२०७८ मंसिर १७, शुक्रबार | Fri, 03, Dec, 2021

एक कक्षामा पढ्दै ६४ वर्षिया वडा सदस्य

  • २०७८ कार्तिक १७, बुधबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिका ७ माम्खा ठूलढुंगाकी पलामु शेर्पा २०७४ को स्थानीय तहमा एमालेबाट निर्वाचित वडा सदस्य हुन् । ६४ वर्षकी पलामु वडा सदस्य निर्वाचित भएपछि धेरै वटा बैठकहरुमा सहभागी भईन् । बैठकमा जहिल्यै हस्ताक्षर गर्नुपथ्र्यो । अरुले निर्णय पढेर सुनाएपनि आफूलाई पढ्न आएन ।
    निकै वर्ष पहिले गाउँमै पढेको प्रौढ शिक्षाबाट आफ्नो नाम ‘पलामु’ मात्रै लेख्न जान्ने भएकी थिइन् । जहाँ गयो त्यहीँ अक्षर पढ्न नजान्दा उनलाई खिन्न भयो । पलामुको दुई छोरा र दुई छोरी तर्फ ८ जना नातिनातिना र तीनजना पनाति पनातिनि छन् । उनलाई पोहोरसालदेखि स्कुल पढ्ने रहर जाग्यो ।

    अहिले उनी पढेकै विद्यालयमा उनकी पनाति पनि पढछन् । ‘जता पनि लेखपढ चाहिने भयो अनि म त पढ्न थालेको नि ।’ पलामुले भनिन्, ‘अब आँखाले देखुन्जेल पढ्छु । कति सक्छु । दुईतीन वर्ष त देख्छु होला आँखा ।’

    गाउँकै बौद्ध आधारभूत विद्यालय ठूलढुंगाका प्रधानअध्यापक शेषराज दाहालसँग कुरा गरे । तर प्रधानअध्यापक दाहाललाई पलामुको कुरामा विश्वास लागेन । यसवर्ष कोरोनाको कारण भएको लकडाउन खुकुलो हुँदै गएपछि साउनबाट दैनिक दुईघण्टा स्कुल लाग्न थाल्यो । पलामु पनि स्कुल पढ्न आइन् ।
    ‘एकदुई दिन आउने होला । कक्षामा सँधै बसेर त के पढ्नुहोला र ? भन्ने सोच्यौँ हामीले ।’ बौद्ध आधारभूत विद्यालयका प्रधानअध्यापक शेषराज दाहालले भने, ‘तर उहाँ त नियमित आउन थाल्नुभयो । भदौदेखि स्कुल पुरै लाग्न थाल्यो । उहाँ त पोशाक समेत लगाएर आउन थाल्नुभयो । त्यसपछि चाहीँ हामीले उहाँलाई भर्ना गरेर अरु विद्यार्थी सरह लगत राखेर किताब लगायतका पाठ्यसामाग्री दियौं ।’
    अहिले पलामु नियमित कक्षा धाईरहेकी छन् । अन्य विद्यार्थी सरह पुरै घण्टी स्कुलमै बिताउने गर्छिन् । केटाकेटीलाई जस्तो सिकाउन गाह्रो छैन । तर लेख्न चाहीँ ढिलो हुने गरेको शिक्षकको भनाई छ । उनी आँखा राम्रो देख्दिनन् । त्यसैले चश्मा लगाएर लेख्ने पढ्ने गर्छिन् । भर्खरै क, ख र ए, बी, सि, डि लेख्न पढ्न जान्ने भएकी छन् ।
    पलामु सानै हुँदा बुवाआमाले स्कुल पठाउने चलन थिएन । उनका भाईहरुले पनि स्कुल जान पाएनन् । त्यसपछि सानैमा बिहे भयो । छोराछोरी हुर्काउँदै उमेर गयो । दुईवर्ष अघि श्रीमान बिते । त्यसपछि एक्लिएका उनलाई पढ्ने रहर जाग्यो । अहिले उनी पढेकै विद्यालयमा उनकी पनाति पनि पढछन् । ‘जता पनि लेखपढ चाहिने भयो अनि म त पढ्न थालेको नि ।’ पलामुले भनिन्, ‘अब आँखाले देखुन्जेल पढ्छु । कति सक्छु । दुईतीन वर्ष त देख्छु होला आँखा ।’
    पलामुले बुढेसकालमा स्कुल भर्ना भएर पढ्न थालेको देखेर गाउ“का बुद्धिजिवि र अगुवाहरुले समेत प्रशंसा गरे । उनले गरेको साहसले शिक्षाप्रतिको चेतना र चासोलाई गहन रुपबाट सन्देश दिने काम गरेको पलामुकै गाउँले तथा पूर्व सांसद हर्कबोल राईले बताए ।

    (कान्तिपुर दैनिकबाट साभार)

     

    प्रतिक्रिया दिनुहोस