२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

व्याकुल माइलाको घरजग्गा अब प्रतिष्ठानको नाममा

  • २०७८ चैत्र १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो घर जग्गा ‘व्याकुल माइला प्रतिष्ठान नेपाल’ नामको संस्थालाई हस्तान्तरण गरेका छन् । मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ मा रहेको १४ आना क्षेत्रफलको घरघडेरी माईलाले प्रतिष्ठानलाई स्वामित्त्त हस्तान्तरण गरेका हुन् । उनले गएको माघ २५ गते ‘व्याकुल माइला प्रतिष्ठान, नेपाल’ संस्थाको नाममा नामसारी गरेका थिए ।

    ‘मेरो नामको घरघडेरी पास गरेर दान गरिसकेको छु ।’ सर्जक माईलाले भने, ‘म जन्मेको हिलेपानी गाउँलाई संसारले नै नेपालको राष्ट्रियगान रचनाकार यो ठाउँमा जन्मिएका हो भन्ने चिनुन् भनेर पछि प्राचीन स्मारक बनाउने गरी घर संरक्षण समेत गर्ने सर्तमा दान गरेको हुँ ।’

    उनको यो घर उनका बुवा मानबहादुर राईले वि.सं. २०४० सालमा बनाएका थिए । गाउँघरमा चलेको डिजाइनको घरमा बुइगल समेत गरी ६ कोठा छन् । घरको छानो ढुङ्गाले छाइएको छ । २५ किलोमिटर टाढा केतुके जुरेको ढुङ्गाखानीबाट ढुंगा ल्याएर छाइएको थियो । त्यतिखेर एउटा ढुङ्गाको दश रुपैयाँदेखि साठी रुपैयाँसम्म परेको थियो । भुइँमा दुईवटा र माथ्लो तलामा गरी छ वटा दैला जस्केला छन् । चौध वटा झ्याल छन् । अगाडि र पछाडि गरी तीनवटा बार्दली छन् ।

    ‘इँटा र सिमेन्ट लगाएजस्तै देखिन्छ, कर्मीहरूले ढुङ्गा कुँद्नसम्म कुँदेका थिए । परबाट हेर्दा साँच्चै राम्रो देखिन्छ । दुधकोशी पारि झाप्पा, डुम्रेतिरबाट हेर्ने–देख्नेले प्रशंसा गरेको सुनिन्थ्यो ।’ माईलाले घरको बारेमा भने, ‘यो घरले हाम्रो गाउँको इज्जत बढाओस् भनेर बनाएको हो है भनेर बुवाले भन्नुहुन्थ्यो ।’

    प्रदेश–१ सरकार, भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७८/०८९ मा ‘व्याकुल माइला प्रतिष्ठानको भवन निर्माण’ गर्न बाह्र लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले घर प्रबलिकरण (रेट्रोफिटिङ) हुँदैछ । यो काम सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले गरिरहेको छ । इच्छाकुमार राईको अध्यक्षतामा गठित उपभोक्ता समितिले काम गरिरहेको छ ।
    मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ वडाध्यक्ष हेमराज राईको संयोजनमा अनुगमन समिति गठन भएको छ । घरको प्रबलिकरणका एक करोडको स्टिमेट बनाएको शहरी विकास कार्यालयले जनाएको छ । तर बाँकी बजेट आगामी वर्षमा उपलब्ध हुने भनिएको छ ।

    फाउन्डेशनले सर्जक माईलाको सम्पूर्ण इतिहासलाई जिवित राख्न अहिलेदेखि संरक्षणको काम थाल्ने उद्देश्य लिएको छ । इतिहासको संरक्षण बेलैमा गर्नुपर्छ भन्ने चेतका कारण अहिलेदेखि यो काममा अघि बढेको स्थानीय युवा मन्जित राईले बताए ।

     

    प्रतिक्रिया दिनुहोस