२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
।। समाचार टिप्पणी ।।

एमाले जिल्ला अधिवेशनः कस्तालाई सुम्पिने नेतृत्व ? 

‘सल्लाघारीमा अलैची रोपेर सल्लाकै मल बनाउने कि उत्तिसघारीमा रोपेर फल खाने ?’

  • २०७८ पौष २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनको बन्द शत्र बाँकी छ । पुस २३ गते शुक्रबार दिनभर उद्घाटनमै वितेपछि बन्द शत्र शनिबार हुने जिल्ला सचिव शंकर कट्वालले बताए ।

    संगठित सदस्य र विभिन्न कमिटीबाट हुने प्रतिनिधित्वका आधारमा करिव ७ सय ७५ जना प्रतिनिधी सहभागी छन् । अझै केही शनिबारै जिल्ला कमिटी बैठक बसेर थपघट गरि प्रतिनिधित्व एकिन गरिने एमालेको तयारी छ ।

    यसरी जिल्लाभरीका एमालेका संगठित सदस्यबाट चुनिएका जिल्ला प्रतिनिधिको सहभागीतामा एमालेको नयाँ नेतृत्व चुनिने छ । यद्यपी जिल्लामा एमालेको विगतले प्रतिनिधिबाट नेतृत्व चयन भएको देखाउँदैन । माथिल्लो कमिटीका नेताहरुको स्वार्थमा जिल्ला कमिटी चयन हुँदै आएको छ ।
    यस पटक भने पदाधिकारीका आकांक्षी धेरै देखिएकाले निर्वाचन हुनसक्ने अनुमान गरिएको छ । आज उद्घाटनमा सहभागी धेरैजसो प्रतिनिधीहरुले पनि चुनाव भए मन परेका व्यक्तिलाई मतदान गरेर जिम्मेवारी दिनु सहि हुने प्रतिक्रिया पंत्तिकारलाई दिएका छन् । यसले पनि विगत जस्तो नेतृत्व चयन प्रकृयामा प्रतिनिधिहरु असन्तुष्ट छन् भन्ने पुष्टि गर्छ ।

    विगतभन्दा यो पटक एमालेको जिल्ला अधिवेशन फरक अवस्था र परिवेशमा हुँदैछ । एकातिर सत्तारुढ कांग्रेसले पालिका देखी जिल्लासम्मका सबै पदमा निर्वाचन मार्फत नेतृत्व चयन गरेको छ भने माओवादी केन्द्रले पार्टीको जिल्ला संरचनालाई खारेज गरेर स्थानीय तहलाई शक्तिशाली बनाएको अवस्था छ ।

    एमालेले भने जिल्ला कमिटीलाई अझै शक्तिशाली कमिटीका रुपमा चित्रित गर्दैछ । आफैंमा यो संघीयताको मर्म विपरित त छ नै । तर एमालेको नेतृत्व चयनको प्रकृया र त्यहाँबाट चुनिने पात्रले भने जिल्लाको राजनीतिमा अर्थपूर्ण सन्देश पनि दिने निश्चित छ ।

    पार्टीमा सिद्धान्त, दर्शन, हिजोका अप्ठेराेमा पार्टीका लागि योगदान गरेका श्रमजीवि कार्यकर्ताको मनोभावभन्दा नवधनाढ्य र व्यापारीहरुको बोलावाला छ ।यी कुराको पुष्टि गर्न कुनै कुइनेटो खोतल्नु पर्दैन । राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा पार्टी सदस्य भएको तीन वर्ष नकाटेका व्यक्ति पठाउने देखि संगठित सदस्यको अभिलेख पार्टी कार्यालयबाट होइन निर्वाचन कार्यालयबाट ल्याइएका मतदाता नामावली सारेर पठाउनेसम्मका हर्कतबाटै पुष्टि हुन्छन् ।

    सबैभन्दा धेरै विधि र पद्धतिको वकालत गर्दै आएको एमालेमा वाम गठबन्धन, नेकपा हुँदै पुन एमालेसम्म आइपुग्दा वैचारिक तथा वैधानिक धरातलको स्खलन हिमखालडभन्दा निकै गहिरो भइसकेको छ । पार्टीमा सिद्धान्त, दर्शन, हिजोका अप्ठेराेमा पार्टीका लागि योगदान गरेका श्रमजीवि कार्यकर्ताको मनोभावभन्दा नवधनाढ्य र व्यापारीहरुको बोलावाला छ ।

    यी कुराको पुष्टि गर्न कुनै कुइनेटो खोतल्नु पर्दैन । राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा पार्टी सदस्य भएको तीन वर्ष नकाटेका व्यक्ति पठाउने देखि संगठित सदस्यको अभिलेख पार्टी कार्यालयबाट होइन निर्वाचन कार्यालयबाट ल्याइएका मतदाता नामावली सारेर पठाउनेसम्मका हर्कतबाटै पुष्टि हुन्छन् ।

    पार्टी सदस्य भएको थाहै नपाएका व्यक्ति प्रतिनिधी आउने अवस्थाको जुन धरातमा एमाले अधिवेशनले नेतृत्व चयन गर्दै छ, यसले निकै गम्भीर प्रश्न खडा गरेको छ । केन्द्रदेखि जिल्लासम्म एक वर्षका गतिविधी र निणर्यहरुले यो अधिवेशनबाट एमालेको प्रतिगामी यात्राको वैधानिक अनुमोदन गरेर ‘राजनीतिक व्यापारी’ले एमाले सत्ता कब्जा गर्ने आधार बलियो बन्दै गएको छ ।

