२०७९ मंसिर २०, मंगलबार | Tue, 06, Dec, 2022
अन्तर्वार्ता

‘म ओखलढुंगाको राजनीतिक मैदानबाट भागेको छुईंन’– सिताराम गुरुङ

  • २०७९ मंसिर १, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • सिताराम गुरुङ ओखलढुंंगाको कम्युनिष्ट राजनीति, सामाजिक अभियान, साहित्यिक, साँस्कृतिक क्षेत्रमा परिचित व्यक्ति हुन् । २०२६ साल कात्तिक ७ गते रुम्जाटारमा जन्मिएका गुरुङ २०४२ को मे दिवससँगै तत्कालीन अनेरास्ववियुमा आबद्ध भई राजनीतिमा प्रवेश गरे । ०४२ को अनेरास्ववियु (चौथो महाधिवेशन–निर्मल लामा समूह) मा जिल्ला उपाध्यक्ष हुँदै कम्युनिष्ट संगठनमा लागे ।

    ०४६ को जनआन्दोलनमा उपत्यकाको संयुक्त विद्यार्थी संगठनको कमान्डमा थिए । हिरालाल क्याम्पस ठहिटिमा ०४५ सालमा स्ववियू सदस्य बनेका गुरुङ ०५० सालमा एमाले पार्टी प्रवेश गरे । इश्वर पोख्रेल र छवि कार्कीको आग्रहमा एमाले प्रवेश गरेका गुरुङ ०५४ सालमा रुम्जाटार गाविस अध्यक्ष निर्वाचित भए । एमालेको ०५३ सालमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य बने । उनी लगातार सातौं अधिवेशनसम्म चार कार्यकाल जिल्ला कमिटिको सचिवालय सदस्य भए ।

    आठौं अधिवेशनपछि पार्टीको केन्द्रिय विभाग ‘राष्ट्रिय हित संरक्षण प्रवद्र्धन विभाग’ सदस्य बने । प्रगतिशिल वैदेशिक रोजगार मञ्चको केन्द्रिय सदस्य बने । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी थिए । प्रगतिशिल लेखक संघ ओखलढुंगाको संस्थापक सल्लाहकार हुन् । हालैमात्र प्रलेस मार्फत वितरण हुने गरि बुवा धनबहादुर र आमा पदमकुमारीको नाममा धप प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

    नेकपा एमालेभित्रको अन्तरविरोधपछि गत स्थानीय तहको निर्वाचनमा विद्रोह गरि सिद्धिचरण नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका गुरुङ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा सदरमुकाममा भेटिए । नागरिकडटकमले गुरुङसँग गरेका केही राजनीतिक कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

    एमालेको राजनीतिमा अलि निष्क्रिय हुनुभएको हो ?
    त्यस्तो सैद्धान्तिक रुपमा निष्क्रिय त भएको छैन । सांगठनिक जिम्मेवारीबाट अलि पर बसेको मात्रै हो ।

    तपाईं पार्टीमा निष्क्रिय हुनुपर्ने अवस्था पार्टीभित्रैबाट सिर्जना भयो हैन ?
    त्यो जरुर हो । पार्टीभित्र सिन्डिकेट प्रथा अपनाउनेहरुले म माथी सामूहिक योजना बनाएर अलग्याउने काम भएको हो । यसको प्रतिरोध गर्नुथियो र मैले गरेँ पनि । सांगठनिक रुपमा मैले पार्टीको चार कार्यकालमा १९ वर्ष जिम्मेवारी लिएर संगठन बनाउने, चुनाव लड्ने, साहित्यिक, सिर्जनात्मक काम गर्ने निरन्तर रुपमा काम गरिरहेको थिएँ । तर कुनै व्यक्तिको प्रतिशोधले मलाई आन्दोलनबाट बिटुल्याउने काम भयो । त्यसैको विरुद्ध मैले प्रतिरोध गरेको हुँ ।

    प्रतिरोध वा विद्रोह स्वरुप तपाईं सिद्धिचरण नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिनुभयो । त्यो विद्रोह सही थियो त ?
    गल्ती एकै पक्षबाट मात्र हुन्छ भन्ने हुँदैन । पार्टीभित्र फलानो प्राइभेट कम्पनी बनाउन खोजियो । यो कुरा हुँदैन । म पनि साँगठनिक मान्छे हो, साँगठनिक कुरा बुझ्छु । संगठनको निर्णयलाई आत्मसात गर्नुपर्छ भन्ने बुझ्छु । तर पार्टीभित्र सिन्डिकेट लगाएर विभिन्न निकायमा मान्छे राख्ने काम भयो । त्यसले परिणाम गलत हुन्छ भनेर भन्दा सुन्ने काम भएन । अहिले परिणाम देखिइसकेको छ । त्यो परिणाम पहिले नै हामीलाई थाहा थियो । एकडेढ वर्षअघि सिनपामा ३५ सय मत अन्तरले चुनाव जितिन्छ भन्दै हिँडेको परिणाम देखिसकियो । अर्कोतिर जिल्लाको पाँच स्थानीय तहमा एमालेका उम्मेद्वारले जित्ने प्रबल सम्भावना हुँदाहुँदै त्यो सिन्डिकेटवाला नेतृत्वले गर्दा उल्टो परिणाम भोग्नुपर्‍यो ।

    भनेपछि आफ्नो विद्रोहप्रति खुशी हुनुहुन्छ ?
    त्यतिबेला म पारिवारिक अवस्थामा शोकमा थिएँ । पार्टीभित्र हाम्रो पनि लगानी छ । कसैको भन्दा कम छैन भन्ने मलाई लाग्छ । मैले पटकपटक प्रमाणित गरेर देखाको छु । चाहे भवन बनाउने, संगठन बनाउने कुरा, केन्द्रिय लेबी तिर्ने कुरा होस् । हरेक ठाउँमा सिताराम गुरुङको व्यक्तिगत लगानी कसैको भन्दा कम छैन । यो आन्दोलनप्रति एकाकार भएको कारणले यो मेरो विद्रोह हर्षपूर्ण ‘बम्बईया फल खाए भी पछुताए, नही खाए भी पछुताए’ अवस्थाको बन्यो । बेखुशी छु भनेर मैले बेठीक नै गरेँ भनेर पश्चाताप पनि छैन । यो एउटा अन्तरविरोध, अन्र्तसंघर्ष हो भनेर बुझ्नुपर्छ ।

    त्यसको असर यो चुनावमा छ ?
    स्थानीय तहको निर्वाचनमा पार्टीभित्र भएका गलत निर्णयको असर अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा परेको देखिएको छ ।

    तपाईं पात्रको विरोधी कि प्रवृत्तिको ?
    पात्र र प्रवृत्ति दुवैको विरोधी हो म । जुन ढंगले कम्युनिष्ट आन्दोलनको आधारहरु बने । हेपिएका, दलिएका, कमजोर मान्छेलाई हेर्ने र नेतृत्व गर्ने, विकासका अवधारणालाई तल्लो तहसम्म पुर्‍याउने भन्ने पार्टीको खास निष्कर्ष थियो । यसमा कहीँ न कहीँ कमजोरी भएको कारण यो नेतृत्वप्रति असन्तुष्टि पैदा भएको परिस्थिति हो ।

