२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पर्यटन प्रवर्द्धन गर्न म्याराथन सहित खेलकुद

  • २०७९ फागुन २९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– सिद्धिचरण नगरपालिका ६ को ठाडे– जन्तरधाप क्षेत्रलाई पर्यटकीय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले मिनि म्याराथन सहित विविध खेलकुद कार्यक्रम गरिएको छ । स्थानीयको अग्रसरतामा १० किलोमिटर मिनि म्याराथन, खुल्ला पुरुष भलिबल, निशुल्क दन्त शिविर लगायतका कार्यक्रम गरिएको हो ।

    शनिबार सम्पन्न ठाडे जन्तरधाप मिनि म्याराथनको उपाधी पुरुष तर्फ सोलुखुम्बुका रविन बस्नेत र महिला तर्फ ओखलढुंगाकी दिकु शेर्पाले जिते । मिनि म्याराथनको पुरुष विधामा जंगवीर कुलुङ दोश्रो र सुसन श्रेष्ठ तेश्रो भए ।

    महिला विधा तर्फ प्रविना राई दोश्रो र रुमाली मगर तेश्रो भए । विजेताहरुले क्रमश: १५ हजार, १० हजार र सात हजार नगद पुरस्कार प्राप्त गरे । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाईमा दौड सम्पन्न भएको हो । जन्तरधापलाई सगरमाथा अवलोकनको प्रमूख गन्तव्यको रुपमा चिनाउने उद्देश्यले मिनि म्याराथन आयोजना गरिएको आयोजक समितिका संयोजक दिनेश मगरले बताए ।

    ठाडेबाट शुरु भएको दौड जन्तरधाप, सिगाने हुँदै जन्तरखानीमा टुंगिएको थियो । विजेताहरुलाई कोशी प्रदेशका सभामूख बाबुराम गौतमले पुरस्कार र प्रमाणपत्र वितरण गरे । जलदेवी समाजसेवी युवा क्लबको रजत जयन्तीको अवसर पारी मिनि म्याराथन आयोजना गरिएको हो । म्याराथनमा १ सय ७५ धावक धाविका प्रतियोगीको रुपमा सहभागी थिए ।

    सोलुखुम्बुको सिमानासँग जोडिएको जन्तरधाप पिके पदयात्रा र सडकको माध्यमबाट सगरमाथा जाने मूख्य प्रवेशद्वार समेत हो । पर्यटकीय रुपले विकास हुँदै गएको यसक्षेत्रमा विविध खेलकुद लगायतका कार्यक्रमबाट समेत स्थानीयले प्रवद्र्धन गर्दै आएका छन् । आगामी दिनमा अन्य साहसिक खेलकुद आयोजना गर्ने स्थानीयको योजना छ ।

     

     

    प्रतिक्रिया दिनुहोस