२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

राजमार्गका भित्तैभरि किन राखिए ऐना ?

  • २०७८ चैत्र ६, आईतबार मा प्रकाशित २ साल अघि
  • सिन्धुली- बिपि राजमार्ग हिँड्ने जो कोहीले सुनकोशी गाउँपालिका ५ र ६ को सीमानामा पर्ने मूल्कोट नजिकैको सडकका भित्तैभरि ऐना देख्छन् । गएको दुईवर्षयता ऐनाको संख्या ह्वात्तै बढेको छ । सडककै भित्तामा सेतीदेवीको सानो मन्दिर पनि छ । ‘अहिले त दिनमै दुई तीन सय भन्दा बढी ऐना चढाउने गर्छन् ।’ मन्दिरका पूजारी निरप्रसाद आचार्यले भने, ‘गणना नगरेपनि ऐनाको संख्या ५० हजार देखि एकलाख हाराहारीमा पुगेको होला ।’

    उनले अधिकांश सवारी चालक र यात्रुहरुले देवीको नाममा ऐना चढाउने गरेको बताए । ऐनालाई किला (काँटी) ठोकेर भित्तामा झुन्ड्याउने गरिएको छ । जसका लागि मन्दिरमा चढाईएको भेटी रकमबाट मान्छे लगाएर राख्ने गरिएको पूजारी आचार्यले बताए । उनलाई स्थानीयले पूजारीको रुपमा मन्दिरको भेटी संकलन गर्ने, पूजाआजा गर्ने काममा पाँचवर्ष अघिदेखि खटाएका हुन् ।
    १० वर्षअघि यही ठाउँमा तीनवटा बस दुर्घटना भएको थियो । सो दुर्घटनाबाट ६० जना यात्रुको ज्यान गएको थियो ।

    त्यहीबेलादेखि स्थानीय धामी झांक्रीहरुले दैवी शक्ति भएको भन्दै देवीको स्थापना गरेका थिए । त्यही घटनाको कारण सवारी चालक र यात्रुहरुले सेतीदेवी मन्दिरमाथी आस्था राख्ने गरेका छन् ।

    ‘यात्रा सफल र सुरक्षित हुने, सोचेको पुग्ने भन्दै भक्तजनले ऐना, चुरा, रिबन जस्ता सामाग्री चढाउँछन् ।’ पूजारी आचार्यले भने, ‘त्यसैलाई हामीले सजाएर राखेका हौं ।’ अहिले सम्म १ किलोमिटर भन्दा धेरै दुरी सडकको भित्तामा ऐना राख्ने काम भईसकेको छ । यसरी नै ऐना राख्ने क्रम निरन्तर चलिरह्यो भने कति संख्यामा कहाँ सम्म राख्ने भन्ने टुंगो छैन ।

    ऐना र मन्दिरको आकर्षणले गर्दा दैनिक सयौंको संख्यामा सवारी साधन रोकेर भेटी चढाउने, फोटो खिच्नेहरुको लर्को लाग्ने गर्छ । तर साँघुरो सडकको कारण सवारी रोकेर फोटो खिचाउने भीडको कारण दुर्घटनाको जोखिम हुने गरेको छ । स्थानीयहरुले मन्दिर व्यवस्थापन समिति दर्ताका लागि आएपनि अझै सबै प्रक्रिया पुरा भई दर्ता नभएको सुनकोशी गाउँपालिकाका सूचना अधिकारी कपिलबहादुर अधिकारीले बताए ।

    बिपि राजमार्ग हिँड्ने अधिकांश यात्रुहरु भने सवारी रोक्ने कुनै एउटा निश्चित ठाउँ बनाएर व्यवस्थित ढंगबाट व्यवस्थापन गरि आन्तरिक पर्यटनसँग जोड्न सकिने बताए । धेरै संख्यामा ऐना संकलन भए त्यसलाई बिक्रि गरेर आम्दानी स्रोत पनि बनाउन सकिने ओखलढुंगाका यात्रु लक्ष्मण पराजुलीले बताए ।

    प्रतिक्रिया दिनुहोस