२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
कांग्रेस महाधिवेशन

केन्द्रीय सदस्यमा प्रदिप सुनुवार र रामहरि भिड्दै, संभावना के छ ?

  • २०७८ मंसिर २०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा ओखलढुंगाका दुई नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी घाेषणा गरेका छन्  । जिल्ला सभापति प्रदिपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यकाे उम्मेदवारी घाेषणा गरेका हुन् । उनीहरु दुवै जना संस्थापन पक्षीय नेता हुन् ।

    सभापति शेरवहादुर देउवा निकट प्रदिपकुमार सुनुवार ओखलढुंगामा २ कार्यकाल सभापति भइ जिल्ला सदसमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नाे समुहका नेताहरुलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल भएका नेता हुन् ।

    उनी अल्पसंख्यक काेटामा केन्द्रीय सदस्य भिड्दैछन् । उनी जत्तिकाे प्राेफाइल बनाएका संस्थापन समुहमा अल्पसंख्यक समुदायबाट उठेका नेता विरलै छन् । जिल्लामा आफ्नाे गुट स्थापित गर्न १० वर्ष याेगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नाे समुहबाट केन्द्रीय सदस्य उम्मेदवार बनाउने निश्चित रहेकाे नेताहरुकाे भनाइ छ ।

    त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी घाेषणा गरेका छन् । सञ्चार माध्यममार्फत सहमहामन्त्री दावी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरुसँग पनि उनकाे उत्तिकै नजिककाे सम्बन्ध रहेकाे कार्यकर्ताहरु बताउँछन्।

    सहमहामन्त्रीमा  सिनियर नेताहरुलाई व्यवस्थापन गर्नै चुनाैति देखिएपछि उनी केन्द्रीय सदस्य भिड्ने तयारीमा छन् । उनले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’  १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थाेरै मतले पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस