२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
वेमौसमी वर्षा

बालीनालीमा लाखाैं क्षति: स्थानीय सरकार रमिते; न बिमा, न छ कृषी नीति नै

  • २०७८ कार्तिक १३, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गा- वेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली विमा नहुँदा किसानलाई समस्या भएको छ । दशैं लगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो ।

    सरकारले किसानलाई बाली बिमा गराउने नीति ल्याए पनि ओखलढुंगामा कार्यन्वयनमा आउन सकेको छैन । बाली विमाको विषयको सचेतना किसानसम्म पुग्न सकेन । प्रकृया झन्झटिलो रहेकाले किसानले विमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टिका बानियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानलाई जति भने पनि विमा नै गर्दैनन्, क्षतिपूर्ति कम आउने कहिलेकाँही मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै जाँदैन ।’

    कार्यालयले भने बाली विमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन । सरकारले बाली विमाका लागि कम्पनीलाई तोके पनि किसानले विमा गराउन नआएको आइएमइ जनरल इन्स्योरेन्सका खुरहरि दाहालले जानकारी दिनुभयो । ‘बाली विमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुँने भएकाले किसानले ध्यान नदिएका हुन्’ दाहालको भनाइ छ ।

    स्थानीय सरकारले भने किसानलाई राहत तथा क्षतिपूर्ति दिने गरि कृषी नीति बनाएका छैनन् । उनीहरु गुनासा सुनेर मात्रै किसानलाई फर्काउँछन् ।

    अहिलेको नीति अनुसार खेति गर्दा लागेको बिउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ । थोरै लागतको भए पनि हावापानी र असिनाले उत्पादन भएको लाखौंको अन्न क्षति हुने गरेको छ । विमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनु पर्ने किसानको माग छ ।

    राष्ट्रिय कृषक महासंघले सरकारसँग हाल उत्पादनमा भएको अन्नको क्षतिपूर्ति दिन र विमा नीति परिमार्जन गरि लागत हैन क्षतिका आधारमा विमाको भूक्तानी गर्ने नीति ल्याउन पैरवी गरिरहेको महासंघका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताउनुभयो ।

    उत्पादनका आधारमा हुने क्षतिको विमा गर्ने नीति ल्याएर बाली विमा प्रभावकारी बनाएमा विमा प्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासंघका नेता शारदा निरौला बताउनुहुन्छ ।

    २ हजार बढी हेक्टरको बालीमा क्षति

    जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ ।

    कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर ४ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूणर् क्षति पुगेको छ । यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ । ७ हजार ७ सय ५१ हेक्टरमा लगाइएको कोदोमध्ये १ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा पूणर् क्षति भएको छ ।

    त्यस्तै ४ हजार ४ सय ३ हेक्टरमा लगाइएको धानमध्ये ८ सय ८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ । त्यस्तै ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूणर् क्षति पुर्याएको छ । जिल्लामा कुल ६ हजार ५ सय हेक्टर खेतमध्ये पानी कम परेकै कारण ४ हजार ४ सय ९३ हेक्टर मात्रै रोपाइ भएको थियो । रोपाइ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यन्न संकट हुने चिन्ता छ ।

    स्थानीय सरकारले भने किसानलाई राहत तथा क्षतिपूर्ति दिने गरि कृषी नीति बनाएका छैनन् । उनीहरु गुनासा सुनेर मात्रै किसानलाई फर्काउँछन् ।

    प्रतिक्रिया दिनुहोस