२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नक्कली सभामूखकाे वडाअध्यक्ष बन्ने दाैड

  • २०७९ बैशाख २६, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– मनोनयन दर्ता गर्ने पहिलो दिन वैशाख ११ गते दिउँसो ३ बजे सम्म कल्याण राई आफ्नै काममा व्यस्त थिए । उम्मेद्वार बन्छु भन्ने सोचेका पनि थिएनन् । साँझ पर्दै गएपछि उनको मनमा एकाएक वडाअध्यक्षको उम्मेद्वार बन्ने रहर पलायो ।
    ‘मनमा वडाअध्यक्षको उम्मेद्वार बन्छु भन्ने लागेको १२ घण्टापछि मनोनयन दर्ता गरेँ ।’ कलाकार कल्याण राईले घरदैलो कार्यक्रममा मतदातालाई भोट मागिरहेकै ठाउँमा भने, ‘अहिले सम्झिँदा ढिलो निर्णय गरेछु भन्ने लागेको छ ।’

    ‘सँधै नेताहरुले कलाकारलाई आफ्नो प्रयोग गर्ने पात्रको रुपमा मात्र हेर्दा रहेछन् । कलाकार यही समाजबाट संघर्ष गरेर आएका हुन् । उनीहरुले पनि समाजसेवा गर्छन् भन्ने भावना कसैमा देखिएन । त्यसपछि म आफै किन उम्मेद्वार नबन्ने भनेर वडाअध्यक्षमा मनोनयन दर्ता गरेको हुँ ।’

    सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका कल्याण राई स्थापित कलाकार हुन् । उनी आफूलाई लोकगायको रुपमा चिनाउँछन् । उनको छवि गायक भन्दा बढी कलाकारको रुपमा छ । कुनैबेला ‘मेरी बास्सै’ टेलिसिरियलमा तत्कालीन सभामूख सुवास नेम्बाङको क्यारिकेचर गरेर चिनिएका थिए । उनले दर्जनौं चलचित्र, टेलिसिरियल, म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
    हाल ‘सिंहदरबार’ नामक टेलिसिरियलमा मूख्य सचिवको भूमिकामा छन् । कल्याण अहिले चाहीँ रुम्जाटारमा वडाअध्यक्ष पदका लागि भोट माग्नमा व्यस्त छन् । उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले चुनाव चिन्ह धारा पाए ।

    उमेरले ५३ वसन्त पार गरेका कल्याणलाई कसरी वडाअध्यक्ष बन्ने भूत चढ्यो ? ‘जीवनमा धेरै राजनीतिक दलहरुको कार्यक्रममा गीत गाएर हिँडियो ।’ उनले भने, ‘सँधै नेताहरुले कलाकारलाई आफ्नो प्रयोग गर्ने पात्रको रुपमा मात्र हेर्दा रहेछन् । कलाकार यही समाजबाट संघर्ष गरेर आएका हुन् । उनीहरुले पनि समाजसेवा गर्छन् भन्ने भावना कसैमा देखिएन । त्यसपछि म आफै किन उम्मेद्वार नबन्ने भनेर वडाअध्यक्षमा मनोनयन दर्ता गरेको हुँ ।’

    धेरै कलाकारहरु राष्ट्रिय राजनीतिमा प्रवेश गरेका छन् । तर उनलाई राजनीतिक दलमा तत्काल आबद्ध हुन मन लागेन । ‘हिजो म गीत गाउँदै हिँड्दा साझा थिएँ । सबै दलको कार्यक्रममा हिँडे ।’ उनको तर्क छ, ‘साझा हुनु भनेको स्वतन्त्र हुनु हो । त्यसैले यसपटक स्वतन्त्र भएरै भोट माग्ने हुँ ।’

    सिद्धिचरण नगरपालिकाको ४ नं. वडा रहेको रुम्जाटारमा करिब १ हजार ५ सय मतदाता छन् । चुनाव जित्नका लागि ६ सय जति मत ल्याउनुपर्ने हुन्छ । एमाले, काँग्रेस, एकीकृत समाजवादी, राप्रपा लगायतका पार्टीबाट वडाअध्यक्षको उम्मेद्वारी परेको छ । तर कल्याण राई एक्लै घरघरमा भोट माग्न दौडिरहेका छन् ।

    ‘मतदाताले आश्वासन दिनुभएको छ । जितेँ भने सा“च्चै एउटा कलाकारले पनि समाजका लागि काम गर्न सक्छ । विकास गर्न सक्छ भन्ने देखाउनुछ ।’ उनले भने, ‘सँधै दलहरुको बिचरा पात्रको रुपमा नरहने प्रण गर्दै म राजनीतिमा प्रवेश गरेको हुँ। यो मेरो जीवनको पहिलो परीक्षा हो ।’

    अभिनय र कलाको यात्रामा धेरै नेताहरुको अभिनय गरे । सभामूख सम्म बने । तर असली वडाअध्यक्ष बन्ने दौडमा छन् कल्याण । ‘अभिनय त नक्कली भईगयो ।’ उनले मुसुक्क हाँस्दै भने, ‘सक्कली नेता हुन सजिलो त कहाँ छ र ?’

    प्रतिक्रिया दिनुहोस