२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

खाेटाङ भूकम्प: कहाँ कहाँ कति भयाे क्षति ? (क्षति विवरणसहित)

  • २०७९ श्रावण १५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- खोटाङको मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर आइतबार विहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको छ । पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा ४ घर भत्किएका छन् भने दुई दर्जन बढी घरहरुमा क्षेति पुगेको बताइएको छ ।

    आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका ५, मात्तिम विर्तालाई केन्द्र बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले खोटाङ र ओखलढुंगा र भोजपुरका विभिन्न स्थानमा सामान्य क्षति भएको छ ।

    भूकम्पको केन्द्रमा दुई घर भत्किएका छन् । दुई दर्जन बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएस्पी उमेश लम्सालले बताए । उनले भने, ‘दुई दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ, कति घरका छानाका टायल खसेका छन् कतिका गाह्रो चर्केर क्षति भएको छ । मानवीय र पशुधन क्षति नभएको लम्सालको भनाइ छ ।

    त्यस्तै ओखलढुंगामा भूकम्पको ठूलै धक्का महशुस भएपनि पनि एक घरमा मात्र क्षति पुगेको छ । चिशंखुगढी वडा नं. २ मा पुरानो एक घर भत्किएको प्रहरीले जनाएको छ । ओखलढुंगाका डिएस्पी सुकदेव खनालले एक घरको गाह्रो भत्केको अन्य विवरण हालसम्म अध्यावधिक नभएको बताए ।

    भोजपूरमा पनि भुकम्पका कारणले सामान्य क्षति देखिएको छ । भोजपुर नगरपालिका १२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ । उक्त घरमा मानिसको बसोबास हाल नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताए ।

    भूकम्पको धक्का छोटो समय महसुस भएकाले क्षति कम भएको स्थानीयको भनाइ छ । पहाडी जिल्लाका सुरक्षा प्रमुखहरुले क्षतिको विवरण यकीन गर्ने काम भइरहेको र सबैलाई सुरक्षित रुपमा बस्न आग्रह गरेका छन् ।

    विगतका भूकम्पले धेरै क्षति पुगेकाले नागरिकमा धेरै सचेतना आएको भए पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले सधैं सतर्क नै रहनुपर्ने ओखलढुंगा क्याम्पसका समाजशास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले बताए ।

    जिल्लाबासीलाई भूकम्पबाट हुने जोखिमबारे सतर्क रहन जिल्ला प्रहरी तथा प्रशासन कार्यालयले अपिल समेत गरेका छन् । मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पूर्वी पहाडका सबै जिल्लाहरुमा तराईका जिल्लाभन्दा बढी धक्का महशुस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस