२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

चिर्पटले हानेर श्रीमतिकाे हत्या गर्ने रामबहादुर पक्राउ

  • २०७९ कार्तिक १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका घर भई जिल्लाको सिद्धिचरण नगरपालिका ११ बस्दै आएका ६१ बर्षिय रामबहादुर राई रहेका छन । राईलाई आफ्नै अन्दाजी ३३ बर्षिया श्रीमती कल्पना खड्का (राई) को हत्या गरेको अभियोग छ ।

    स्थायी ठेगाना सोलुखुम्बु भएका राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बाट आएर  ३ बर्षदेखी सिद्धिचरण नगरपालिका ११ सोब्रुस्थित एक स्थानीयको बारीमा घर टहरा बनाई बसोबास गर्दै आएका थिए । शुक्रबार साँझ करिब साँढे ६ बजेतिर घरमै श्रीमान श्रीमती बिच आन्तरीक विवाद हुँदा उनले हत्या गरेका हुन् ।

    विवादकै क्रममा मापसे गरेका अभियुक्त राईले श्रीमतीलाई दाउराको चिर्पटले टाउको तथा शरिरका अन्य भागमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे शनिबार विहान मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले निज राईलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

    अभियुक्त राईले घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेको अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस