२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

दिलमाया सुनारको हत्या भएको प्रहरीकाे निष्कर्ष, के छन् प्रमाण

  • २०७९ श्रावण ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाण्डाै‌ं-  गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।

    वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिल बहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरेको छ।

    असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत फेला परेकी थिइन्। त्यसको भोलिपल्ट प्रहरीले त्यस रात सँगै बसेका दिलमायाका प्रेमी भनिएका सूर्यलाई पक्राउ गरेको थियो।

    सूर्यले दिलमाया झुन्डिएर आत्महत्या गरेको भने पनि उनले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

    हत्याको निष्कर्षमा पुग्ने प्रमाण यस्ता !

    दिलमायालाई सूर्यले पहिले देखिनै शारीरिक तथा मानसिक यातना दिने गरेको खुलेको छ। उनीहरुबीच अवैध सम्बन्ध समेत रहेको पाइएको छ। घटना भएको राति मादक पदार्थ सेवन गरी उनी दिलमायाको कोठामा नै थिए।

    मृतकको पाखुरा, खुट्टा समेतमा ताजा चोटपटकहरू देखिएको थियो। झुण्डिएको अवस्थामा लास थिएन। घटनास्थलमा निज दिलमायाले पासो लगाई आत्महत्या गरेको जस्तो कुनै पनि स्थान, वस्तु फेला परेको थिएन।

    राती सुत्ने बेलामा दिलमायाले मोबाइल चलाइरहेको भन्ने सूर्यले पनि बताएका थिए। उनीहरु दुवै जनाको मोवाइल लोकेसन पनि घटनास्थलमा देखिएको थियो।

    घटना भइसकेपछि उनी त्यहाँबाट भाग्नु र कसैलाई खबर गरेका थिएनन्। घटनामा प्रयोग भएको सल महाराजगन्जमा फालेका थिए।

    यस्तै दिलमायाले आफै आत्महत्या गरेको भन्ने भ्रममा पार्न फेसबुकमा स्टाटस पोष्ट गरी मोवाईल तथा फोटो एल्बममा भएका संयुक्त फोटोहरु समेत लिई प्रमाण नष्ट गरेको, प्रतिवादी र मृतकको संयुक्त फोटो च्याती आफ्नो फोटो लिई मृतकको फोटो सोही स्थानमा नै फाली भागेको पुष्टि भएको छ। –नेपाल खबर डटकम

    प्रतिक्रिया दिनुहोस