२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

न्याय निरुपणमा पेचिलो बन्दै जर्बजस्ती करणी मुद्दा

अभियाेग प्रमाणित गर्न चुनाैति

  • २०७९ श्रावण २१, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका १२ का एक विवाहित पुरुष र एक युवतीले सहमतिमै शारिरिक सम्बन्ध राखे । युवती दुई जिउकी भइन् । पुरुषले गर्भ नस्विकारेपछि युवतीले जर्बजस्ती करणीमा मुद्दा दर्ता गरिन् । पुरुष पक्राउ परे ।

    मुद्दा चलेर पूर्पक्षका लागि पुरुषलाई कारागार पठाइसकेपछि युवतीले बयान फेरिन् । जर्बजस्ती नभएर सहमतिमै हो भनेपछि आरोपित छुटे । युवती ‘होस्टाइल’ हुनुको पछाडी आर्थिक, पारिवारिक कारण जोडियो ।

    मानेभन्ज्याङ गाउँपालिकाकी एक महिला र तराईमूलका पुरुषले सहमतिमा शारिरिक सम्बन्ध राखे । शुरुमा पीडित भनिएकी महिला श्रीमानसँग सम्बन्ध विच्छेद गरेर बसेकी हुन् । तर ति महिलाले जर्बजस्ती करणी गरेको आरोपमा उजुरी गरिन् । पुरुष पक्राउ परे । महिलाले केही महिनापछि पुनः बयान फेरिन् । आफूहरु बिचमा सहमतिमै सम्बन्ध राखेको बयान दिएपछि आरोपितले अदालतबाट सफाई पाए ।

    यी दुई प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय जिल्लामा जर्बजस्ती करणीको घटना धेरै देखिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला अदालतमा दर्ता भएको १ सय ३६ वटा सरकारवादी फौजदारी मुद्दा मध्ये ७८ वटा मुद्दा जर्बजस्ती करणीकै छन् । जुन सरकारवादी फौजदारी अन्र्तगतको कूल मुद्दाको ५७.३५ प्रतिशत हो ।
    पछिल्लो समय पहाडी जिल्लामा जर्बजस्ती करणीको मुद्दा दर्ता हुनुमा सहमतिमा सम्बन्ध राख्ने तर कोही कसैले देखेमा, उनीहरु विचमा विवाद भएमा उजुरीको रुपमा जाने गरेको धेरै देखिएका छन् । वयस्क महिलाहरु पीडित भएको घटनामा धेरैजसो सहमतिमै सम्बन्ध राखेको तथ्यहरुले पुष्टि गरेको छ ।

    ‘शुरुमा उनीहरु बिचमा सहमतिमै सम्बन्ध रहँदै आएको हुन्छ ’ जिल्ला बार इकाईका अध्यक्ष टुकराज निरौलाले भने, ‘जब उनीहरुको त्यो सम्बन्ध छिमेकी, परिवारका सदस्य वा कसैले थाहा पाउँछ अनि त्यसपछि जर्बजस्ती करणीको मुद्दाको रुपमा उजुरी ल्याउने गरेको देखिन्छ ।’

    मुद्दाको रुपमा अदालत गईसकेपछि फेरी परिवार, समाज, छिमेकी सबैले मिलाउने प्रयत्न गर्छन् । त्यसपछि पीडितले बयान फेर्ने गरेको कानुन व्यवसायीहर बताउँछन् । पीडित भनिएका महिलाहरु होस्टाईल हुनुका पछाडी कतिपयले आर्थिक लेनदेन गर्ने गरेका छन् ।

    ‘जर्बजस्ती करणी भनेर उजुरी आएको हुन्छ । तर एउटा वयस्क महिलाले करणी भएको अवस्थामा कुनै प्रतिवाद, प्रतिरोध गरेको देखिदैन’ जिल्ला सह न्यायधिवक्ता रविन सापकोटाले भने, ‘अनि करणी पुष्टि हुने अन्य आधार नभएपछि आरोपितलाई अदालतले सफाई दिन्छ ।’

    गत वर्षका दुईवटा जर्बजस्ती करणीको मुद्दामा घटना पुष्टि हुन नसकेपछि आरोपितले सफाई पाएका छन् । ‘जर्बजस्ती करणी भनेर उजुरी आएको हुन्छ । तर एउटा वयस्क महिलाले करणी भएको अवस्थामा कुनै प्रतिवाद, प्रतिरोध गरेको देखिदैन’ जिल्ला सह न्यायधिवक्ता रविन सापकोटाले भने, ‘अनि करणी पुष्टि हुने अन्य आधार नभएपछि आरोपितलाई अदालतले सफाई दिन्छ ।’

    सह न्यायधिवक्ता सापकोटाले वयस्क र नाबालिका दुवै वादी भएको जर्बजस्ती करणीका घटनामा ६० देखि ७० प्रतिशत वादीहरु होस्टाईल हुने गरेको बताए । बाल यौन दुरुपयोगमा मात्र होस्टाइल नहुने गरेको उनले बताए ।

    हालै मात्र चारजना पुरुषले छुट्टा छुट्टै समय र स्थानमा एक १३ वर्षिया नाबालिकाई जर्बजस्ती करणी गरेको मुद्दामा वादी होस्टाईल नहोस् भनी अदालत र सरकारी वकिलले अभियोजन दर्ताकै दिन वादीको बकपत्र गराएको छ । पछि नाबालिकालाई ल्याउँदा होस्टाईल हुने डर बढेपछि अभियोजनकै दिन जिल्लामै पहिलो पटक बकपत्र गराइएको सापकोटाले बताए ।

    जिल्ला अदालतका न्यायधिश दलबहादुर केसी (भर्खरै सरुवा भएका)ले जर्बजस्ती करणीको घटना बढ्नुमा कानुनी ज्ञानको मात्र कमी नभएर अन्य सचेतना समेत नभएको बताए । ‘कानुनी ज्ञान, प्रजनन स्वास्थ्य र परिवार नियोजनका साधन सम्बन्धी ज्ञान, इन्टरनेट प्रविधिको सुविधाका दुरुपयोग सबै जोडिएको छ ।’ न्यायधिश केसीले भने, ‘सहमतिमै भएका सम्बन्धको हकमा पनि वादी नाबालिका भएको लगायतका घटनामा हामीले कानुन बमोजिम फैसला गर्नुपर्ने हुँदा कतिपय सजाय भोगिरहेका छन् ।’

    जिल्ला अदालतमा फैसला भएका जर्बजस्ती करणी मध्ये १० प्रतिशत मुद्दामा आरोपितले सफाई पाएका छन् । त्यसमध्ये केही घटना प्रमाणित नभएको र केहीमा वादी होस्टाईल भएको कारण देखिन्छ । कानुन व्यवसायी लगायतका सरोकारवालाहरु जर्बजस्ती करणीका कानुन व्यवहारिक नभएकोले पहाडी जिल्लामा यसको संख्या बढेको बताउँछन् ।

    सामाजिक सञ्जालको प्रयोग, इन्टरनेटमा अश्लील सामाग्री हेर्न चलन, वैदेशिक रोजगारी लगायतका कारण जोडिएको उनीहरुको भनाई छ । त्यसैगरि विद्यालयको पाठ्यसामाग्रीमा कानुनी शिक्षा नराखिनु लगायतका विषय छन् ।

    सम्बन्धविच्छेद पनि उस्तै

    बढ्दो सामाजिक विचलनसँगै सम्बन्ध विच्छेद समेत बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला अदालतमा दर्ता भएको कूल देवानी मुद्दा मध्ये ५३ प्रतिशत सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ ।

    कूल २ सय ६८ देवानी मुद्दा मध्ये १ सय ४१ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको हो । धेरैजसो कारण वैदेशिक रोजगारी जोडिएको देखिन्छ । कुनै पनि श्रीमान श्रीमती बिचमा सम्बन्ध अलिकति बिग्रियो भने परिवार, समाज जो कोहीले मिल्नु भन्दा छुट्याउने प्रयत्न बढी गरिने देखिएको जिल्ला न्यायधिश दलबहादुर केसीले बताए ।

    प्रतिक्रिया दिनुहोस