२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्री स्वराेजगार: मजदुरकाे पैसा बिचाैलियासँग मिलेर हिनामिना

  • ,
  • २०७९ आश्विन ९, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ३ मा बेरोजगार सूचीमा ६४ जना सूचीकृत छन् । उनीहरुमध्ये केही गाउँमा छन् । केही गाउँ बाहिर । दुई महिनाअघि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत नगरपालिकाले १० लाख बजेट विनियोजन गर्‍यो । आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भएपछि गाउँका दुई दर्जन मान्छे लगाएर कूलो मर्मत र बाटो सुधारको काम गरियो ।

    काम गर्नेहरु धेरैजसो बेरोजगार सूचीमा सूचीकृत थिएनन् । काम गरेको पैसा चाहीँअन्तमा सूचीकृत व्यक्तिहरुको खातामा नगरपालिकाले निकासा गर्‍यो । निकासा रकम पनि बिचौलियाले झिकेर खाईदिए । योजना संचालनको अगुवाइ गरेका सात जनाले स्वरोजगार अन्तर्गतको ५ लाख ७७ हजार १ सय ३२ रुपैंया हिनामिना गरे ।

    हिनामिना गर्नेमा पूर्व वडासदस्यद्वय नरबहादुर राई र शिवप्रसाद बानियाको समेत संलग्नता देखिएको छ । उनीहरुसँगै झनक राई, शंकर दर्जी, दिपक दाहाल, प्रविस राई, घनश्याम गुरुङ लगायत छन् ।

    काम गराउने नाईके बनेर बिचौलियाले बेरोजगार सूचीमा सूचीकृतको खाताबाट पैसा निकाल्न लगाई आफैले चलाएका हुन् । पूर्व वडा सदस्य नरबहादुर राईले १९ जनाले पाउनुपर्ने दुई लाख चार हजार एक सय ८२ रुपैंया हिनामिना गरेको पीडितहरुको दाबी छ । काम नगरेका तर बेरोजगारको सूचीमा सूचीकृत केही व्यक्तिको खाताबाट ८२ हजार ६४ रुपैंया पैसा निकाल्न बाँकी छ । उनीहरुले आफ्नो खाताबाट पैसा झिकेर फिर्ता नदिने बताएका छन् ।

    स्वरोजगार सूचीमा सूचीकृत नभएकालाई काम लगाउँदै, सूचीकृतको नागरिकताको प्रतिलिपी जम्मा गरि बिचौलियाहरुले स्वरोजगार अन्तर्गतको योजना फरफाराक गरेका हुन् । वडाका जनप्रतिनिधिको समेत लापार्वाही भएको पीडितहरुको गुनासो छ । ‘तिमिहरुको नाम बेरोजगारको सूचीमा सूचीकृत छैन ।

    काम गर्न पाउँदैनौ भनेर वडाले पूर्व जानकारी गराएन । हामीलाई काम गरेको पैसा पाउँछौ भनेर काम लगाइयो ।’ पीडित मध्येकी एक महिलाले भनिन्, ‘अहिले हामीले काम गरिसकेपछि पाउ“दैनौ भनेर पैसा पाएका छैनौं । अब यसको जिम्मा वडाले लिने कि नलिने ?’

    पाँच दिन काम गरेको पैसा नपाएकी मंगलशोभा राईले गरिबहरुको पसिना बिचौलियाले खानु नहुने बताइन् । वडाअध्यक्ष सिताराम दाहालले कामै नगरेका तर बेरोजगारको सूचीमा नाम सूचीकृत भएकाहरुको खाताबाट पैसा निकाल्न लगाई अपचलन गरेका नाईके (बिचौलिया) हरुबाट पैसा फिर्ता लिन पहल गरिरहेको बताए ।

    ‘नाइकेहरुले पैसा निकालेर काम गर्नेलाई नदिएको स्वीकारेका छन् ।’ अध्यक्ष दाहालले भने, ‘उनीहरुले त्यो पैसा फिर्ता दिनुपर्छ । दिन्छौं भनेका छन् । वडाले पहल गरिरहेको छ ।’

    शुरुमा दश लाखको काम भनिएपनि पछि प्राविधिक मूल्यांकन गर्दा सांढे छ लाखको मात्र काम भएको देखिएको थियो । नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार शाखाले भने वडाबाटै बेरोजगार सूचीमा सूचीकृतहरुले काम गरेको भनेर प्रमाणित गरि सिफारिश गरेको आधारमा मात्र पैसा निकासा हुने जनाएको छ ।

    ‘वडाले प्रमाणित गरेर कागज पठाएपछि हामीले पैसा निकासा गर्छौं ।’ स्वरोजगार शाखाका सह-संयोजक इश्वर दाहालले भने, ‘त्यो काम वडाबाटै गलत भएर आएकोले विवाद भएको हो ।’

    प्रतिक्रिया दिनुहोस