२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भाइरल ज्वरोको बिरामी बढेपछि लिखु गाउँपालिकाका विद्यालय बन्द

  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– लिखु गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा भाईरल ज्वरोको प्रकोप बढेपछि पालिकाले ४ दिनका लागि सबै विद्यालय बन्द गरेको छ । सोमबार सूचना जारी गर्दै पालिकाले विद्यालय बन्द रहने जानकारी गराएको हो ।

    नियमित पठनपाठन सञ्चालन गर्न नै कठिन भएपछि बन्द गराउनुपरेको लिखु गाउँपालिकाले जनाएको छ । भदौ ५ गतेदेखि ५ वर्ष पुरा भई १२ वर्ष ननाघेका विद्यार्थीहरुलाई कोभिड विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम रहेको समेत पालिकाले जनाएको छ । सो खोप कार्यक्रम समेत बालबालिका बिरामी भई प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काललाई बन्द गरिएको शिक्षा शाखा प्रमूख रचना मैनालीले बताइन् ।

    लिखु गाउँपालिकामा सामुदायिक २२ र एक संस्थागत गरि २३ विद्यालय छन् । त्यसमध्ये ४, ५, ६, ७, ८ र ९ नं. वडाका सबै विद्यालयहरुमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक दुवै भाईरल ज्वरोले थलिएका छन् । बाँकी वडामा पनि ज्वरोको बिरामी बढेका छन् । लिखु ८ टारकेराबारीको जाल्पा माध्यमिक विद्यालयका सयौं विद्यार्थी ज्वरोले बिरामी भएपछि केही दिनअघि देखि नै विद्यालय बन्द भएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले भाइरल ज्वरो र कोरोनाको लक्षण मिल्दोजुल्दो भएकोले बढी समस्या भएको क्षेत्रमा कोरोना परिक्षणको तयारी भईरहेको बताए । ५ देखि १२ वर्ष उमेरसमूहका बालबालिकालाई अहिले सम्म कोरोना विरुद्धको खोप नदिएको कारण त्यही समूहका बालबालिका बढी बिरामी देखिएको उनले बताए । त्यसैले भदौ ५ देखि खोप दिने र परिक्षणमा कोरोना देखिएमा त्यही अनुसार सतर्कता बढाईने पन्तले बताए ।

    प्रतिक्रिया दिनुहोस