२०७८ माघ २, आईतबार | Sun, 16, Jan, 2022
ईतिहास

रुम्जाटारकी गुरुङसेनी महेन्द्रको पहिलो रानी

  • २०७८ पौष ३, शनिबार मा प्रकाशित ४ हफ्ता अघि
  • ओखलढुंगा – रम्बा गुरुङ निकै राम्री थिइन् । तत्कालीन युवराज महेन्द्र शाह रम्बा गुरुङको रुप देखेर फिदा थिए । यो कुरा राजा त्रिभुवनलाई मन परेको थिएन । उनीहरु बिचको प्रेम सम्बन्ध दरबारले पनि रोक्न सकेन । अन्ततः उनीहरुको सम्बन्धबाट छोरा जन्मियो । त्यसपछि चाहीँ दरबारले रम्बालाई गुरुङसेनी भएकै कारण बुहारी स्वीकार्न सकेन ।

    जात र वर्गलाई आधार मानेर नारायणहिटि राजदरबारले रम्बा गुरुङलाई सँधै अपहेलित गर्यो । उनलाई इतिहासको कालखण्डमै लुकाउने प्रयत्न भयो । रम्बालाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेर चिनाइयो । उनी राजा महेन्द्रका पहिलो रानी थिइन् । तर उनलाई रानीको वैधता दिइएन । महेन्द्र र रम्बाको सम्बन्धबाट जन्मिएका थिए रविन्द्र शाह । जो वीरेन्द्र भन्दा जेठो भएर पनि राजा हुन पाएनन् ।

    को थिइन् रम्बा गुरुङ ?

    ओखलढुंगा रुम्जाटारका शाही गुरुङको पेशा भेडापालन थियो । निकै ठूलो भेडा बथान भएका शाही गुरुङले चारवटी श्रीमति विवाह गरेका थिए । भेडी गोठमै मधेश पुगेको बेला जेठी श्रीमतीको कोखबाट रम्बा जन्मिइन् । यकिन संवत कसैलाई थाहा छैन । तर रम्बा जन्मिएपछि सुत्केरी व्यथाकै कारण शाही गुरुङले रम्बाकी आमा (जेठी श्रीमती) गुमाए ।

    दरबार र रुम्जाटारको सम्बन्ध धेरै पहिलेदेखि थियो । धाईआमा र अन्य नोकरचाकर आवश्यक पर्दा रुम्जाटारदेखि दरबार लाने चलन थियो । रम्बा अलि ठूली भएपछि उनका बुवाले दरबारमा लगेर छोडिन् । रम्बाको बुवा शाही गुरुङको दरबारमा आउजाउ पछि सम्म चल्यो । त्रिभुवन राजा भएको बखत महेन्द्र युवराज थिए । महेन्द्रको रम्बासँग प्रेम सम्बन्ध गाँसियो । जुन कुरा त्रिभुवनलाई मन परेको थिएन । नभन्दै रम्बाले दरबारमै छोरा रविन्द्र शाह जन्माइन् । रविन्द्रको जन्म वि.सं.१९९० वा १९९६ मा भएको भन्नेमा विवाद छ । तर रम्बा गुरुङसँग १३ वर्ष बिताएका उनका भाई श्रीकृष्ण गुरुङले रविन्द्र १९९० सालमै जन्मिएको बताउँछन् ।

    दरबारले चारजना नोकर र दिदिको घर खर्च सहित गरेर वार्षिक २० हजार दिन्थ्यो । रत्नबहादुर काजीले पैसा ल्याएर दिदिलाई दिन्थे । त्यो पैसाले एकवर्ष धान्न पुग्दैनथ्यो । त्यो सुविधा महेन्द्र बाँचुन्जेल मात्र कायम रह्यो । २०२९ सालमा महेन्द्र मर्ने बित्तिकै सबै सुविधा कटौति गरिदियो ।

