२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

ओखलढुंगामा पहिरोले दुई घर भत्किए, दुईजना घाइते

  • २०८० श्रावण ९, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ओखलढुंगा :  वर्षापछि गएको पहिरोका कारण सदरमुकाम ओखलढुंगामा दुई घरमा क्षति पुगेको छ भने तीन घर उच्च जोखिममा छन् । जिल्ला समन्वय समिति नजिकै गएको पहिरोले  सिद्धिचरण नगरपालिका- १२ स्थित खोरियामा पहिरो जाँदा  दुई घरमा क्षति पुगेको हो ।

    घर माथिबाट पहिरो खस्दा सोमबहादुर खत्रीको साँढे ३ तले पक्की घरको बीच तलाको पछाडिको भाग भत्किएको छ भने पेशल खत्रीको ३ तले पक्की घरको पछाडि पट्टीको भाग भत्किएको छ ।

    पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका दुईजना सामान्य घाइते भएका छन् । पहिरोले १ करोड बढिको क्षति गरेको प्रहरीको अनुमान छ । बस्तीमाथि पहिरो खस्ने अरु संभावना रहेकाले अन्य तीन घर जोखिममा छन् ।

    पहिरोले कोलबहादुर खत्रीको कुखुरा फर्म समेत पुरेको छ ।  उक्त फर्ममा १ लाख ५० हजार बढीको क्षति पुगेको जिल्ला प्रहरी  कार्यालयले जनाएको छ । पहिरो खसेर रमाइलोडाँडा जिसस सडक खण्डमा समेत क्षति पुगेको छ।

    पहिरो पन्छाएर सवारी सुचारु गराइए पनि पहिरोको जोखिम बढेको छ ।  पहिरोको जोखिममा परेका ३ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

    आइतबार रातिदेखि परेको अविर वर्षका कारण ओखलढुंगाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने पहिरोको चपेटामा रहेका बस्तीहरुमा उच्च जोखिम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस