीमान दीर्गबहादुर जोगीले श्रीमतिको छाती र अघिल्लो भागमा आगो लागेको देख्ने बित्तिकै निभाएका थिए । तर उनको शरिरको भाग जलेको थियो । घाईते भएकी उनको घरमै राखेर घरेलु उपचार गरिएको थियो । तर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घटनाको बारेमा उर्मिलाको मृत्यु भएपछि मात्र प्रहरीलाई जानकारी प्राप्त भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेले बताए । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालिएको छ ।
    स्थानीयका अनुसार उर्मिलाको परिवार निकै विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामा समेत परेकी थिइन् । उनलाई तत्कालीन अवस्थामा समेत गाउँलेले पैसा जुटाएर उपचार गरिएको थियो । दीर्गबहादुरकी कान्छी श्रीमति उर्मिलामा डिप्रेशनको समस्या भएको प्रारम्भिक अनुमान प्रहरीको छ । थप अनुसन्धानबाट मात्र कारण पत्ता लाग्ने डिएसपी काफ्लेले बताउनुभयो ।
    उनले शरिरमा आगो लगाएको दीर्गबहादुरका जेठी श्रीमति तर्फका १२ वर्षिय छोराले देखेर हल्ला गरेका थिए । आत्मदाह गरेर मृत्यु भएको घटना करिब एक महिनाको बिचमै जिल्लामा दुईवटा घटेको छ । गत भदौ १४ गते सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षिया मिनाकुमारी श्रेष्ठले डिजेल खन्याएर आत्मदाह गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस