२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
नवनिर्वाचित पालिका प्रमुखहरुकाे सपथ ग्रहण

खिजीदेम्वाका शेर्पाले लिए मातृभाषामा सपथ !

  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् ।

    बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दलबहादुर केसीबाट शेर्पाले मातृभाषा ‘शेर्पा’ मा शपथ ग्रहण गरेका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले आज दिउँसो नगरपालिकाका मेयर, उपमेयर लगायत निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरणपछि शपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो ।

    उक्त समारोहमा शेर्पाले मातृभाषामा शपथ लिएको जनता समाजवादी पार्टीका प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले जानकारी दिए ।

    आफ्नै मातृभाषामा शपथ लिने बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अगाडि नै जानकारी गराएर तयारी गरेको रुम्दालीले जानकारी दिए । ओखलढुंगामा मातृभाषामा शपथ लिएको यो नै पहिलो घटना हो ।

    निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन ऐन २०७३ अनुसार शपथ ग्रहण गराउने व्यवस्था छ । शपथ ग्रहणको ढाँचालाई शेर्पा भाषामा उल्था गरेर शेर्पाले वाचन गरेका थिए । मुख्य निर्वाचन अधिकृतले भने नेपाली सम्पर्क भाषामै शपथ गराएका थिए ।

    अध्यक्ष शेर्पाले आफ्नै भाषामा शपथ लिने भएपछि सोही अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि तयारी गरेको थियो । जसपा प्रदेश नं. १ का सदस्य समेत रहेका शेर्पाले कांग्रेसका भूपेन्द्र बहादुर बस्नेतलाई १ सय ३० मतान्तरले पराजित गर्दै खिजीदेम्बाका अध्यक्ष निर्वाचित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस