२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

अन्योलमा स्मार्ट सिटी, कंक्रिटले भरिँदै रुम्जाटार

  • २०७८ चैत्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काँचो इँटाले बनेका विशाल घर, ढुंगाको पर्खालले बनेका गल्लीहरू । गुरुङहरूको बाक्लो बस्ती, भेडापालन, बर पीपल चौतारा, पाटी पौवा र मन्दिरहरू । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको यस्ता आफ्नै विशेषता छन् । तर यी विशेषता पछिल्लो समय मासिँदै गएका छन् ।

    २०७२ को भूकम्पपछि कंक्रिटका घर निर्माणले तीव्रता पाएको छ । रुम्जाटारमा दर्जनौंको संख्यामा कंक्रिटका घर निर्माण भइसकेका छन् । सडक निर्माणसँगै गल्लीहरू भत्किन थालेका छन् ।

    बढ्दो बस्ती विस्तारसँगै सुन्तलाका बगैंचा मासिएका छन् । भौगोलिक रूपले सुन्दर र ऐतिहासिक मानिने रुम्जाटारको पहिचानलाई मौलिक रूपमै संरक्षण गर्ने विषय ओझेलमा परेको छ । प्रदेश सरकारले रुम्जाटारलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारणा ल्याए पनि कार्यान्वयन गर्ने चरणमा पुगिसकेको छैन ।

    भइरहेकै संरचनालाई यथावत् राखेर स्मार्ट सिटी बनाउने वा पूरै नयाँ संरचना बनाउने भन्ने अन्योलता छ । विकल्पसहितका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ । ठ्याक्कै कुन मोडलको स्मार्ट सिटी बनाउने भन्ने टुंगो नलागेको सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन् ।

    ‘अहिलेलाई यो छलफलकै विषय बनेको छ, टुंगो लागिसकेको छैन ।’ उपप्रमुख गुरुङले भनिन्, ‘टुंगो लगाएर कार्यान्वयनमा ल्याउन समय लाग्ने देखियो । अर्कोतिर अहिले यी बनिरहेको कंक्रिटका संरचना निर्माणले अर्को चुनौती थपिएको छ ।’ स्मार्ट सिटी निर्माणका लागि लगानी बोर्डले लगानी गर्ने उनले बताइन् ।

    भइरहेकै संरचनालाई यथावत् राखेर स्मार्ट सिटी बनाउने वा पूरै नयाँ संरचना बनाउने भन्ने अन्योलता छ । विकल्पसहितका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको भए पनि कुन मोडलको स्मार्ट सिटी बनाउने भन्ने टुंगो लागेको छैन ।

    स्मार्ट सिटीका विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड छन् । ती मापदण्ड अन्तर्राष्ट्रिय परिस्थिति र भूगोलअनुसार निर्माण गरिएका छन् । शिक्षा, स्वास्थ्य, सडक, पानी, बत्ती, सञ्चारजस्ता अनिवार्य सेवा उपलब्धतासँगै रुम्जाटारलाई स्मार्ट सिटी बनाउने हो भने स्थानीय मौलिकता, पहिचानलाई जगेर्ना गरेर बनाउनुपर्ने सुझाव स्थानीयको छ ।

    ‘सकेसम्म मौलिकतालाई बचाएर स्मार्ट सिटी बनाउन पाए रुम्जाटारको पहिचान नमेटिने र विकास पनि हुन्थ्यो कि जस्तो लाग्छ,’ रुम्जाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण बानियाँले भने, ‘अहिलेका संरचनालाई नष्ट गरेर नयाँ बस्तीको विकास गर्ने हो भने मौलिकता बचाउने चुनौती देखिन्छ ।’

    रुम्जाटारमा मात्रै ४ सयभन्दा बढी घरधुरी छन् । हिन्दु, बौद्ध, किरात, क्रिस्चियन सबै धर्मावलम्बी यहाँ छन् । पछिल्लो समय आसपासका गाउँहरूबाट जग्गा किनेर घर बनाउनेको संख्या बढेको छ । उनीहरूले धेरैजसो पक्की घर बनाउने गरेका छन् । पहिरो, खोलाजस्ता प्राकृतिक प्रकोप नहुने भूगोल भएकोले रुम्जाटारलाई बस्तीयोग्य ठाउँ मानिन्छ ।

    ‘अहिले बनिरहेको कंक्रिटका घरलाई नबनाउन रोक्ने कानुनी आधार छैन । अर्कोतिर स्मार्ट सिटीको अवधारणा राम्रो छ ।’ स्थानीय प्रेम गुरुङले भने, ‘यसैले गर्दा रुम्जाटारको मौलिकता मासिने जोखिम त बढिसक्यो । यसलाई जगेर्ना गर्ने कुरामा गाउँलेको एकमत विचार नहुँदा समस्या छ ।’

    ‘घुमीफिरी रुम्जाटार’ उखानले चर्चित रुम्जाटारको मौलिकता बचाउन सकिने हो भने पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने आधारहरू प्रशस्त छन् । पूर्वकै पुरानो मानिने विमानस्थल यहीँ छ । निर्माणको क्रममा रहेको विशाल गुम्बा छ । खोटाङको हलेसी हुँदै रुम्जाटार र सोलुखुम्बुको पत्तालेसम्म केबलकार निर्माणको चर्चा पनि बेलाबेलामा हुने गरेको छ । कुनै बेला शाहवंशीय राजाहरूको पारिवारिक साइनो जोडिएकाले रुम्जाटार चर्चित थियो ।

    पहिलो गायिका मेलवादेवी गुरुङ, पृृथ्वीनारायण शाहका सेना प्रमुख झागल गुरुङ, जोसमनी धर्मका प्रचारक कवि सन्त ज्ञानदिलदासजस्ता ऐतिहासिक व्यक्तिहरू रुम्जाटारकै हुन् । तर उनीहरूको इतिहास संरक्षण गरी मौलिकता बचाई पर्यटकीय स्थल बनाउने काम हुन नसकेको स्थानीय निर्मला श्रेष्ठले बताइन् ।

    प्रतिक्रिया दिनुहोस