२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

विद्यालय प्रवेश गर्न नपाएपछि छात्राले गरिन् आत्महत्या

  • २०७८ पौष ७, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– चम्पादेवी गाउँपालिका ३, कालिकास्थित बालज्योती माध्यमिक विद्यालयकी एक छात्रा गत सोमबार विद्यालय प्रवेश गर्न नपाएपछि घर फर्किन् । घर फर्किने बित्तिकै विष सेवन गरेर आत्महत्या गरिन् । उनी विद्यालय पुग्दा विद्यार्थीहरु प्रार्थनामा राष्ट्रियगान गाउँदै थिए ।

    उनीसँगै ढिला पुगेका २० जना जति विद्यार्थीहरुलाई विद्यालयको गेट बाहिर राखियो । ढिलो आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले विद्यालय प्रवेश गर्न दिएनन् । प्रार्थना सकिएपछि केहीलाई नाम टिपेर आइन्दा ढिला नआउने निर्देशन दिँदै प्रवेश गर्न दिए ।  त्यस अघि नै १०– १२ जना विद्यार्थी घर फर्किसकेका थिए । फर्किने मध्येकै थिइन् कक्षा ८ की १४ वर्षिया छात्रा विमला बोगटी । उनले घर पुग्ने बित्तिकै विष सेवन गरिन् । घरको कोठामा पसेको केही मिनेटमै उनले बुवालाई चिच्याउँदै बोलाइकी थिइन् ।

    बुवा पुग्दा विमलाले विष सेवन गरिसकेकी थिइन् । ‘सोध्दाखेरी स्कुलभित्र जान नदिएकोले दुख लागेको र आवेशमा आएर विष पिएको बताइन् ।’ बिमलाको बुवा खुर्कबहादुर बोगटीले भने, ‘हतार हतार साबुनपानी बनाएर ख्वाएँ । घरेलु औषधी गर्दै गाडी खोजेर मिसन अस्पताल ल्याइयो । तर बचाउन सकिएन मंगलबार बिहान ११ बजेतिर छोरीको निधन भयो ।’ घरमा तरकारी बालीमा लगाउने भनेर बुलेट ५०५ (BULLET505) नामको किटनाषक औषधी राखिएको थियो । उनले त्यही सेवन गरिन ।

    विमलाको मृत्युपछि खुर्कबहादुरले बुधबार जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीलाई प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् । अध्यक्ष बुढाथोकीले गाली गलौज गर्दै स्कुल छिर्न नदिएपछि आत्महत्या गरेको आरोप छ । अध्यक्ष बुढाथोकीले ढिला आउने विद्यार्थीहरुलाई प्रवेश गर्न नदिएको स्वीकारे ।

    ‘प्रार्थना पछि मैले एकजना शिक्षक बोलाएर नाम टिपाउँदै भोली अभिभावक लिएर आउनु भनेर भित्र छिर्ने अनुमति दिएको थिएँ ।’ अध्यक्ष बुढाथोकीले भने, ‘त्यसअघि केही भाई बहिनीहरु फर्किसकेका रहेछन् । समयमा आउन निर्देशनमात्र दिएको हुँ ।’ पीडित पक्षले विव्यस अध्यक्षकै कारण विमलाले आत्महत्या गरेको आरोप लगाएका छन् ।
    विद्यालयका प्रधानअध्यापक मधुकरप्रसाद चौधरी घटना घटेको बेला विद्यालय आईपुगेका थिएनन् । ‘म चाहीँ अवकाशका लागि राजीनामा दिने उद्देश्यले कागजात मिलाउँदा मिलाउँदै ढिलो भयो ।’ प्रअ चौधरीले भने, ‘त्यही दिन त्यस्तो घटना भएछ म स्कुल आईपुगेपछि थाहा पाएँ । यो साह्रै नराम्रो भयो ।’

    जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेले घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बताए । आरोपित विव्यस अध्यक्ष बुढाथोकी प्रहरीको नियन्त्रणमा आईसकेका छन् । वैद्य माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विज्ञप्ति निकालेर दोषीमाथी कानुनी कारबाही गर्न माग गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस