२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काँग्रेसमा कान्छी अर्चनाको इन्ट्री

  • २०७८ मंसिर १३, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लाबाट निर्वाचित २६ जना महाधिवेशन प्रतिनिधि मध्येकी कान्छी हुन् अर्चना लुईंटेल । उनी २६ वर्षकी भइन् । चुनावमा होमिँदा पनि उनलाई जितिन्छ भन्नेमा खासै विश्वास थिएन । तर आश मारेकी थिइनन् ।

    अन्तमा उनको प्रत्यासी अम्बिका भट्टराईसँग मत बराबर भयो । दुवैजनाले ५ सय ८८ मत ल्याए । निर्वाचन टोलीले गोलाप्रथा गर्दा अर्चना भाग्यमानी साबित भइन् । अझ अर्को संयोग त अर्चनाले यसैपाली मात्र नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएकी हुन् । पहिलो पटक सुनकोशी गाउँपालिका १ बाट क्षेत्रीय प्रतिनिधि भएर जिल्ला अधिवेशनमा सहभागी भएकी थिइन् ।

    गाउँमै कक्षा ८ मा पढ्दादेखि नेपाल विद्यार्थी संघकी सदस्य बनेकी अर्चना नेवि संघ जिल्ला कार्य समितिमा सहसचिव पदमा थिइन् । उनी त्यतिखेर संस्थापन (देउवा) पक्षबाट निर्वाचित भएकी हुन् । जब महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार हुने इच्छा व्यक्त गरिन् । जिल्लाको नेतृत्वले ‘केटाकेटीले किन महाधिवेशन प्रतिनिधिको रहर गर्नुपर्याे ?’ भन्ने जवाफ पाइन् ।

    ‘मलाई प्रदेश प्रतिनिधिको उम्मेद्वार बन्ने रहर थियो ।’ अर्चनाले भनिन्, ‘तर नेतृत्वको त्यही बोलीले मेरो मनमा बिझायो अनि महाधिवेशन प्रतिनिधिमै उम्मेद्वार बन्ने निधो गरेँ ।’ उनले संस्थापनको प्यानलबाट उम्मेद्वारको सूचीमा आफू नपर्ने भएपछि कोइराला– पौडेल प्यानलमा कुरा राखे । त्यताबाट प्रस्ताव स्वीकृत भयो ।

    शुरुमा खुल्ला महिलामा उम्मेद्वारी घोषणा गरेकी उनले निर्वाचनको बेला खसआर्य महिला कोटा मार्फत चुनाव लडिन् । प्रतिद्वन्द्धीसँग बराबर मत भएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट छान्ने निधो गरे । अर्चनाले सहमति जनाइन् तर उनकी प्रतिद्वन्द्धीले पुनः मतगणनाको माग गरिन् । गोलाप्रथाबाट टुंगो लगाउने भनेपछि अम्बिकाले नै चिट्ठा तानेकी थिइन् । तर अर्चना विजेता बनिन् ।

    काँग्रेसलाई बुढाहरुको पार्टी भनेर चिनिन्छ । महाधिवेशन प्रतिनिधिमा युवाहरुको उम्मेद्वारी नै कम पर्ने गर्छ । ‘पार्टीमा स्पेस आफैले खोज्नुपर्ने रहेछ भन्ने सिकाई भयो ।’ अर्चनाले भनिन्, ‘राजनीतिमा अघि बढ्ने नबढ्ने सफल हुने नहुने त मेरो क्षमता, निरन्तरता, समय परिस्थितिले निर्धारण गर्ला ।’ हाल अर्चना स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस