२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

गरिबी र अन्धविश्वासबिच एक किशोरी आमाको रहस्यमय मृत्यु

  • २०७९ माघ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सायद उनलाई म मर्दैछु भन्ने थाहा थियो । त्यसैले मर्नुअघि मोबाइलमा आमाको ‘फेसलक’ राखिन् । फेसलक पछि अर्को ‘प्याटर्न लक’ अंग्रेजी अक्षर ‘एल’ थिचेपछि मोबाइल खुल्यो । सिद्धिचरण नगरपालिका १ तलुवा मूलघाटकी कुमारी माझीले मोबाइल खुलेपछि छोरीको तस्बीरहरु पालैपालो देखाइन् । छोरीको तस्बीर देखाउँदा उनका आँखा आँशुले टम्म भरिसकेका थिए ।

    १९ वर्षिया छोरी कल्पना माझीको निधन गत पुष २१ गते भयो । कल्पनाको आठ महिनाको छोरा छ । आठ महिनाको नाति छोडेर कान्छी छोरी बितेपछि कमानसिं माझी र कुमारी माझीको आँखा अझै ओभाएको छैन । माईतीघरदेखि उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याएको दुई घण्टामै कल्पनाको निधन भयो ।

    दुई वर्षअघि आफू खुशीले बिहे गरेकी छोरीले नाति जन्माएको सुन्दा कमानसिंह र कुमारीको मनमा खुशीको सिमा थिएन । तर गएको मंसिरमा आफू बिरामी भएको र ज्वाईंले नहेरेकोले पैसा पठाईदिनु भन्दै छोरीले फोन गरेपछि कमानसिं दम्पति छांगोबाट खसे जस्ता भए । कुमारीले सयकडा तीन रुपैंयाले ब्याजमा १० हजार ऋण खोजेर पठाईन् ।

    छाेरीकाे तस्बीर माेबाइलमा देखाउँदै आमा कुमारी माझी ।

    छोरी त्यही खर्चले मंसिर २२ गते माईती आइन् । ‘माईती आईपुग्दा गाडीबाट झर्दा खुट्टा राम्रो सँग टेक्न सक्ने थिइनन् ।’ कुमारीले भनिन्, ‘डोर्‍याएर झारेँ । के भएको भनेर सोध्दा मलाई सुत्केरी हुँदा ज्वाईंले कुटेदेखि बिरामी भएको भनिन् । अस्पतालमा उपचार गर्दा ठिक भएन धामी झांक्री लगाईदिनु भनिन् ।’

    कुमारीले ऋणपान गरेर दिनहूँजसो धामी झांक्री लगाइन् । धामी झांक्री लगाउँदै १५–२० हजार खर्च भयो । मर्नु अघिल्लो दिनमात्रै आमालाई एकपटक मिसन अस्पताल लैजानु भनिन् । कुमारीले फेरी खर्च खोजेर गाडी चढाई भोलीपल्ट बिहानै मिसन अस्पताल लगिन् । अस्पताल लगेको दुई घण्टामै छोरीले अन्तिम सास फेरिन् ।

    डाक्टरले कूपोषित भएको लख काटे । स्वास्थ्य परिक्षणको प्रक्रिया शुरु नभई मृत्यु भएकोले उनको मेडिकल हिस्ट्री अस्पतालसँग छैन ।

    कल्पनाले माईती आएपछि आफूलाई के रोग लागेको बारेमा प्रष्ट बताइनन् । उनले आफू काठमाडौंमा १० दिन सम्म अस्पताल बसेको बताउथिन् । ज्वाईंले बेवास्ता गरेर हिँडेपछि ११ दिन सम्म नानी र आफू भोकै बसेको सम्म बताइन् । उनले अस्पतालमा उपचार गरेको कुनै कागजात ल्याएकी थिइनन् ।

    अधिया, बटिया गरेर जिविका गर्दै आएकी कुमारीको श्रीमान कमानसिं अपांग छन् । २०५४ सालदेखि दुवै खुट्टा सुकेपछि काम गर्न सक्दैनन् । लौरोको सहारामा हि“डडूल गर्छन् । चार सन्तान मध्ये दुई छोरीको पहिल्यै बिहे भईसकेको थियो । कान्छीलाई निशंखेमा प्लस टु पढाउन राखेका थिए । उतैबाट बिहे गरेर गएको सुने । खासै कुराकानी हुन्न थियो । एक छोरा १७ वर्षका भए । एसइईमै पढाई छोडेर मजदुरी गर्न उदयपुरको गाईघाटतिर गएका छन् ।

    कान्छी छोरीको अस्पतालमै मृत्यु भएपछि ज्वाईंको खोजी भयो । सुनकोशी गाउँपालिका ७ च्यानमका ज्वाईं कैलाश कटवाल काठमाडौंमा थिए । प्रशासनले बोलाएपछि कटवाल आए । छोरीको लाश ज्वाईंको जिम्मा लगाइयो । श्रीमतिको लाश जिम्मा दिईसकेपछि कैलाशले छोरा पनि लैजान्छु भने ।

