२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

प्रभावित क्षेत्रका बासिन्दाको बेवास्ता गर्दै पिके जलविद्युत

  • २०८० श्रावण १३, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ओखलढुंगा- मूख्य प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गर्दै पिके जलविद्युत कम्पनीले काम शुरु गरेपछि विरोध भएको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको उमाकुण्डा गाउँपालिकाको बिचमा रहेको लिखु नदीमा ३० मेगावाटको विद्युत आयोजना बन्न लागेको हो ।

    तर सुरुङमार्ग माथी पर्ने खिजिदेम्बा गापा ४ खिजिकातीलाई नै प्रभावित क्षेत्रमा नपारी काम शुरु गर्न लागेपछि स्थानीयले विरोध गरेका हुन् । उनीहरुले स्थानीयको माग पुरा नगरेसम्म काम गर्न नदिने जनाएका छन् । आयोजनाले स्थानीयसँग उचित सल्लाह सुझाव संकलन नगरि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईइइ) तयार पारेको छ । उक्त आईई प्रतिवेदनमा करिब ६ किलोमिटर लामो सुरुङ माथी पर्ने वडा नं. ४ खिजिकाती नै प्रभावित क्षेत्रमा समेटिएको छैन ।

    मूख्य प्रभावित क्षेत्रको रुपमा ७, ४ र ३ नं. वडा हुनुपर्नेमा ५ र ६ नं. वडा प्रभावित क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ । वडा नं. ७ मा आयोजनाको इन्टेक (ड्यामसाईट) रहने र वडा नं. ३ मा टर्बाइन (पावरहाउस) रहने भनिएको छ । तर त्यसबिचमा पर्ने करिब १ हजार ५ सय घरधुरी रहेको वडालाई प्रभावितमा नराखिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

    ‘स्थानीयलाई आयोजनाको बारेमा राम्रोसँग जानकारी नदिई, कसैले सोधेमा हाइड्रो बन्ने हो विकास हुन्छ भन्दै गुपचुप राखेर यो आयोजनाको काम थालियो ।’ स्थानीय किशोर सुनुवारले भने, ‘त्यसैले यदि सम्पूर्ण प्रक्रिया पुरा नगरि काम शुरु गर्ने हो भने हामी काम गर्न दिँदैनौ । त्यसका लागि जुनसुकै ठाउँमा जान हामी तयार छौँ ।’

    खासगरि आईइइ प्रतिवेदन तयारीको क्रममा र तयार भईसकेपछि सो प्रतिवेदन प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई गरि सुझाव प्रतिक्रिया लिएपछि मात्र पूर्वाधार निर्माणको काम थाल्नुपर्ने हुन्छ । तर हालसम्म सार्वजनिक सुनुवाई नगरि काम थालिएको स्थानीयको भनाई छ ।

    खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आवश्यक प्रक्रिया पुरा गरि आयोजनाले स्थानीयको माग र कानुन अनुसार काम गर्नुपर्ने बताए । गाउँपालिकाका पूर्व अध्यक्ष बेदबहादुर रोकाले आफ्नो पालामा सार्वजनिक सुनुवाई नगरिएको बताए । त्यतिखेर आयोजना निर्माणका लागि निर्माणस्थल क्षेत्रमा जग्गा लिने प्रक्रियामात्र गरिएको बताए ।

    ‘त्यतिखेर भर्खरै मात्र आयोजनाको प्रारम्भिक काम थालिएको थियो ।’ रोकाले भने, ‘प्रभावित क्षेत्र कुन कुन पर्ने, आयोजनाको जिम्मेवारी के रहने, स्थानीयले पाउने सुविधा लगायतको विषय आईइइ बनिसकेपछि सार्वजनिक सुनुवाई गरि छलफल गर्नुपर्ने हो । त्यो भएको थाहा छैन ।’