    अहिले एमालेका उम्मेद्वारहरु यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङमाथी पनि जनताले प्रश्न त गरिरेका छन् नि हैन ?
    धेरै मान्छेले यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङको विषयमा प्रश्न गरेका छन् । नेतृत्वले विकासका अवधारणा तयार गर्दा आफ्नो पार्टीको संगठन र फोरमलाई भरपूर रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो फोरम एकांकी ढंगले अघि बढ्नु हुन्न । यदि संगठनलाई विकाससँग जोडिएन भने गलत, विचौलिया मान्छेहरु प्रवेश गरि खास मकसद पुरा हुँदैन । यज्ञराज सुनुवारको हकमा के गर्‍यो त ? भन्ने प्रश्न आम रुपमा उठेको छ । यो स्वभाविक होला तर सुनुवारले केही गरेनन् भन्ने पटक्कै होइन । उनले दोश्रो संविधानसभा २०७० मा निर्वाचित भईसकेपछि संविधान निर्माण गरि जारी हुने काममा संविधानसभा सदस्यको हैसियतले भरपूरमा योगदान दिए ।


    २०७४ को निर्वाचनपछि विभिन्न भुकम्पको थिलथिलो, कोभिड महामारीको अवस्थाका बाबजुद पनि संसदमा यज्ञराज सुनुवारको भूमिका देखिँदै नदेखिने वा कमजोर चाहीँ थिएन । संसदको भूमिका नीति निर्माण गर्ने, कानुन बनाउने काममा सुनुवार सक्रिय देखिन्थे । सांसदको काम सिधै विकास ओइर्‍याउने भन्ने होइन । सांसदले संसदमा बनाएको निति, नियम, कानुनले तल्लो तहसम्म विकास समानूपातिक ढंगबाट कसरी ल्याउने भन्ने हुन्छ । यो सबैले बुझ्न जरुरी छ । ठूलो विकासका योजनामा संसदले राय राख्ने भएकोले त्यसमा केही भूमिका हुन्छ । केही काममा यज्ञराज सुनुवारको कमी देखिएको होला । तर उनी भएकै कारणले थुप्रै काम भएका छन् ।

    गल्ती एकै पक्षबाट मात्र हुन्छ भन्ने हुँदैन । पार्टीभित्र फलानो प्राइभेट कम्पनी बनाउन खोजियो । यो कुरा हुँदैन । म पनि साँगठनिक मान्छे हो, साँगठनिक कुरा बुझ्छु । संगठनको निर्णयलाई आत्मसात गर्नुपर्छ भन्ने बुझ्छु । तर पार्टीभित्र सिन्डिकेट लगाएर विभिन्न निकायमा मान्छे राख्ने काम भयो । त्यसले परिणाम गलत हुन्छ भनेर भन्दा सुन्ने काम भएन । अहिले परिणाम देखिइसकेको छ ।

    के काम भए त ?
    विद्यालय निर्माणको क्षेत्रमा उनकै कार्यकालमा अधिकांश विद्यालय अर्बौं लागतका पुर्ननिर्माण भएका छन् । सडक स्तरोन्नति भएका छन् । भुकम्पपीडितले घर पाएका छन् । अझै संसदमा गई सुनुवार र उनीजस्ता प्रतिनिधिहरुले गर्नुपर्ने थुप्रै काम बाँकी छन् । वन र स्रोतका बारेमा, रोजगारीको विषय बाँकी होला, विकासलाई हेर्ने दृष्टिकोणको बारेमा बाँकी हुनसक्छ, वैदेशिक रोजगार व्यवस्थापनका विषय होलान् । जुन निति बनाउने तहमा पुगिसकेपछि अब त्यो ढंगको काम गर्नुपर्ने हुन्छ । उनी त्यो काम गर्दै आएको र गर्न सक्ने मान्छे हुन् ।

    अनि अम्बिरबाबु गुरुङ नि ?
    अम्बिरबाबु गुरुङको विषयमा त सारा का सारा मान्छेले काम गर्‍यो भनेर भनेकै छन् । अब यसमा पारदर्शिताको सवाल, डिपिआर बनाउने सवालमा केही अपारदर्शिताका कुरा केहीले प्रश्न उठाइराखेको देखिन्छ । यज्ञराज सुनुवार र अम्बिरबाबुको हकमा उनीहरुको यसअघिको पर्फमेन्स हेरेर मतदाताले भोट दिनुहोला भन्ने लागेको छ ।

