२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

ओखलढुंगाबाट प्रदेशसभामा कसले मार्लान् बाजी ?

  • २०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– एमालेका प्रदेशस्तरीय नेता अम्बिरबाबु गुरुङ प्रतिनिधिसभाको टिकटका आकांक्षी थिए । प्रदेश १ मा तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा भौतिक पूर्वाधार मन्त्री भएका गुरुङले प्रतिनिधिसभाको टिकट ल्याउने अनुमान गरिएको थियो । उनी एमाले उपाध्यक्ष इश्वर पोख्रेल र नेता शेरधन राई निकट हुन् । तर उनले प्रतिनिधिसभाको टिकट पाएनन् । पुन: प्रदेशसभा ‘१’ को चुनावी मैदानमा छन् ।

    काँग्रेसका केन्द्रिय सदस्य प्रदीपकुमार सुनुवार पनि प्रतिनिधिसभाको उम्मेद्वारका आकांक्षी थिए । शेरबहादुर देउवा निकट सुनुवारले टिकट ल्याउने आशा कार्यकर्ताको थियो । अन्तिम समयमा उनलाई प्रदेशसभा ‘१’ को टिकट थमाइयो । काँग्रेसको दुईपटक जिल्ला सभापति भईसकेका सुनुवार सत्तारुढ गठबन्धनको उम्मेद्वार बनेर मैदानमा उत्रिएका छन् । एमालेका अम्बिरबाबु गुरुङसँग सुनुवारको प्रतिस्पर्धा हुँदैछ ।

    सुनुवार र गुरुङ दुवैको आ–आफ्नै प्रभाव कार्यकर्ता तहमा छ । गुरुङले आफ्नो कार्यकालमा धेरै बजेट ल्याएको भनी चर्चामा छन् । सुनुवार हालसम्म परिक्षण नभएको हक्की नेताको रुपमा चिनिन्छन् । उनलाई गठबन्धनको सरकार गठन भएमा मूख्यमन्त्रीको दाबेदार मानिएको छ । २०५४ सालमा खिजिफलांटेको गाविस अध्यक्ष हुँदै तल्लो तहदेखि संगठन गर्दै आएका सुनुवार भूगोलको राजनीतिमा परिचित छन् । गुरुङ राजनीतिमा लामो समयदेखि आबद्ध भएपनि भूगोलमा २०७४ को चुनावपछि मात्र देखिएका हुन् ।

    विभिन्न पेशा र व्यवसायमा संलग्न गुरुङ आर्थिक रुपले सम्पन्न मानिन्छन् । अघिल्लो निर्वाचनमा उनले आर्थिक प्रभाव पारेको आरोप थियो । सुनुवार उनको तुलनामा आर्थिक रुपले सामान्य मानिन्छन् । ‘सँधै मतदाता पैसामा बिक्दैनन् । उम्मेद्वारको योग्यता र क्षमतालाई आधार मानेर भोट दिन्छन् भन्नेमा विश्वस्त छु ।’ गठबन्धनबाट प्रदेशसभा ‘१’ मा उम्मेद्वार बनेका प्रदीपकुमार सुनुवारले भने, ‘एकातिर गठबन्धन र अर्कोतिर भूगोलमा बसेर जनताका सुखदुखमा गरेको राजनीतिले मेरो जित सुनिश्चित छ ।’

    गुरुङ आफ्नो कार्यकालमा शुरु भएका काम पुरा गर्न मतदाताले निर्वाचित गराउनेमा विश्वस्त छन् । ‘मेरो पालामा नसोचेको स्तरमा विकासका योजना र बजेट ल्याएको छु । ति कतिपय काम पुरा भएका छैनन् ।’ गुरुङले भने, ‘ति सबै बाँकी काम पुरा गर्न मतदाताले मलाई चुन्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

    प्रदेशसभा ‘१’ मा तुलनात्मक रुपमा प्रदेशसभा ‘२’ भन्दा माओवादीको संगठन बढी छ । माओवादीको सहयोगमा चुनाव जित्नेमा सुनुवार ढुक्क छन् । गुरुङ अघिल्लो चुनावमा ७ हजार मतअन्तरले निर्वाचित भएको र यसपटक कतिपय असन्तुष्ट कांग्रेस र माओवादी नै एमालेमा प्रवेश गरेकोले जित्नेमा ढुक्क देखिन्छन् । यी दुवै प्रतिस्पर्धी जनजाति समुदायका भएको र मतदाता जनजाति बढी भएकोले कसले उछिन्ने भन्नेमा अनुमान गर्न कठिन छ ।

    जिल्लामा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदेशसभा ‘२’ को प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम गौतम उम्मेद्वार छन् । एमालेबाट ज्ञानबहादुर खड्का प्रतिस्पर्धामा उत्रिएका छन् । गौतम र खड्का दुवै पहिलो पटक प्रदेशसभास्तरको चुनावमा उम्मेद्वार बनेका हुन् । खड्का २०७४ को स्थानीय तह निर्वाचनमा सुनकोशी गाउँपालिका प्रमूख पदमा पराजित भएका थिए । तर प्रदेशसभा ‘२’ मा एमालेको संगठन तुलनात्मक रुपमा बलियो छ । गौतम गएको एकदशकदेखि भूगोलमा राजनीतिमा सक्रिय नेता हुन् । खड्का भूगोलका लागि नयाँ छन् । गौतमलाई काँग्रेससँग सहकार्य गरि चुनाव जित्नुपर्ने दबाब छ ।

    आर्थिक रुपमा खड्का बलिया छन् । गौतम राजनीतिक जीवनमै पहिलो पटक उम्मेद्वार बनेका हुन् । ०५२ फागुन १ गते माओवादी जनयुद्ध घोषणा हुँदा घोषित रुपमा भूमीगत भई माओवादी हुने जिल्लाका तीन नेता मध्ये गौतम एक हुन् । प्रचण्ड निकट मानिने उनी प्रभावशाली मानिन्छन् ।

    खड्का र गौतम दुवैको एजेन्डा प्रदेशसभा ‘२’ क्षेत्र पर्ने जिल्लाको पश्चिमी भुभागको विकासमा परिवर्तन ल्याउने छ । ‘पूर्वाधार नै प्रमूख आवश्यकता छ । अहिलेपनि पश्चिमका जनता सदरमुकाम आउनु तीन जिल्ला घुम्नुपर्ने बाध्यतामा छन् ।’ गठबन्धनका उम्मेद्वार गौतमले भने, ‘म निर्वाचित भएमा यी समस्यालाई स्थायी रुपमा समाधान गर्छु ।’

    ज्ञानबहादुर खड्काले अघिल्लो कार्यकालमा माओवादी निर्वाचित हुँदा कुनै विकास हुन नसकेकोले आफू निर्वाचित भएमा विकासमा कायापलट गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ५६ हजार सात सय ३३ मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ मा ६१ हजार एक सय ६४ मतदाता छन् । जिल्लाभरि जम्मा ८४ मतदानस्तल र एक सय ५३ मतदान केन्द्र तोकिएका छन् ।

    प्रतिक्रिया दिनुहोस