    तर कुमारीले आफ्नो छोरीको चिनो नाति आफैं लाने अडान गरिन् । त्यसपछि केही समयका लागि माईतीमै लाने सहमतिमा जिल्ला प्रशासनले आठ महिनाका हिरोजन कटवाललाई मावली हजुरआमा कुमारी माझीको जिम्मा लगाईदिए ।

    गरिबी र अन्धविश्वासको पराकाष्ठा
    मूलघाटमा सात घर माझी छन् । त्यसमध्ये एक घर बाहेक सबै आर्थिक रुपमा विपन्न हुन् । कमानसिंहको दुई रोपनी पाखो खरबारी बाहेक अरु छैन । एउटा भैंसी र तीनवटा बाख्रा पालेका छन् ।

    छोरी काठमाडौंबाट रोगाएर आएकी थिइन् । जे ख्वाएपनि पेटमा अडिन्न थियो । बान्ता हुने र पखाला हुन्थ्यो । बेलैमा अस्पताल लैजान पाएको भए बचाउन सकिन्थ्यो कि ? भन्ने पछूतो माझी दम्पतिलाई छ । तर छोरी आफैले धामी मात्रै लगाउनु भनेपछि अस्पताल लगेनन् ।

    ‘अस्पताल लैजाने पैसा पनि थिएन ।’ कमानसिंले भने, ‘गरिब हुनु र लाटो हुनुले कान्छी छोरी गुमाइयो ।’ उनीहरुका छिमेकी नेत्र घिमिरेका अनुसार कल्पना काठमाडौंबाट आउँदा दुब्लाएर हाडछालाको मात्र आईपुगेकी थिइन् । गरिबीकै कारण उनको ज्यान गएको घिमिरे बताउँछन् ।

    फेसबुकबाट बिहे
    कान्छी छोरीलाई पढाउने उनीहरुको ठूलो चाहना थियो । सानैदेखि पढाईपनि राम्रो थियो । तर घरदेखि दुई घण्टाको दुरीमा रहेको निशंखेमा बसेर प्लस टु पढ्ने भनेपछि उनीहरुले अनुमति दिए । प्लस टु नसक्दै अन्तरजातीय बिहे गरेर गएपछि छोरीस“ग कहिलेकांही मात्र सम्पर्क हुन्थ्यो ।

    कल्पना र कैलाशको चिनजान फेसबुकबाटै भयो । माया बस्यो । कल्पनाले आफूलाई घरतिरबाट बिहे गर्दिन लागेको भनेपछि कैलाशले काठमाडौं बोलाए । कैलाश सामान्य मजदुरी गर्थे । कैलाशले बोलाएपछि कल्पना काठमाडौं गइन् । कैलाशले अन्तरजातीय भएको कारण मन्दिरमा लगेर सिन्दुर पोते लगाईदिए ।

    बिहे गरेर सँगै राखेदेखि टाउको दुख्ने जस्ता समस्या हुने गरेको कैलाशले बताए । ‘अस्पताल लानेदेखि धामी लगाउने सबै काम गरेँ ।’ कैलाशले भने, ‘धामी लगाउनै सिन्धुली सम्म पुर्‍याएँ ।’ कल्पनाले सदरमुकाममै बसेर काम गर्छु भनेपछि कैलाशले चार महिना ओखलढुंगा पठाए ।

    बिचबिचमा बिरामी भएको भन्दै पैसा माग्थिन् । कैलाशले पैसा पठाए । त्यसपछि कलेजबाट छात्रवृत्ति पाएकोले जापान जान लागेको बताइन् । त्यसका लागि वडाबाट सिफारिश चाहिन्छ भनिन् । बिहे दर्ता नभएकोले माईतीतर्फकै वडाबाट सिफारिश बनाउन पठाए ।

    ‘म सोझो मान्छे । मन पराएर बिहे गरेको श्रीमति पढेलेखेको भनेर विश्वास गरेँ ।’ कैलाशले भने, ‘२०७८ को मंसिर २२ गते जापान जाने भनेर एयरपोर्टमै लगेर बिदाई गर्‍यौं । त्यसपछि मेसेन्जरमा मात्र बेलाबेलामा कुरा हुन्थ्यो । उनी जापानमै छु भन्थिन् ।’

    छोरा जन्मिएको समेत पाँच महिनापछि मात्र थाहा पाएको कैलाशले बताए । ससुरालीले छोरीमाथी कुटपिट गरेको आरोपमा कैलाशले आफूले लगाईदिएको सुनको गहना शंका लागेर परिक्षण गर्दा नक्कली पुष्टि हुँदा एकपटक त्यही गहनाले हिर्काएको बताए ।

