२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुंगामा मुक्ति सेनाको पहिलो आक्रमण ………

  • २०७९ आश्विन ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • …..मुगाधनले अगाडि नै चारजना सेना र दुई नाल भरुवा बन्दुकसहित गुप्तचर रम्बुवा पुलमा पठाएका थिए । उनीहरूलाई राणाका सेनाले कब्जा गर्छन् भन्ने थाहा थियो । त्यहीअनुसार सजग बनाएर पठाएका थिए । उनीहरूलाई मुगाधनले यदि राणा फौज भेटिएमा ओखलढुंगा बडाहाकिमको आदेशअनुसार जाँदै छौं भन्न लगाएका थिए । त्यसको केही समयपछि मुगाधन राई आफैं पुलमा पुगे ।

    रम्बुवामा राणा फौजको कब्जामा परेकामध्ये एकजना भागेर आइसकेका थिए । उनले राणा फौजसँग मेसिनगन, ब्रिङ्गन, थ्रिन्चमटर भएको कमान्डर मुगाधन राईलाई सुनाए । कठिन परिस्थितिमा उनले निकालेको कूटनीतिक उपाय लागू गरे । उनले एउटा पहाडे कागजमा ओखलढुंगा गोश्वाराबाट बडाहाकिमले जारी गरेको पत्रको व्यहोरा लेखे ।

    आलुको छाप काटी छाप लगाए । पत्रमा जिल्ला तालुक, मुल्की, रैती र भूतपूर्व सैनिक सबैले आ-आफ्नो जिम्मामा रहेका हातहतियार सात दिनभित्रमा बुझाउन ल्याउनू भनेर लेखेका थिए । मुगाधन आफैंले राणा फौजका अघिल्तिर उभिएर सो पत्र पढेर सुनाए । ‘प्रत्येक गाउँ-गाउँ र थुमथुमका राई, थरी, पगरी, जिम्मावालहरू सबैले आफ्नो मौजाभित्रका हातहतियार बन्दुक, भाला, खुकुरी, कट्टी, तरवार सबै यस अड्डामा बुझाउनू । यदि नबुझाए सर्वस्वसहित देशनिकाला गरिनेछ’ भन्ने पत्र पढेर सुनाए ।

    कांग्रेस सभापति गिरिजाप्रसाद काेइरालासँग मुगाधन राई ।

    मुक्तिसेनाको टोली कमान्डरले यो पत्र पढेर सुनाई राणा फौजको कप्तानलाई देखाउँदा पनि छाड्न मानेनन् । मुक्तिसेनाको जवानहरूलाई राणा फौजले कैद गर्ने विचार व्यक्त गरे । त्यसपछि मुगाधन राईले फेरि ‘तपाईंंहरू को हो चिन्न सकिएन, यो मेरो फौज ओखलढुंगा बडाहाकिमको आदेशअनुसार जान लागेको हो । यदि कुनै अवरोध भएमा हामी बल प्रयोग गर्न पनि तयार छौं’ भने । त्यसपछि उनीहरूले विश्वास गरे र बाटो छाडे ।

    माल कार्यालयको आँगनमा उक्लिएर लाँकुरीको बोटमा छलिँदै मुगाधन राईले ‘श्री ५ को जय । श्री ५ त्रिभुवन जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद’ भने । राणा फौजले चारैतिरबाट गोली बर्साउन थाल्यो ।

    मुक्तिसेना रम्बुवा पुल तरेपछि ठोट्नेखोला भएर ओखलढुंगातर्फ लागे । उनीहरू कटिसकेपछि राणा फौजले पुलमा भेटिएका व्यक्तिहरू कांग्रेसको मुक्तिसेना भएको जानकारी पाए । राणा फौजहरू अर्को बाटोबाट उनीहरूलाई उछिनेर रुम्जाटार हुँदै भोलिपल्ट खबरसहित ओखलढुंगा पुगे । टुँडिखेल पुगेर उनीहरूले सबै अड्डाको सुरक्षा दिइसकेका थिए । ओखलढुंगा पुग्नुअघि मुक्तिसेनाले राणा फौजतर्फबाट भएको सम्पूणर् तयारीबारे जानकारी पाइसकेको थियो ।

    टुँडिखेल पश्चिममा एउटा ठूलो लाँकुरीको रुख थियो । यो सबै जानकारी मुगाधन राईलाई पहिल्यै थियो । किनभने उनका काका जिम्मावाल थिए । उनले काकाले गर्ने जिम्मावालको धेरै काम गर्दा त्यतिखेरको सदरमुकाम ओखलढुंगा माल पुगेका थिए । त्यस भेगबारे उनलाई राम्रो जानकारी थियो ।

    उनीहरू निकै होसियारसाथ गोरुमारेभन्ज्याङबाट बारुदखानाखोला (हाल चन्दने) भएर हाट लाग्ने ठाउँ हुँदै टुँडिखेलको डिल पुग्ने योजना अनुसार अगाडि बढे । टुँडिखेलमुनि निकै ठूलो कान्ला र घना जंगल थियो । उनीहरू राति १० बजेतिर जंगलभित्र पसे । माथि टुँडिखेलमा सेन्ट्रीहरू खबरदार भन्दै घुमिरहेका थिए । उनीहरू घस्रिँदै जंगलको पश्चिमतिरबाट उकालो लागे । राति १२ बजेपछि सेन्ट्रीहरूको आवाज अलि कम हुँदै गयो । विसं २००७ साल पुस ३ गते राति एक बजेतिर मुक्तिसेना माल अगाडि पुगे । लाँकुरीको रुखछेउमा पुगेपछि मुगाधन राईले आफ्ना साथीहरूलाई सतर्क गराए ।

    कांग्रेस नेता बलबहादुर राईसँग मुगाधन राई ।

    माल अगाडि पुग्दा राणापक्षका सेनाहरू सतर्क भएर बसेका थिए । पातपतिंगरको आवाज सुन्दा कुकुर, स्याल हिँडेको होला भन्ने अनुमान राणा फौजको थियो । राणा फौजले परिस्थिति विश्लेषण गर्न सकेका थिएनन् । मुक्तिसेनाले त्यो कुरा अनुमान गरिसकेका थिए । माल कार्यालयको आँगनमा उक्लिएर लाँकुरीको बोटमा छलिँदै मुगाधन राईले ‘श्री ५ को जय । श्री ५ त्रिभुवन जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद’ भने । राणा फौजले चारैतिरबाट गोली बर्साउन थाल्यो ।

    उनलाई लाँकुरीको बोटले राम्रोसँग सुरक्षा दिइरहेको थियो । गोली बर्सिन रोकिएपछि उनले हामी नेपाली दाजुभाइ एउटै हौं, आज नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको क्रान्तिलाई अगाडि बढाउन यो ठाउँ कब्जा गर्न आएका छौं । हाम्रा सेनाले चारैतिरबाट घेरा हालिसकेको छ । तपाईंंहरू हात उठाउनूस् । मारामार नगरौँ । अब भनेको मानेनौ भने हाम्रो पालो है त भन्दै चारैतिरबाट एकैपटक गोली हान्ने आदेश दिएजस्तो गरे । राणाफौजबाट फेरि गोली बर्सिन थाल्यो ।

    एकोहोरो गोली बर्सिएको करिब डेढ घन्टाजति भइसकेपछि केही साम्य भयो । मुगाधन राईसँग एउटा राइफलमात्र भएकाले राम्रो अवसर पर्खेर बसेका थिए । उताबाट यत्तिका बेर चलेको गोलीले मुक्तिसेनालाई खासै असर परेको थिएन । मुगाधनसँग १० राउन्ड गोली थियो । तर, सबैभन्दा अघि राणा फौजको गोली सकियोस् भन्ने उनको उद्देश्य थियो ।

                              (कुम्भराज राईको पुस्तक ओखलढुंगाः तथ्य र इतिहास को अंश । राईको पुस्तक शनिबार विमोचन हुँदैछ )

    प्रतिक्रिया दिनुहोस