    भनेपछि एमाले जिल्लामा अघि बढ्ला त ?
    यिनै चुनौतिहरुको बिचमा पनि ओखलढुंगामा फेरी एमालेकै उम्मेद्वारले अग्रता लिनसक्ने सम्भावना देख्छु । यसमा जिल्लाबासी मतदाताले हाम्रो भन्दा राम्रो मान्छे छान्नुहुनेछ भन्ने लागेको छ । पार्टीको तर्फबाट चुनावमा २० वटा एजेन्डा सहित प्रतिबद्धता प्रस्तुत गरिसकेका छन् । यी बाहेक नेतृत्वको आफ्नै विवेक र क्षमता अनुसारको थप घोषणापत्र सार्वजनिक गरेका छन् । त्यसको विश्लेषण सचेत जिल्लाबासीले गरेकै छन् ।

    भनेपछि पार्टी ठिकै छ ?
    अहिले एउटा पार्टी पार्टीको रुपमा छैन । संगठन संगठनको रुपमा छैन । देशैभरि धेरै टिकट पाउनुपर्ने मान्छेले टिकट पाएका छैनन् । ओखलढुंगामा नेकपा एमाले र गठबन्धन दुवै तर्फबाट सशक्त उम्मेद्वारले टिकट पाएका छन् । यसमा छान्ने अधिकार मतदाताकै हो । मलाई लाग्छ तपाईं मतदाताहरुले मनमनमा छानिसक्नुभएको छ । जनताको समस्यालाई बोलिदिने र अधिकार स्थापित गर्नसक्ने, माया गर्ने, तपाईंको मुहार झल्किने छान्नुस्, सिद्धान्त र निष्ठा नभूलि भूगोलमै बसेर काम गर्नेलाई छान्नुस् ।

    भनेपछि तपाईं एमालेभित्रै हुनुहुन्छ या सहानुभूति मात्रै हो ?
    म हिजोपनि एमाले बाहिर थिईंन । तत्कालीन परिस्थितिले मैले विद्रोह गरेको हो । यसमा मैले उत्रो गर्व गरेको र उत्रो दु:खी भएको अवस्था पनि होइन । अहिले पनि मेरो संलग्नता, सहानुभूति र माया पार्टीमै छ । मेरो कारणले कोही कसैलाई पार्टीमा अप्ठ्यारो नहोस् । म एउटा पार्टी, विचार र संगठनको रुपमा केन्द्रले दिएको जिम्मेवारी अनुसार नेपाल लोकतान्त्रिक तमु संघको केन्द्रिय सचिवको रुपमा छु । हिजो मेरो विद्रोहमा सहभागी मेरा सहयोद्धा साथीहरुलाई मेरो कारणले यहाँहरुलाई पुगेको अप्ठ्यारो बुझ्ने कोशिस गरिरहनेछु । अझै पार्टीभित्र समस्या छँदैछ ।

    नेपालका राजनीतिक दलको अवस्थालाई कसरी हेर्नुभएको छ ?
    म कुनैपनि दललाई पूर्ण रुपमा समर्थन गरेर हिँडिहाल्ने अवस्थामा छुईन । नेपाली जनतालाई गौंडा ढुकेर खुलेआम अधिकार खोस्ने काम वाम लोकतान्त्रिक गठबन्धनबाट भएको छ । नेकपा एमाले पनि त्यसबाट अछूतो छैन । चुनाव मात्र जित्ने रणनीतिप्रति जनता खुशी छैनन् । सिद्धान्त, निति नमिल्ने, वैचारिक अन्तरविरोधी दलहरु राप्रपा, जसपा जस्ता दलहरुसँग एमालेले तालमेल गरेको छ यो ठिक छैन । जसपासँग हिजो संविधानमाथीको अन्तरविरोध थियो । राप्रपामाथी सिद्धान्त, निष्ठा र वैचारिक धरातलकै अन्तर थियो । चुनाव जित्नकै लागि यो खालको काम हुनुले यसको परिणाम राम्रो नहोला ।

    यो काम एमाले ओलीले गरेको त हुन् नि हैन र ?
    म कुनै दलको केन्द्रिय नेतालाई आरोप लगाउने हैसियत त राख्दिन । तर कुनै पार्टीमा आस्था राख्ने कार्यकर्ता होस या नेतालाई सिद्धान्त, निति र विचार सबैलाई बराबर हुनुपर्छ । केपी ओलीको लागि बढी र अरुको लागि घटि भन्ने हुनु हुँदैन ।

    अब के हुन्छ ?
    अब आउने पाँच वर्ष जनताको लागि दुखै हुन्छ जस्तो मेरो अनुमान छ । काँग्रेस र एमालेले ८० ८० सिटक जित्ला माओवादी ४० देखि ४५ सिट हाराहारी र अन्य एकीकृत समाजवादी, जसपा, लोसपा जस्ता साना दलहरु १० १० सिटको नजिक आउलान् । यसरी सिट हुँदा फेरी देशको राजनीतिक अवस्था अस्थिर हुन्छ । संसदीय दल फुटाउने काम पहिलो दिनदेखि हुने र मन्त्री खानलाई जे पनि हुने सम्भावना मेरो अनुमानमा छ ।

    के भन्न चाहनुहुन्छ ओखलढुंगे आम पाठकहरुलाई ?
    आगामी दिनमा म ओखलढुंगा जनताहरुसँगै हुनेछु । मेरो क्षमता योग्यताले भ्याएको दिनेछु र यहाँहरुबाट सक्ने लिनेछु । जिल्लाबासीको प्रत्येक आन्दोलनमा मेरो एक्येबद्धता रहनेछ । हिजो म स्वतन्त्र रुपमा सिद्धिचरण नगरपालिकाको मेयर पदमा उम्मेद्वार हुँदा एक सय ४६ भोट आयो । ती मतदाताप्रति नतमस्तक छु । नजरअन्दाज गर्दिन । मलाई साथ दिने कोहीमाथी कहिल्यै तुषारापात गर्नेछैन । यो चुनवामा सबै भाग लिउँ । राम्रा उम्मेद्वार छानौँ । मासुभात, रक्सी चिउरा र दुईचार पैसामा बिक्नबाट रोकौँ । सचेत बनौँ, भन्न चाहन्छु ।

    तपाईँ भूगोलसँग अलि टाढिनुभएको भन्ने आरोप पनि छ नि ?
    यो आरोप लागेकै हो । जिल्लाको सबै काममा २०७४ पछि अलि टाढा भएकै हो । त्यसअघि म भूगोलसँगै थिएँ । पार्टी भनेको एउटा फोरम हो । त्यो फोरमको उपयोग गर्न नपाउँदा म अलि टाढिएको जस्तो देखिएको हो । महामारीको बिचमा मेरो पारिवारिक समस्याले केही समय छुटेको जस्तो देखिएको हो । म सँगै नै छु ।

    भनेपछि सिताराम गुरुङ फेरी पनि ओखलढुंगाको राजनीतिक मैदानमै देखिन्छ हैन ?
    देखिनुपर्छ र देखिन्छु । म जिल्लाको राजनीतिबाट अलग्गिएर बाहिर बस्दै सक्दिन ।

    पार्टीभित्रै अन्तरसंघर्ष गरेर बस्नुहुन्छ त्यसो भए ?
    हो पार्टीभित्रै अन्तरसंघर्ष गरेर बस्ने र पार्टीको लाइनहरुलाई समातेर कम्युनिष्ट आन्दोेलन, कार्यक्रम, वैचारिक धरातललाई अगाडी लिएर जाने कोशिस गर्छु ।

     

    प्रतिक्रिया दिनुहोस