    ‘श्रीमति जापानमै होला भनेर आफ्नो काममा थिएँ ।’ उनले भने, ‘मर्नुभन्दा चारपाँच दिनअघि मात्रै सासुले फोन गरेर कल्पना बिरामी भएको सुनाउँदा छक्क परेँ । यो बिचमा उनी कहाँ थिइन् ? को सँग बसेकी थिइन् ? केही थाहा भएन ।’

    जापानका लागि कैलाशका परिवारले २०७८ मँसिर २२ गते विमानस्थलमा विदाइ गर्दै (कल्पना बाँयाबाट उभिनेमा दाेश्राे कालाे चश्मामा)

    रहस्यमय मृत्यु
    कल्पनाले माईती आएपछि आफूलाई के रोग लागेको बारेमा प्रष्ट बताइनन् । उनले आफू काठमाडौंमा १० दिन सम्म अस्पताल बसेको बताउथिन् । ज्वाईंले बेवास्ता गरेर हिँडेपछि ११ दिन सम्म नानी र आफू भोकै बसेको सम्म बताइन् । उनले अस्पतालमा उपचार गरेको कुनै कागजात ल्याएकी थिइनन् ।

    कल्पनाका श्रीमान कैलाश चाहीँ कल्पनालाई एउटा आपराधिक गिरोहले प्रयोग गरेको शंका छ । त्यस गिरोहमा आबद्ध भई कल्पनाले आफूलाई जापान गएको नाटक गरेर फसाएको बताए । कामको सिलसिलामा भारत पुगेको बेला कल्पनाले कहिले बिरामी भएको, शल्यक्रिया गरेकोले पैसा चाहिएको भन्दै पैसा मागेर पठाउने गरेको कैलाशले बताए ।

    विभिन्न फेसबुक आईडीबाट कल्पनाको माइजु, दिदि जस्ता साइनोका मान्छेले समस्या देखाएर पैसा पठाउने गरेको उनले बताए । उनीहरुसँग भएको पैसाको विषयमा म्यासेन्जरमा भएको कुराकानीको प्रमाण अझै सुरक्षित रहेको कैलाशको भनाई छ ।
    ‘अहिले कल्पनाको मृत्यु भएपछि सबै गल्ती मै माथी देखाइयो ।’ उनले भने, ‘तर वास्तवमा म पीडित छु । यो म कुनैदिन प्रमाणित गर्छु ।’

    प्रमूख जिल्ला अधिकारी दिलकुमार तामाङले किशोरीको मृत्यु भईसकेपछि प्रशासनमा दुवै पक्ष आएपछि केटा र केटी दुवै तर्फका वडाअध्यक्षको रोहबरमा केही समयका लागि बच्चा माईतीको हजुरआमाले पालन पोषण गर्ने शर्तमा जिम्मा लगाएको बताए ।

    ‘प्लस टु पढेको केटोले अहिलेको समयमा आफ्नो श्रीमति जापान जानलाई पासपोर्ट चाहिन्छ । पासपोर्ट बनाएको छैन भन्ने थाहा हुँदाहुँदै कसरी विश्वास गरे ?’ प्रजिअ तामाङले भने, ‘त्यसैले मैले केटाको बदमासी होला भन्ने अनुमान गरेँ । यस विषयमा थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउनुपर्ला जस्तो छ ।’

    सिनपा १ तलुवाका वडाअध्यक्ष तिर्थ घिमिरेले कल्पना माझीले आफू जापान जानका लागि वडाको सिफारिश चाहिने भन्दै एकपटक आएको बताए । उनले केटा केटी दुवैतर्फको सम्बन्ध नाटकीय र शंकास्पद देखिएको बताए । ‘कहिले केटाले विदेशमा छु भनेर सम्पर्क गरेको देखिन्छ ।’ घिमिरेले भने, ‘कहिले केटी जापान गएको भन्ने सुनिन्छ । वास्तविकता कसैलाई थाहा छैन ।’

    आठ महिनाको शिशुको बिचल्ली
    कल्पनाको मृत्यु भएपछि उनकी माईतीका आमाले आठ महिनाको नातिको जिम्मा लिए । तर घरमा नातिलाई ख्वाउने पोषण तत्व केही भएन । त्यसपछि सिनपा १ का वडाअध्यक्ष तिर्थ घिमिरेले एउटा दुहुना गाई किनिदिए । सिनपा १२ का वडाअध्यक्ष उमंग श्रेष्ठको नेतृत्वमा सहयोग रकम संकलन गरि १८ हजार सात सय दश रुपैंया उपलब्ध गराए । नगरपालिकाका मेयर तेजेन्द्र खनालले १० हजार उपलब्ध गराए । त्यही रकमबाट शिशुको हेरचाह कुमारी र कमानसिंले गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस