२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मानसिक समस्या भएर खाेरमा थुनिएकी महिलाकाे उपचारमा समस्या

  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानसिक समस्या भएकी एक महिला २५ वर्ष देखि खोर मै राखिएको पाइएकाे छ । खिजिदेम्बा गाउँपालिका ६ का ४० वर्षिय चित्र कुमारी सुनुवालाई २५ वर्ष देखि खोर मै राखिएको हो ।

    सुनुवारमा १३ वर्षको उमेर देखि मानसिक समस्या देखिएको थियो । शुरुमा उनमा दौडने, भाग्ने, अस्वभाविक हाँस्ने, कसैले भनेको नसुन्ने नमान्ने समस्या देखिएको उनका बुबा सइन्द्र बहादुर सुनुवारले बताए । सुनुवारले छोरीलाई निको पार्न धामी झाँक्री, बाबाजी, सन्यासी सबैलाई झारफुक, ढोलढ्याङ्ग्रो ठटाउँदा पनि कुनै सुधार नआएको बताएका छन् ।

    छोरी निको हुने आशामा धामी झाँक्रीमा मोटो रकम खर्चेको सुनुवारले बताए । थाहा भए र सुनें जति सबै ठाउँको धामीलाई झारफुक गर्न लगाउँदा पनि ठिक नभए पछि उपचारको लागि मिसन अस्पतालमा लगिएको उनले सुनाए । उनले अस्पतालले दिएको औषधीले पनि ठिक नभएको बताउँदै कुनै उपाय नलागेर बिरामी छोरीलाई यसरी खोरमा राख्न बाध्य भएको बताए ।

    त्यसरी बिरामी परेको छोरीले दिशापिसाब जताततै गर्दा फोहोर भएकोले छुट्टै खोरमा राख्न परेको उनकी आमा विष्णु माया सुनुवारले बताईन । आमाका अनुसार सँगैराख्दा फोहोर दुर्गन्ध हुने र घरमा पाहुनाहरु आउँदा असहज हुने भएकाले छोरीलाई छुट्याएर राख्न परेको हो । मानसिक समस्याले ग्रसित बनेकी सुनुवारलाई घरसँगै जोडिएको पछाडि पट्टि सानो खोरमा राखिएको छ ।

    उनको हेरचाह आमाले नै गर्दै आएकी छिन । छोरी कै हेरचाहको लागि गाउँघरमा हुने सामाजिक कार्यहरुमा घर पाएक पर्ने बाहेकका ठाउँहरुमा सहभागी नहुने गरेको आमाले बताइन । आफ्नो मृत्यु पछि भने छोरीको विजोग हुने चिन्ताले सताउने गरेको भन्दै ६७ वर्ष पुगेकी आमाले रुदैं दुःख पोखिन् ।

    सुनुवारको परिवारलाई परामर्श गरी सरसफाईमा परिवर्तन ल्याएको ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सिविआर कार्यक्रमका सहजकर्ता ख्याम बरालले बताए । सिबिआरका कर्मचारीहरुले परामर्श गरेरै उनी बस्ने ठाउँको कुखुराको खोर हटाउन लगाएको सहजकर्ता बरालले बताए ।

    विरामी महिलाकाे उपचारका लागि स्थानीय सरकार र सराेकारवाला निकायले चासाे दिनु पर्नेमा नागरिक समाजका प्रतिनिधीहरुले माग गरेका छन् ।

    साभार:  आफ्नाे एफएम/ विनुमाया राई

    प्रतिक्रिया दिनुहोस