    एमालेको नेतृत्व चयनमा प्रतिनिधीहरुलाई विना हस्तक्षेप स्वविवेक प्रयोग गर्न दिने हो भने आम कार्यकर्ताहरुले अपेक्षा गरेकै व्यक्तिहरु नेतृत्वमा आउने निश्चित छ । एमालेमा त्यस्तो वातावरण अपवाद वाहेक संभव देखिदैन । किनकी यो अधिवेशन एक हिसावले मध्यम वर्गीय राजनीतिक कार्यकर्ता र नवधनाढ्य व्यापारी, आर्थिक तथा सामाजिक अपराधमा मुछिएका पात्रहरुका बीचको टकरावको रापमा पिल्सिनेवाला छ ।

    एमाले मूलतः न्यून संख्याका श्रमजीविको मुद्दामा टेकेर मध्यम वर्गले नेतृत्व गरेको पार्टी हो । यो पार्टीले मूलत मध्यम वर्गीय समुदायकै हित गर्छ । नेपालमा बहुसंख्यक मध्यम वर्ग भएकाले एकताका लोकप्रिय भएको थियो । जिल्लाको अवस्था पनि खास फरक थिएन । तर, एक वर्षका बीचमा एमालेकाे उल्टाे यात्रा देशभरभन्दा बढी ओखलढुंगामा देखिएकाे छ ।

    केही वर्ष यता एमाले जिल्ला नेतृत्वमा मध्यमवर्गका पात्र देखिए पनि तिनको ‘रिमोर्ट’ नवधनाढ्य वर्ग, अराजनीतिक चरित्र बोकेका स्वार्थ समुहका हातमा पुगेको छ । अहिले नेतृत्वकाे दाैडमा रहेका पात्रहरु एकातिर राजनीतिक व्यापारीकाे इशारामा दावी गरिरहेका, काेही आफैं व्यापारी छन्  भने अर्कातिर मध्यम वर्गीय राजनीतिक कार्यकर्ता  ।

    ओखलढुंगाको यो जिल्ला अधिवेशनमा सहभागी हुन धेरै समर्थकहरु आएनन् । सहभागी हुन आएका केही प्रतिनिधीहरुले पंत्तिकारसँग ‘आउन मन त थिएन चुनाव भैहाले राजनीतिक व्यापारीका विरुद्धमा मतदान गर्न पाइन्छ भनेर आएका’ भन्ने प्रतिक्रिया दिएका छन् ।

    यो अधिवेशन एक हिसावले मध्यम वर्गीय राजनीतिक कार्यकर्ता र नवधनाढ्य व्यापारी, आर्थिक तथा सामाजिक अपराधमा मुछिएका पात्रहरुका बीचको टकरावको रापमा पिल्सिनेवाला छ ।

    प्रतिनिधिको मनोविज्ञान नै कसैको पक्षमा भन्दा बढी कसैको विपक्षमा लाग्न उत्प्रेरित गर्ने बाध्यता सिर्जना हुनु एक हिसाबले एमाले भित्र विद्रोहको चेतना बढेको भन्न सकिन्छ । यस पटक एमाले जिल्ला अधिवेशनमा कस्ता पात्र र प्रवृत्तिले पार्टी सत्ता हत्याउँछन् त्यसैले भविश्यमा एमालेको ‘उत्थान या पतन’को बाटो पनि तय गर्नेछ ।

    एमालेभित्र अराजनीतिक, अराजक, राजनीतिक व्यापारी र नवधनाढ्य एकतातिर, राजनीतिक चेत र वर्गीय भेद बुझेका अर्कातिर भएर कित्ताकाट त देखिएकै छ तर, नेतृत्व चयनमा राजनीतिक चेत भएकाहरु पाखापरे भने बालुवाटारबाट बालकोट पुगेको एमालेको ओरालो यात्रा अन्ततः बगरसम्मै नपुग्ला भन्न सकिन्न ।

    यतिबेला एमाले प्रतिनिधीहरुले ठण्डा दिमाग लगाएर सोच्नु पर्ने बेला आएको छ कि तत्कालको गुलियो बचन र न्यानो ओतको आशमा राजनीतिक व्यापारी, आर्थिक समाजिक दुष्कर्मका नाइकेहरुलाई पार्टी सत्ता हस्तान्तरण गर्ने कि राजनीतिक चेत भएका एमालेको वर्गीय धरातल बुझेका पात्रलाई ।

    यस पटक प्रतिनिधीहरुले नेतृत्व चुन्ने अवसर पाउँदा ‘सल्लाघारीमा अलैची रोपेर सल्लाकै मल बनाउने कि उत्तिसघारीमा रोपेर फल खाने ?’ भन्ने यकिन गरेर अघि बढुन् यसैमा उनीहरुको राजनीतिक भविश्य निर्धारण हुने देखिन्छ । नेतृत्व राजनीतिक कार्यकर्ताकाे हातमा पुगेमा राजनीतिक संस्कार जाेगिने आशा र राजनीतिक व्यापारी र तिनका बुख्याँचाका हातमा पुगे पार्टी वा व्यापारिक कम्पनी के हाे भनेर छुट्याउन कठिन हुनेमा दुईमत छैन ।

    प्रतिक्रिया दिनुहोस