    यदि रविन्द्र १९९० मै जन्मिएका भए महेन्द्र १३ वर्षको उमेर हुँदै रविन्द्र जन्मेको प्रमाणित हुन्छ । यदि १९९६ मा जन्मेका भए वीरेन्द्र भन्दा ६ वर्षले जेठो देखिन्छ । राजा महेन्द्रले पछि बिहे गरेर दुईवटी रानी ल्याए । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीदेवी शाह । उनीहरु दिदिबहिनी थिए । यसरी दरबारले ब्याईते र ल्याईते भनेर छुट्याएको रम्बाको मृत्यु वि. सं. २०३० सालमा भयो । २०१७ सालदेखि दिदिको अन्तिम दिन सम्म सँगै बिताएका श्रीकृष्ण गुरुङ हाल ८८ वर्षका (२०७७ मा) भए । उनी पूर्व बेलायती सेना हुन् । सातवर्ष बेलायती सेनामा जागीर खाएर फर्किएपछि दिदिसँग करिब १३ वर्ष बिताएका श्रीकृष्णले दिदिलाई गुरुङ भएकै कारण दरबारले जीवनभरि हेला गरेको बताउँछन् ।

    ‘दरबारले सँधै हेला गर्यो’– श्रीकृष्ण गुरुङ

    दिदिको कोखबाट रविन्द्र शाह जन्मिएपछि दरबारले यो ल्याईते रानीको होइन ब्याईते तर्फको भन्दै रविन्द्रलाई नारायणहिटिबाट निकालेर बालख्खामै ठमेलमा लगेर राखेछ । दिदि चाहीँ अलि पछि सम्म नारायणहिटिमै थिइन् । पछि महेन्द्रले इन्द्रराज्यलक्ष्मी बिहे गरेपछि दिदिलाई बत्तिसपुतलीमा घर किनेर सारिदियो ।

    रविन्द्र ठूलो भईसकेपछि ज्ञानेन्द्र, धीरेन्द्र शाहहरुसँगै बालुवाटारमा २६–२६ रोपनी जग्गामा घर बनाएर दरबारले लहरै राखिदिएको थियो । पछि रविन्द्रले त्यो घरजग्गा बेचेर सरे । रविन्द्रले चन्दा शाहसँग बिहे गरे । रविन्द्रको बिहेमा म पनि थिएँ । त्यतिखेर बुवा महेन्द्र र उनका भाईहरु कसैको उपस्थिति भएन । बिहे गरेपछि केही समय रविन्द्रले आमा रम्बा (मेरो दिदि) लाई सँगै राखे । तर सासु बुहारीको कुरा नमिलेपछि दिदि बत्तिसपुतलीस्थित पुरानै घरमा फर्किइन् ।

    श्रीकृष्ण गुरुङ

    दरबारले चारजना नोकर र दिदिको घर खर्च सहित गरेर वार्षिक २० हजार दिन्थ्यो । रत्नबहादुर काजीले पैसा ल्याएर दिदिलाई दिन्थे । त्यो पैसाले एकवर्ष धान्न पुग्दैनथ्यो । त्यो सुविधा महेन्द्र बाँचुन्जेल मात्र कायम रह्यो । २०२९ सालमा महेन्द्र मर्ने बित्तिकै सबै सुविधा कटौति गरिदियो । रविन्द्रले दिदिलाई आमाको रुपमा कहिल्यै हेरेको मलाई थाहा भएन । आमा जस्तो व्यवहार पनि गरेनन् । उल्टै आमा बितेको केही महिनामै बत्तिसपुतलीको चार रोपनीको घरजग्गा ५ लाखमा बेचिदियो । रविन्द्रको नाममा भत्ता आउँथ्यो । उनी रेडियो नेपालका भएभरका कर्मचारी ल्याएर दिनहुँजसो रक्सी ख्वाउँथे ।

