२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
ओखलढुंगा काँग्रेसकाे इतिहास

ओखलढुंगा काँग्रेसलाई फर्केर हेर्दा

  • २०७८ मंसिर ५, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- २००७ को क्रान्ति सफल भयो । नेपालमा प्रजातन्त्र स्थापना भयो । त्यसपछि २००८ सालमा भोजपुरबाट नारदमुनि थुलुङ र रामप्रसाद राई ओखलढुंगा आए । प्रजातन्त्र स्थापना पछि ओखलढुंगाको टुँडिखेलमा (हालको सेनाको ब्यारेक भएको स्थान) ठूलो आमसभा भयो । त्यहाँ मेघबहादुर श्रेष्ठलाई ओखलढुंगा काँग्रेसको सभापतिको प्रस्ताव गरियो । ‘काँग्रेसको सभापति भईन्छ भने हुन्छ’ भनेर श्रेष्ठले स्वीकारे । त्यही आमसभाबाटै श्रेष्ठ काँग्रेस ओखलढुंगाको सभापति भए ।

    २००८ देखि २०१२ सालसम्म मेघबहादुर श्रेष्ठ सभापति भए । त्यसपछि २०१३ सालमा बलबहादुर राई सभापति भए । बलबहादुर राई २०४५ सालसम्म सभापति भए । आठौँ महाधिवेशन पछि २०४५ सालदेखि देखि चन्द्रकान्त दाहाल २०४९ सम्म सभापति भए । चन्द्रकान्त दाहालको सभापतित्वमा जिल्ला सचिव महेश कोर्मोचा भए । त्यसपछि नवौं महाधिवेशन पछि २०४९ देखि २०५३ सम्म पनि चन्द्रकान्त दाहाल सभापति निर्वाचित भए । सचिव नरेन्द्र कार्की भए ।

    दशौं महाधिवेशन पछि २०५३ मा महेश कोर्मोचा सभापति बने । उनको प्रतिद्वन्द्धी प्रेमराज राई थिए । कोर्मोचाको पहिलो कार्यकालका सचिव टेकराज भट्टराई थिए । ११ औं महाधिवेशनमा २०५७ सालमा पुनः सभापति महेश कोर्मोचा निर्वाचित भए । बालाराज कार्कीसँगको प्रतिस्पर्धापछि कोर्माेचा पुन सभापतिमा निर्वाचित भएका थिए । कोमोर्चाको दोश्रो कार्यकालको सचिव अशोक कार्की थिए ।

    त्यतिखेर बलबहादुर राई नेपाली काँग्रेस उप शाखा मानेभन्ज्याङका मन्त्री थिए । सदस्यता वितरण भएको पत्रमा तत्कालीन काँग्रेसका केन्द्रिय चेयरमैन तथा महामन्त्री महेन्द्र विक्रम शाहको समेत हस्ताक्षर रहेको देखिन्छ । यसरी संगठन गरेर हिँडेको बेला २००९ सालमा बलबहादुर राई ३२ वर्ष उमेरका थिए ।

    कोर्मोचा सभापति भएकै बेला २०५९ सालमा पार्टी विभाजन भयो । शेरबहादुर देउवाले प्रजातान्त्रिक काँग्रेस गठन गरेपछि महेश कोर्मोचा सभापति प्रजातान्त्रिक काँग्रेसकै सभापति भए । प्रजातान्त्रिकको अधिवेशनपछि दुर्योधन गिरि, गोमा केसी सभापति भए ।

    पार्टी फुटेपछि काँग्रेसको संस्थापन तर्फ बालाराज कार्की सभापति भए । बालाराज पछि प्रेमराज राई सभापति भए । प्रेमराज हुँदाहुँदै पार्टी केन्द्रले प्रेमराज लाई हटाएर पृथ्वीबहादुर कार्कीलाई सभापति बनाए । त्यो विवाद पछि सम्म लम्बियो । २०६४ सालमा पुनः पार्टी एकीकरण भएपनि पृथ्बीबहादुर र प्रेमराजले आ–आफूलाई सभापति दाबी गरिरहे ।

    सो विवाद २०६७ सालमा काँग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडु आएर मिलाए । त्यसपछि २०६७ सालमा १२ औं महाधिवेशनमा प्रदीप सुनुवार र २०७२ सालमा १३ औं महाधिवेशनको बेला पुनः प्रदिप सुनुवार निर्वाचित भए । १२ औं मा डिल्लिराम खनाललाई र १३ औं मा बालकृष्ण दाहाललाई पराजित गरि सुनुवार निर्वाचित भएका हुन् ।
    १४ औं महाधिवेशन चलिरहँदा जिल्ला अधिवेशनमा हाल शेरबहादुर देउवा प्यानल एकातिर र पौडेल–कोइराला प्यानल अर्कोतिर भएर दुई गुट प्रतिस्पर्धामा उत्रिएका छन् । शेरबहादुर देउवा प्यानलका भएका वर्तमान सभापति प्रदीप सुनुवारको उम्मेद्वारको रुपमा सभापति पदमा तेजेन्द्र खनाल छन् । पौडेल–कोइराला प्यानलबाट बालकृष्ण दाहाल सभापति पदका लागि तेजेन्द्रसँग चुनावी मैदानमा छन् ।

    बलबहादुर राईले बनाएको संगठन
    सात सालको क्रान्तिपूर्व नै बलबहादुर राई, मेघबहादुर श्रेष्ठ जस्ता योद्धाहरु राणा विरोधी आन्दोलनमा सरिक भईसकेका थिए । सात साल पछि भने उनीहरु खुलेरै नेपाली काँग्रेसमा आबद्ध भए । त्यतिखेर हालको ओखलढुंगा, खोटाङ र सोलुखुम्बु एउटै जिल्लाको रुपमा थियो । पूर्व ३ नम्बर भनेर चिनिन्थ्यो ।

    सात सालपछि बलबहादुर राई गाउँगाउँमा पुगेर काँग्रेसको सदस्यता वितरण गरे । जसको प्रमाण स्वरुप गत वर्षमात्र मानेभन्ज्याङ गाउँपालिकाको वडा नं. ५ उदैपुर गाउँमा रहेको तत्कालीन मुखिया परिवारले सुरक्षित रुपमा राखेको राईको हस्तलिखित दस्तावेज भेटिएको छ । राईले २००९ साल चैत १६ गते सनमान ब्राङखेलचो राईका छोरा ६५ वर्षिय पञ्चधोज ब्राङखेलचो राईलाई सदस्यता वितरण गरेका थिए ।

    त्यतिखेर राई नेपाली काँग्रेस उप शाखा मानेभन्ज्याङका मन्त्री थिए । सदस्यता वितरण भएको पत्रमा तत्कालीन काँग्रेसका केन्द्रिय चेयरमैन तथा महामन्त्री महेन्द्र विक्रम शाहको समेत हस्ताक्षर रहेको देखिन्छ । यसरी संगठन गरेर हिँडेको बेला २००९ सालमा बलबहादुर राई ३२ वर्ष उमेरका थिए । २०१७ सालपछि राजा महेन्द्रले कु गरेर पञ्चायती शासन गरेपछिको कठिन परिस्थितिहरुमा पनि बलबहादुर राईको नेतृत्वमा भएको संगठन विस्तारले ओखलढुंगालाई काँग्रेसको किल्लाको रुपमा परिचित गराएको थियो ।

    काँग्रेसबाट निर्वाचित सांसदहरु
    नेपालमा पहिलो पटक २०१५ सालमा आम चुनाव भयो । त्यस आम चुनावमा पूर्व खोटाङ तर्फबाट मणिराम पोख्रेल, ओखलढुंगा उत्तर सोलुखुम्बु क्षेत्रबाट पेशल पोख्रेल (रुम्जाटार चार्खुका) र ओखलढुंगा खोटाङ दक्षिण क्षेत्रबाट बलबहादुर राई सांसदमा निर्वाचित भए । मेम्बर अफ पार्लियामेन्ट अर्थात एमपि भनेर चिनिथ्यो ।

    त्यही चुनावमा एमपिको टिकट नपाएपछि मेघबहादुर श्रेष्ठले ओखलढुंगा उत्तर सोलुखुम्बु क्षेत्रबाट डुंगा चिन्हमा स्वतन्त्र उम्मेद्वार भए । उनले डुंगा चिन्ह रोज्नुको कारण रुख ढालेर डुंगा बनाएको प्रतिकात्मक रुपमा चुनाव चिन्ह रोजेका थिए । श्रेष्ठले जिवित हुँदै लेखकसँगको अन्र्तवार्तामा आफूलाई विपि कोइरालाले पठाएको टिकट पेशल पोख्रेलले बाटोबाटै कब्जा गरेको बताएका थिए । तर कतिपयले त्यतिखेर मेघबहादुर श्रेष्ठले चुनाव नजित्ने सम्भावना देखेको र टिकटमा जातीय सन्तुलन मिलाउनुपर्ने भएकोले पेशललाई टिकट दिएको बताउँछन् ।

