२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

ठेकेदारको तस्बीरमा गोबर सहितकाे ब्यानर बाेकेर आन्दोलनमा स्थानीय

  • २०८० बैशाख ३१, आईतबार मा प्रकाशित ११ महिना अघि
  • ओखलढुंगा– ओखलढुंगा सदरमुकामदेखि निशंखे सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीयबासी आन्दोनलमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको तस्बीरमा गोबर दलेर सांकेतिक विरोध गरेका छन् । आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडकखण्डमा पर्ने गोरुमारेभन्ज्याङमा सडक अवरुद्ध पारेका छन् ।

    सडक अवरुद्ध हुँदा सयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एकवर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित २०७६ पुष ९ गते ठेक्का लिएको थियो । पटक पटक म्याद थप गरेपनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको गुनासो छ ।

    १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैंयामा ठेक्का लागेको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले कान्छाराम कन्सट्रक्सनका प्रमूख कान्छाराम भनेर चिनिने पूर्णबहादुर तामाङको तस्बीरमा गोबर दलेर विरोध जनाएका छन् ।

    ठेकेदार कान्छाराम रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय प्रतिनिधिसभाका सांसद हुन् । उनको फर्म मार्फत स्थानीय ठेकेदार जितबहादुर श्रेष्टले काम गरेका थिए । काममा लगाइएका दर्जनौ कामदारले महिनौंदेखि मजदुरी समेत नपाएको गुनासो छ । सडक निर्माण तत्काल सुचारु गरि सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।

    प्रतिक्रिया दिनुहोस