    राजा महेन्द्रले पढ्न भनेर उनलाई एकपटक दिल्ली पठाएका थिए । पछि भने उनलाई विदेश जानै नपाउने गरि दरबारले निषेध गरिदियो । दिदिलाई ब्रेन टिबि जस्तै टाउकोको रोग थियो । पहिले नि भारतको भेलोर लगेर ठिक भएको थियो । पछि बल्झियो । फेरी वीर अस्पताल लगेर निको भयो । बल्झिने र वीरमै लगेर उपचार गर्ने क्रम चल्दाचल्दै दिदिको निधन भयो । अनि म फेरी रुम्जाटार फर्किएँ । म आफै गएको थिइनँ । दिदिले दुईपटक सम्म बोलाएपछि गएको थिएँ । म बसेको अवधिमा एकपटक राजा महेन्द्रले दिदिलाई घरमै भेट्न आएको याद छ । अरुबेला चाहीँ दिदिले नारायणहिटीमै गएर भेट्थिन् । यति हेला गरेर राख्यो कि गाडीको सुविधा दिएन । एकपटक एउटा थोत्रो जिप दिएको थियो । त्यो पनि फिर्ता लगिदियो । टेलिफोन जडान गर्न अनुरोध गर्दा दरबारले गरिदिएन ।

    दरबारले जीवनभरि दिदिको हेला गर्यो । मेरो दिदि ठकुरी वा क्षत्री नहुनु नै त्यसको कारण थियो । गुरुङ भएकैले दिदिले हेलाको हेलामै जीवनको अन्तिम सास फेरिन् । त्यतिखेर कतिपयले रम्बाको भाइले दरबारको पैसा खायो भन्थ्यो, मैले के खान्थेँ र । कहिलेकाहीँ दिदिले दिएको दुइचार पैसा खर्च बाहेक मैले भात खाने बस्ने भन्दा अरु केही लिइँन ।

    को थिए रविन्द्र शाह ?

    राजा महेन्द्रका बाहिरिया रानी तर्फका सन्तान थिए रविन्द्र शाह । उनलाई दरबारका सदस्य भन्दा धेरैले कवि र गीतकारको रुपमा चिन्छन् । उनको ‘रानी तलाउ किनारा’, ‘श्रद्धाको फूल चढाई दिनु आएर लाशमा, नपाए फूल भईगयौ तिमि, रोइदिनु आशमा’, ‘फूलको पातमा दुईथोपा आँशु यो मेरो खस्यो कि’, ‘म फूलसँग भुलुँकी, म जुनसँग खुलुँकी’ जस्ता दर्जनौं गीत चर्चित छन् ।

    रविन्द्र शाह

    उनले लेखेको गीत नारायण गोपाल, तारा देवी, आशा भोस्ले, गौरी केसी लगायतका गायक गायिकाले गाएका छन् । रविन्द्र पिता महेन्द्र झैं राम्रा कवि र गीतकार थिए । उनले आफ्नो गीत र कवितामा आफू र आमाका पीडाहरुलाई पोखाएको केही समालोचकहरुले भनेका छन् । उनका छोरीहरु रचना प्रसाई, सिर्जना थापा र छोरा पविन्द्रविक्रम शाह छन् । रविन्द्रको निधन २०५४ सालमा भयो । रविन्द्रको मावली रुम्जाटार भएपनि उनको मावलीसँग कुनै सम्बन्ध रहेन । उनका मामा श्रीकृष्ण गुरुङलाई उनका सन्तानको बारेमा कुनै जानकारी छैन ।

    रम्बा गुरुङको विषयलाई लिएर नगेन्द्र न्यौपानेले ‘दरबार बाहिरकी महारानी’ नामक उपन्यास नै लेखका छन् ।

    हेर्नुहाेस् श्रीकृष्ण गुरूङकाे भिडियाे अन्तर्वार्ता

     

     

    प्रतिक्रिया दिनुहोस