    त्यतिखेर सांसदको चुनावमा उम्मेद्वार हुन २५ वर्ष हुनुपर्ने व्यवस्था थियो । काँग्रेसका नेताद्वय सरोज कोइराला र पेशल कोइराला भर्खरै २४ पुरा भएर २५ वर्ष लागेका थिए । ती दुई मध्येबाट पेशलले टिकट पाएर निर्वाचित भएका थिए ।

    सोही क्षेत्रबाट नृपध्वज कार्कीले घोडा चिन्हमा स्वतन्त्र उम्मेद्वार भएर चुनाव लडे । नृपध्वज २००९ सालमै कम्युनिष्ट थिए भनिन्छ । उनि पछि काँग्रेस बनेका थिए तर टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेको पुराना नेताहरु बताउँछन् । २०१६ साल असार २६ गते प्रतिनिधिसभाको बैठकले महासभाको लागि १८ जना सदस्यको लागि ३६ जनाको निर्वाचन गरेको थियो । त्यतिखेर नेपाली काँग्रेसबाट ७ नम्बरमा बलबहादुर राई निर्वाचित भएका थिए ।

    चुनावमा एमपिको टिकट नपाएपछि मेघबहादुर श्रेष्ठले ओखलढुंगा उत्तर सोलुखुम्बु क्षेत्रबाट डुंगा चिन्हमा स्वतन्त्र उम्मेद्वार भए । उनले डुंगा चिन्ह रोज्नुको कारण रुख ढालेर डुंगा बनाएको प्रतिकात्मक रुपमा चुनाव चिन्ह रोजेका थिए । श्रेष्ठले जिवित हुँदै लेखकसँगको अन्र्तवार्तामा आफूलाई विपि कोइरालाले पठाएको टिकट पेशल पोख्रेलले बाटोबाटै कब्जा गरेको बताएका थिए ।

    पञ्चायती शासनमा आम निर्वाचन पद्धति लागु भएन । राष्ट्रिय पञ्चायतका सदस्यहरु ओखलढुंगा चम्पक सुनुवार, भोलामानसिंह थापा लगायत भए । २०४७ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि २०४८ मा चुनाव भयो । त्यतिखेर क्षेत्र नं. १ बाट बालाराज कार्की र २ बाट बलबहादुर राई निर्वाचित भए । बलबहादुर राई त्यतिखेर पहिलो पटक भौतिक पूर्वाधार तथा निर्माण मन्त्री समेत भए ।

    २०५१ को निर्वाचनमा क्षेत्र नं. १ बाट चन्द्रकान्त दाहाल र २ बाट फेरी बलबहादुर राई निर्वाचित भए । २०५६ को चनुावमा क्षेत्र नं. १ बाट होमनाथ दाहाल र २ बाट गोपाल राई निर्वाचित भए । २०५६ को चुनावपछि माओवादीद्वन्द्धको कारण ५ वर्षपछि आम निर्वाचन हुन सकेन । एकैपटक २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन भयो । जसमा क्षेत्र नंं. १ बाट बालकृष्ण दाहाल र २ बाट बालाराज कार्कीले सांसदको टिकट ल्याएपनि दुवै पराजित भए । बालाराज कार्की पराजित हुनुको कारण काँग्रेसबाटै बागी बनेका ज्ञानेन्द्र रुम्दालीले बालाराज कार्कीको मत काटेका थिए ।

    २०७० सालको दोश्रो संविधानसभा निर्वाचनामा क्षेत्र नं. १ बाट बालकृष्ण दाहाल र २ बाट रामहरि खतिवडा उम्मेद्वार भए । त्यसमा रामहरि खतिवडा निर्वाचित भए । २०७४ सालको निर्वाचनमा संघीय प्रतिनिधिसभामा रामहरि खतिवडाले टिकट ल्याएपनि चुनावमा पराजित भए । प्रदेशसभा क मा मित्रसेन दाहाल र प्रदेशसभा ख मा प्रदिप सुनुवार दुवै पराजित भए । प्रदिप सुनुवारको विरुद्ध पुनः ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेद्वारी दिदा प्रदिप सुनुवार पराजित हुन पुगेका थिए ।

    (कृपया  याे लेख र यहाँ प्रकाशित दस्तावेज लेखककाे अनुमति बिना प्रकाशन प्रसारण नगरिदिनुहाेला ।)

    प्रतिक्रिया दिनुहोस