    खिजिदेम्बा गापा ४ का पूर्व वडाअध्यक्ष कमल न्यौपानेले आफू वडाअध्यक्ष भएको बखत २०७४ सालमा आयोजना निर्माणका लागि सूचना टाँस गरिएको, सूचना टाँस गरिएको बारेमा मुचुल्का बनाउने काम र सामान्य सुझाव दिने काम गरेको बताए । ‘विस्तृत छलफल र सार्वजनिक सुनुवाई भएको छैन ।’ न्यौपानेले भने, ‘अहिले आएर आयोजनाले कसरी एक्कासी खिजिकातीलाई प्रभावित क्षेत्रमा समेटेन भन्नेमा म आफै छक्क परेको छु ।’

    तर कम्पनीले तयार गरेको प्रतिवेदनमा आईइइका लागि खिजिदेम्बाको वडा नं.७, ४ र ३ मा छलफल गरि सुझाव संकलन गरेको उल्लेख छ । त्यसमा वडाअध्यक्षहरु समेतको हस्ताक्षर छ । सुझाव संकलनका लागि गरिएको हस्ताक्षरहरु वडाअध्यक्ष र केही व्यक्ति बाहेक सबै किर्ते रहेको खिजिदेम्बा ७ रावादोलुका टेकबहादुर खड्काले आरोप लगाए ।

    पिके जलविद्युत आयोजनाको साइट इन्चार्ज लिलाबहादुर सुनुवारले कम्पनीले गर्ने सबै प्रक्रिया पुरा गरि आईइइ पास भईसकेको प्रतिक्रिया दिए । ‘उर्जा र वातावरण मन्त्रालयले आईइइ पास गरिसक्यो । अब हामी धमाधम काम थाल्ने प्रक्रियामा छौ“ ।’ सुनुवारले भने, ‘खिजिदेम्बा ४ लाई प्रभावित क्षेत्रमा नराखिएको भनिएको झूटो हो । हामीले प्रभावित क्षेत्रले पाउने सबै सुविधा कानुन बमोजिम उपलब्ध गराउछौं ।’ उनले वृहत रुपमा सार्वजनिक सुनुवाई नगरेको तर प्रभावित क्षेत्रबाट सुझाव संकलन गरेको बताए ।

    पिके जलविद्युत आयोजनाको संचालक मध्येका भूपेन्द्र बस्नेतले मूख्य प्रभावित क्षेत्रलाई छुटाएर बेवास्ता गर्ने काम नभएको र त्यो प्राविधिक त्रुटीमात्र रहेको बताए । उनका अनुसार प्रभावित क्षेत्रको रुपमा रामेछापको उमाकुण्ड गापाको ३, ४, ५ र खिजिदेम्बा गापाको ३, ४ र ७ नं. वडा रहेका छन् । तर कम्पनीले आईइइ बनाउन जिम्मा दिएको कन्सल्टेन्सीले प्रिन्ट मिस्टेक गरेको बस्नेतले बताए ।

    ‘सबै कुरा त कम्पनीको बोर्डलाई थाहा होला तर मैले थाहा पाए सम्म हामीले प्रभावित क्षेत्रको रुपमा खिजिदेम्बा ४ लाई छुटाएका हैनौ । सार्वजनिक सुनुवाई पनि भएको छैन ।’ बस्नेतले भने, ‘अब वर्षा सकिने बित्तिकै सार्वजनिक सुनुवाई गरि आवश्यक प्रतिवेदन वडा, पालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा बुझाएपछि मात्र काम थाल्ने तयारी छ ।’ हाल इन्टेक देखि पावरहाउस सम्म जाने बाटो रामेछाप तर्फ केही ट्रयाक्क खन्ने काम मात्र भएको बस्नेतले बताए ।

    कम्पनीका अध्यक्ष राजेन्द्र तिवारीले भने सबै कुरा आफूलाई थाहा नभएकोले संचालक समितिका सदस्यहरुस“ग बुझेर लिखित रुपमा जानकारी दिने बताए । पिके जलविद्युत आयोजना सम्पन्न गर्न पाँच अर्ब १९ करोड लगानी लाग्ने छ । जसमध्ये सामाजिक उत्तरदायित्वका लागि १.२ प्रतिशत छुट्याइएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस