२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पाँच महिने बच्चा बाेकेर भाेट माग्दै स्वतन्त्रकी शाेभा !

  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ठूला राजनीतिक दलहरु निकै तामझाम सहित मतदातामाझ पुग्न थालेका छन् । सवारी साधन, अघिपछि हिड्ने दजर्नाैं कार्यकर्ता फुलमाला गरेर नेता तथा उम्मेदवारहरुको चुनाव प्रचार शुरु भइसकेको छ ।

    निर्वाचन आयोगले चुनाव प्रचारको अवधि तोकि दिएकाले अहिले दलहरु विभिन्न सामाजिक संस्थाका नाममा खेलकुद, देउसी भैलो र शुभकामना आदान प्रदानको बहानामा चुनावी प्रचार गरिरहेका छन् ।

    साना दलहरुका उम्मेदवार जिल्लामा भेटिनै मुस्किल भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट संघीय प्रतिनिधि सभाको उम्मेदवार बनेकी शोभा कार्की भने पाँच महिनाको बच्चा बोकेर परिवार र आफन्तसहित मत माग्न थालेकी छन् ।

    समाज रुपान्तरणको हुटहुटी, सुशासनको मुद्दाले छोएर रवि लामिछाने नेतृत्वको पार्टीको सदस्य भएर राजनीतिमा आएको उनले बताइन् । उनलाई आफन्त र श्रीमान्ले समेत चुनाव प्रचार प्रसारका काममा साथ दिएका छन् । कार्कीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर आफ्ना अवधारणा र एजेण्डा समेत सार्वजनिक गरिन् ।

    पत्रकार सम्मेलनमा उनले भनिन् ‘नेताहरु सिजनरी होइन भिजनरी हुनुपर्छ, कार्यकर्तालाई झोले बनाउने, बेरोजगार बनउने होइन, सीप र क्षमता विकास गरेर श्रम र रोजगारसँग जोडेर आत्मनिर्भर बनाउने नीति ल्याउन मेरो उम्मेदवारी हो ।’

    उनले आफु निर्वाचित भएमा राजनीतिलाई पारदर्शी र समाजसेवाका रुपमा अघि बढाउने बताइन् । अहिले राजनीतिलाई पुराना दल र नेताहरुले अपारदर्शी व्यवसायका रुपमा अघि बढाएको आरोप लागाइन् । जिल्लाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र उद्योगको स्थानीय अवधारणा र त्यसको विकासका लागि जनमुखी नीति ल्याउने उनको भनाइ छ ।

    बर्षीया कार्की आफैं पनि व्यवसायी हुन् । उनको परिवारले महाकाली सोपान केमिकल उद्योग र थापा बेवी फुड इण्डष्ट्रिज सञ्चालन गरिरहेका छन् ।

    श्रम र रोजगारमा युवाहरुलाई जोड्ने, स्थानीय सरकारलाई जनतामुखी बनाउने गरि नीति ल्याउने, युवाहरुलाई रोजगारी दिने उनका मुख्य एजेण्डा हुन् । उनको माइति मोलुङ २ लामीडाँडा हो भने घर चम्पादेवी गाउँपालिकाको फुलबारीमा पर्छ ।

    प्रतिक्रिया दिनुहोस