२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

महिला भलिबलमा प्रदेश १ कै उत्कृष्ट ‘ओखलढुंगा’

  • २०७८ मंसिर २६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- मानेभन्ज्याङ गाउँपालिका ५, की तारा श्रेष्ठ सानैदेखि दाईहरुले भलिबल खेलेको हेर्थिन् । उनलाई पनि भलिबल खेल्ने रहर लाग्थ्यो । तर अवसर पाउँदैनथिन् । दशवर्ष अघि गाउँमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भयो । उनले विद्यालयको छात्रा समूहबाट भलिबल खेल्ने मौका पाइन् । त्यसयता उनले लगातार भलिबल खेल्दै आएकी छन् ।

    जिल्लाको महिला भलिबल टिमको प्रतिनिधित्व गरेर प्रदेश १ का विभिन्न जिल्लामा पुगिसकिन् । हाल महिला भलिबल ओखलढुंगाको क्याप्टेन हुन् तारा । उनले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको टिममा सहभागी भएर खेलिन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशकै टिम क्याप्टेनको जिम्मेवारी सम्हालिन् । तारा हाल २४ वर्षकी भइन् । अझै उनलाई भलिबलप्रतिको लगाव उत्तिकै छ ।

    ताराकै सहपाठी सावित्री राई २३ वर्षकी भइन् । तारासँगै स्कुलदेखि भलिबल खेल्न शुरु गरेकी सावित्री जिल्लामा महिला भलिबलकी सम्भावना बोकेकी खेलाडी हुन् । ‘नेपालमा जुनसुकै खेलकुदमा धेरै भविष्य त छैन ।’ सावित्रीले भनिन्, ‘तर कम्तिमा विभागीय टिम सम्म छनौट भएर खेल्न सके हुन्थ्यो भन्ने सपना छ ।’ घरको काम सकेर फुर्सद भएपछि भलिबल खेल्न निस्कने तारा, सावित्रीसँगै दर्जनौ महिलाहरु छन् ।

    ‘सहयोग कसैको हुँदैन । जहिले पनि कहीँ खेलकुद हुने भो भने हारगुहार गरेर, चन्दा उठाएर सहभागीता जनाउन जाने गरेका छौँ ।’ तारा श्रेष्ठले भनिन्, ‘भलिबल खेलकुद त्यसमा पनि महिला भनेपछि हेर्ने दृष्टिकोण टिठलाग्दो छ ।’

    महिला विधामा भलिबल प्रतियोगिता कमै हुनेगर्छ । हालैमात्र ओखलढुंगा महिला भलिबल टिमले सोलुखुम्बुमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरे । दुईवर्ष अघि संखुवासभासँग पराजित यो टिम अहिले सबैभन्दा राम्रो फर्ममा छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत वर्ष भएको प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम भयो ।

    ‘अहिले यदि कुनै प्रदेश १ स्तरीय प्रतियोगिता हुने हो भने ओखलढुंगा महिला भलिबल टिम सबैभन्दा उत्कृष्ट टिमको रुपमा छ ।’ ताराले भनिन्, ‘अहिले हाम्रा खेलाडीहरु एकदमै फर्ममा छन् । यसअघि संखुवासभा बलियो थियो । उनीहरुको टिम अहिले कमजोर भईसकेको छ ।’ जिल्ला महिला भलिबलको टिमका सबै खेलाडी मानेभन्ज्याङ गाउँपालिका भित्रकै छन् । यस गाउँपालिकामा महिलाहरु भलिबल खेलमा अत्यन्तै आकर्षित छन् ।

    ‘महिला भलिबल खेलाडीको संख्या धेरै छ ।’ जिल्ला भलिबल संघका अध्यक्ष तथा भलिबलका राष्ट्रिय रेफ्रि समेत रहेका रुपलाल तामाङले भने, ‘तर यो टिमले चाहेजस्तो अभ्यास, तालिम र अवसर पाएको छैन । यसका लागि सरकारी निकायले सहयोग गर्न सक्दैन ।’ गाउँपालिकाले बेलाबेलामा आयोजना गर्ने वडास्तरीय महिला भलिबल प्रतियोगिताको कारण यत्तिको संख्यामा भलिबलमा महिलाहरुको आकर्षण बढेको खेलाडीहरुको भनाई छ ।

    ‘सहयोग कसैको हुँदैन । जहिले पनि कहीँ खेलकुद हुने भो भने हारगुहार गरेर, चन्दा उठाएर सहभागीता जनाउन जाने गरेका छौँ ।’ तारा श्रेष्ठले भनिन्, ‘भलिबल खेलकुद त्यसमा पनि महिला भनेपछि हेर्ने दृष्टिकोण टिठलाग्दो छ ।’ यदि कोचिङ राम्रो भएर अभ्यास गर्ने हो भने राष्ट्रिय स्तरको खेलाडी जिल्लामै उत्पादन गर्न सकिने उनले बताइन् । अन्य महिलाहरुलाई प्रेरणा होस्, नयाँ पुस्ताहरु भलिबल खेलप्रति आकर्षित हुन् भन्ने उद्देश्यले भलिबल खेल्न नछोडेको उनले बताइन् ।

    खेलकुदमा लागेको महिलाहरुलाई जिल्लामा भएका विद्यालयहरुले पार्ट टाइमको रुपमा खेलकुद सिकाउने प्रशिक्षक नियुक्त गर्न सके केही टेवा पुग्ने भलिबल संघका अध्यक्ष रुपलाल तामाङ बताउँछन् । काखे नानी भएका महिलाहरु भलिबल खेलमा आकर्षित हुन थालेका छन् । यही आकर्षणलाई सदुपयोग गर्न सके भलिबलमा प्रगति गर्न सकिने खेलाडीहरुको भनाई छ ।

    राष्ट्रिय भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले यि उत्साही र ऊर्जावान् खेलाडीको प्रोत्साहनका लागि वातावरण बनाउने हर सम्भव प्रयास गर्ने बताइन् । ‘आधारभूत आवश्यकताका लागि संघर्षरत यी खेलाडीको आर्थिक अवस्था उकास्न र राम्रो कोचको प्रबन्धमा संघले निःसन्देह पहल गर्छ,’ उनले भनिन् । केन्द्रदेखि मोसफलसम्मै पूर्वाधारको समस्या रहेकोले सरोकारवाला सबै पक्षले यता ध्यान दिनुपर्ने मास्कले बताइन् ।

    (इकान्तिपुरबाट साभार)

    प्रतिक्रिया दिनुहोस